Comments Add Comment

हिरासतमा युवकको मृत्यु भएपछि गरुडामा प्रर्दशन

११ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको हिरासतमै मृत्यु भएपछि रौतहटको गरुडामा प्रर्दशन भएको छ ।

साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय रामको उपचारको क्रममा गए राति वीरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

मृतक रामको शरीरमा घाउ चोट र निलडामसहितको तस्वीर सार्वजनिक भएपछि स्थानीयवासीले प्रहरीविरुद्ध नारावाजी गर्दै इलाका प्रहरी कार्यालय गरुडा अगाडि प्रर्दशन गरेका हुन् ।

प्रहरीले भने किड्नी बिगि्रएको कारण रामको मृत्यु भएको दाबी गरेको छ । ‘हिरासतमा रहेका १९ वर्षीय विजय रामको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खडकाले भने, ‘किडनीमा समस्या रहेकोले उनलाई थप उपचारको लागि वीरगन्ज पठाएका थियौं । गए राति उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले यातना दिएको आरोप

निरजंन राम हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले निर्दोषलाई पक्राउ गरेर यातना दिदै अपराध स्वीकार्न लगाएको स्थानीयको आरोप छ ।

गरुडाकै सच नर्सरी उद्योगका साहुलाई जोगाउन प्रहरीले ठूलो आर्थिक रकमको चलखेल गरेको स्थानीयको दाबी छ ।

‘इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले चरम यातना दिएर मेरो छोरा मारेको छ,’ मृतक विजयका बुवा पनिलाल रामले भने, ‘लाखौं रुपैयाँ बुझेका प्रहरी अधिकारीहरुले अरुलाई जोगाउन मेरो छोरालाई निर्ममतापूर्वक कुटेको दाग शरीर भरी रहेको छ ।’

घटनाको अनुसन्धान गरिरहेको रौतहट प्रहरी उपर गम्भीर आरोप लागेको छ । आˆनो छोरालाई घरबाट जुन अवस्थामा पक्राउ गरेर प्रहरीले लगेको थियो सोही अवस्थामा छोरा फिर्ता चाहिने पनिलाल रामको माग छ ।

घटनाका दोषी प्रहरी अधिकृतहरुलाई तत्काल निलम्बन गरेर कारवाही अगाडि बढाउन नेकपा प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले माग गरेका छन् । ‘हिरासतको बेला निरन्तर चरम यातना दिएर एक दलित युवकलाई मृत्युवरण गराउनु गम्भीर अपराध हो,’ सांसद साहले भने, ‘यो दण्डनीय अपराधमा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न गृह प्रशासनसँग माँग गर्दछु ।’

यसै गरी हिरासतमा रहेका रामको मृत्युपछि विभिन्न संघसंस्था तथा राजनीतिक दलहरु छुट्टाछुट्टै विज्ञप्ति निकालेर संलग्न प्रहरीलाई कारबाहीको माग गरेका छन् । ‘सच नर्सरीका सञ्चालकहरु लखन साह र राजाराम साहलाई जोगाउन प्रहरीले विजय रामलाई निर्घात कुटपिट गरेका हो,’ जनता समाजवादी पार्टीका जिल्ला इन्चार्ज बृजकिशोर यादवले भने, ‘दोषी प्रहरीहरुलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनु पर्छ ।’

प्रहरीले किड्नी बिग्रेको कारण निधन भएको भने पनि मृतक रामको पिठ्यू, तिघ्रालगायतको स्थानहरुमा घाउचोटको दाग रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment