Comments Add Comment

११६ वर्ष पुरानो अनौठो घडी, जसले वर्षमा केवल एक दिन सही समय बताउँछ

काठमाडौं । हामीले सही समय थाहा पाउनका लागि घडी प्रयोग गर्छौं। यद्यपि अहिले डिजिटल ग्याजेटको समयमा हातमा घडी लगाउनेहरुको संख्या घटिरहेको छ । तथापि संसारमा समयको प्रवाह चलुन्जेलसम्म घडीको अस्तित्व सदैव रहिरहन्छ ।

प्रविधिको विकाससँगै अत्याधुनिक घडीहरुसमेत बनेका छन् जो हजारौँ वर्षसम्म एक सेकेण्ड पनि छिटो वा ढिलो हुँदैनन् । तर यो दुनियामा एउटा यस्तो घडी पनि छ, जसले एक वर्षमा केवल एक पटक मात्र सही समय दिन्छ ।

स्कटल्याण्डको राजधानी एडिनबरामा त्यो विचित्र घडी रहेको छ । एडिनबरास्थित बालमोरल होटलको घण्टाघरमा रहेको सो घडी सधैं ३ मिनेट छिटो चल्दछ ।

५८ मिटर उचाइको घण्टाघरमा रहेको उक्त घडी निकै चर्चित छ । ग्रिनविच मिनटाइमभन्दा ३ मिनेट चलाख छ । यो चर्चित घडीलाई खास समयभन्दा ३ मिनेट छिटो बनाउनुको पनि खास कारण छ ।

सन् १९०२ मा बालमोरल होटल खुलेको थियो एडिनबरामा । त्यस समय सो होटलको नाम नर्थ ब्रिटिस स्टेसन होटल थियो । वेवर्ले रेल स्टेसनको नजिक रहेको उक्त होटलमा नर्थ ब्रिटिस रेलवे कम्पनीले नै उक्त घडी स्थापित गरेको थियो ता कि रेलयात्रीहरुलाई सार्वजनिक तबरमै समयको जानकारी होस् र रेल नछुटोस् ।

होटल तथा रेलवे कम्पनीका प्रबन्धकहरुले यदि यात्रुहरुसँग ३ मिनेट समय बाँकी रह्यो भने उनीहरुले सजिलैसँग टिकट खरीद गर्न सक्दछन् र गाडीबाट आफ्ना सामान उतारेर रेलमा राख्न सक्दछन् भनेर उक्त घडीको समय यथार्थभन्दा ३ मिनेट छिटो बनाइदिए ।

त्यसपछि उक्त घडीको समय सदैव ३ मिनेट चलाख हुँदै आएको छ ।

होटलमा आउने आगन्तुकहरुलाई घडीका बारेमा बताउने गाइड इयान डेभिडसनका अनुसार यो अनौठो घडी भएको ठाउँ एडिनबरा सहरको सबैभन्दा चर्चित तथा मानिसहरुका लागि उत्सुकताले भरिएको ठाउँ हो । उक्त घडी भएको ठाउँबाट हेर्दा सहर तथा सहरका सडक र गल्लीहरु कस्ता देखिएलान् भन्ने कौतुहलता धेरैमा हुन्छ ।

उनका अनुसार १ सय १६ वर्ष उमेरको उक्त घडीमा अहिलेसम्म केवल एकमात्र परिवर्तन भएको छ । पहिले दम दिएर चलाइने यो घडी अहिले बिजुलीबाट चल्दछ ।

यो घडी वर्षका अरु दिन ३ मिनेट छिटो चलेपनि जनवरी १ का दिन भने ठ्याक्कै सही समय देखाउँदछ ।

जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा त्यहाँ एक इन्जिनियरलाई खटाइन्छ जसले घडीको समय ३ मिनेट ढिलो गरेर मिलाउँदछन् ता कि नयाँ वर्षको परेड सही समयमा निस्कियोस् । अर्को दिन पुनः त्यो घडीलाई ३ मिनेट छिटो बनाइन्छ ।

१ सय १६ वर्षको अवधिमा उक्त घडीमा केवल एउटा मात्र परिवर्तन आएको भएपनि त्यसको आसपासमा भने निकै धेरै परिवर्तन भएको छ । दोश्रो विश्वयुद्धको समाप्तिसँगै सन् १९४८ मा बेलायतले रेल्वेको राष्ट्रियकरण गर्यो । वाफबाट चल्ने इन्जिनको युग सकियो । नर्दन ब्रिटिस स्टेसन होटलमाथिको रेल्वेको स्वामित्व पनि समाप्त भयो । सन् १९९० मा सो होटलको नयाँ नाम राखियो ‘द बालमोरल होटल’ । उक्त होटलका नयाँ मालिकले लाखौँ पाउण्ड खर्चिएर होटलको रेनोभेसन गरे । तर घडीलाई भने चलाएनन् । अर्थात् घडीको समय सुधारेनन् र ३ मिनेट छिटो चल्न दिइराखे ।

स्मिथ अफ डर्बी नामक घडी बनाउने परिवारले यस घडीको हेरविचार गर्दछ । सो परिवारको पाँचौँ पुस्तासँग नै बालमोरल होटलको उक्त चर्चित घडीको रेखदेख गर्ने जिम्मा आजपर्यन्त रहेको छ । उक्त परिवारसँग लण्डनको सेन्ट पल गिर्जाघरको चर्चित घडी तथा ओमानको मस्कटस्थित मजलिस ओमानमा रहेको घडी समेतको रेखदेख गर्ने जिम्मेवारी रहेको छ । साथै सो परिवारले चीनको ग्वान्झाउस्थित १२.८ मिटर चौडा पेन्डुलम घडीको रेखदेख पनि गर्दै आएको छ ।

स्मिथ अफ डर्बी कम्पनीका टोनी चाल्र्सवर्थका अनुसार उनीहरु विश्वका ५ हजारभन्दा धेरै घडीहरुको रेखदेख गर्ने गर्दछन् । त्यसमध्ये बालमोरल होटलको उक्त घडीको हेरचाह उनीहरुका लागि सबैभन्दा विशेष छ भन्दा फरक नपर्ला ।

दुनियाका अरु सबै घडी रेखदेख गर्नुको अर्थ ती घडीले सदैव सही समय देखाउन् भनेर हो । तर बालमोरल होटलको उक्त घडीबाट ३ सय ६४ दिन गलत समय र केवल १ दिनमात्र सही समय देखाउने जिम्मा उनीहरुको हो । घडीको समय बिगार्ने पेसा सायद दुनियामै अन्त कतै छैन होला ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment