Comments Add Comment

बक्सिङ संघमा एकै व्यक्तिको दुई तिरबाट कोरोना बीमा

१८ भदौ, काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा अहिले कोरोना संक्रमणको दर बढिरहेको छ । खेल क्षेत्रमा पनि यसको असर परेको छ । खेलाडीहरु प्रशिक्षक पदाधिकारीमा समेत कवरोना संक्रमण देखिन थालेको छ ।

केही संघ र निजी क्षेत्रबाट खेलाडीहरुको बीमा भएको छ । राष्ट्रिय खेलकुद परिषदले पनि खेलाडीहरुको कोरोना बीमा चासो देखाएको देखिँदैन ।

यस्तोमा पछिल्लो समय अखिल नेपाल फुटबल संघ र नेपाल क्रिकेट संघले खेलाडीको कोरोना बीमा गरिदिएका छन् ।

केही दिनअघि मात्रै नेपाल बक्सिङ संघका सदस्य ओम नारायण श्रेष्ठले व्यक्तिगत पहलमै १३औं साग खेलेका १६ खेलाडी र २ प्रशिक्षक गरी १८ जनाको कोरोना बीमा गरिदिए ।

पछिल्लो समय बक्सिङ संघको विवाद सतहमा आउँदा संघमै गुट देखिन थालेको छ । बक्सिङ संघले कोरोना नगर्दा सदस्य ओमनारायणले नै खेलाडीको बीमा गरिदिए ।

बिहीवार बक्सिङ प्रशिक्षक निर्णायकहरु गरेर ९० जनाको कोरोना बीमा  भयो । यस पटक भने कोरोना बीमा गर्नेमा दुई पक्षबीच प्रतिस्पर्धा नै देखियो । नेपाल बक्सिङ संघले ३२ प्रशिक्षक र २० जना निर्णायक गरी ५२ जनाको कोरोना बीमा गर्‍यो । अर्कोतर्फ संघकै सदस्य ओम नारायण श्रेष्ठले व्यक्तिगत रुपमै ३८ जनाको कोरोना बीमा गरिदिए ।

रोचक त के छ भने बीमा गर्दा दुवै पक्षबीच सल्लाह नभएको देखियो । निर्णायक राम चन्द्र थापा मगर महिला निर्णायकहरु अनुराधा लामा प्रमिला राई सुनिता महर्जन सहित अधिकांश निर्णायकको बीमा दुवै पक्षबाट भएको छ ।

कोरोना संक्रमण बढिरहेको बेला कतै खेलाडीको बीमा हुन सकेको छैन कतैपनि एकै व्यक्तिको दुई तिरबाट बीमा भएको छ । यसबारे संघका अध्यक्ष राम अवालेलाई सोध्दा आफूलाई केही जानकारी नभएको बताउँछन् । ‘ओमनारायणजीले पहिला खेलाडीको गर्दा पनि हामीलाई थाहा थिएन । अब अहिले पनि गर्नुभएको भए थाहा छैन । हामीले सबैलाई जानकारी दिएर नै गराएका हौँ ।’

ओमनारायणले भने व्यक्ति पहलमै खेलाडी र रेफ्री जजहरुको कोरोना बीमा गरिदिएका हुन् । श्रेष्ठले यसमा समन्वयको अभाव देखिएको बताए । उनले यसअघि आफूले खेलाडीको बीमा गर्दा पनि नेतृत्वले केही नभनेको बताए । संघको पछिल्लो पटक बसेको बैठकमा आफूले खेलाडीहरुको बीमा गराउनुपर्छ भनेर अध्यक्षलाई जानकारी गरेपनि त्यसबारे पछि कुनै सल्लाह नभएको बताए ।

दुवैतिरबाट बीमा भएका एक जना निर्णायकलाई सोध्दा उनले यसबारे आफूलाई थाहा नभएको बताए । दुई तिरबाट बीमा भएको खबर सुनाउँदा उनी आफैँ अचम्ममा परे ।

बक्सिङ संघमा विवाद बढ्दै जाँदा कसले पहिला बीमा गर्ने खेल जस्तो देखिएको छ । केही समयअघि संघ आर्थिक अनियमिततमा भएको भन्दै महासचिव र कोषाध्यक्षले अध्यक्षविरुद्ध नै राखेपमा उजुरी दिएका थिए । संघमा आर्थिक अनियमितता भएको र वार्षिक साधारण सभा समेत गर्न नसकेको आरोप नेतृत्व तहलाई लाग्दै आएको छ ।

बक्सिङ जानकारहरु बीमा गराउने सवालमा पनि नेतृत्वको असक्षमता देखिएको बताउँछन् । १३औं साग खेलेका १६ खेलाडीको बीमा भएपनि अन्य राष्ट्रिय खेलाडीहरुको भने बीमा भएको छैन । बक्सिङ संघ बुझेकाहरु संघले अरु खेलाडीहरुको बीमा गर्नुपर्ने बताउँछन् । कोरोना बीमा मा पनि राजनीतिक गन्ध मिसिएको बक्सिङका एक जन पूर्व पदाधिकारीले बताए ।

‘३४ जना प्रशिक्षक र ४० जना निर्णायकको कोरोना बीमा हुँदा १६ जना खेलाडीको मात्र बीमा भएको छ । खेलाडीभन्दा रेफ्री र प्रशिक्षक बढी भएपछि कसरी बक्सिङको विकास होला ?’ उनले प्रश्न गरे ।

संघले गर्‍यो ५२ जनाको बीमा

बिहीबार नेपाल बक्सिङ संघले वानदेखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले बीमा गरिदिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बीमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

बीमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रशिक्षकको बीमाको पत्र बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकहरुको पत्र एसियाडका कांस्य पदक विजेता समेत रहेका संघका प्रविधिक कमिटीका संयोजक एवं थ्री स्टार कोच दीपक महर्जनलाई सम्बिन्धितलाई हस्तान्तरण गर्ने गरी हस्तान्तरण गरे ।

बीमा गरिएका प्रशिक्षकहरुमा दीपक महर्जन, ओमकुमार मास्के, डम्बरदत्त भट्ट, हरिशबहादुर चन्द, किशोर खत्री, उमेश लामा, किशोर लिम्बू, विद्याप्रसाद मर्सानी, दीपक राई, गोपाल श्रेष्ठ, प्रचण्ड शर्मा, लालबहादुर पौडेल, रेमशदास श्रेष्ठ, निमा तामाङ, राज श्रेष्ठ, अतुल घानी, अनुपकुमार लामा, विष्णुबहादुर सिंह, टंकबहादुर बुढा मगर, हरिचन्द्र खड्का, साजन लघु, डम्बरबहादुर लिम्बू, निशा लोहला, कृष्णुन्दर प्रजापति, सुमन शर्मा बन्जारा, तेजबहादुर थापा मगर, किरण थापा, विनोद शेरचन, दिलिपसिंह ठकुरी, राजु थापा, सागरशमशेर थापा र मानबहादुर गुरुङ रहेका छन् ।

निर्णायकहरुमा रामचन्द्र थापा मगर, सन्तोष कार्की, सचिन राउत, तारेराम श्रेष्ठ, रेमश श्रेष्ठ, राजुकुमार महर्जन, धनकुमार मैनाली, अनुराधा लामा, प्रमिला राई, इन्द्रबहादुर श्रेष्ठ, देवेन्द्र महर्जन, अनिलप्रसाद दाहाल, सुनिता महर्जन, शेरबहादुर साहु, राजन प्रजापति, दिनकलाल श्रेष्ठ, जीवन कवा, दिनेश बासुकला, विजयसिंह डंगोल र राजुकृष्ण महर्जन छन् ।

३८ रेफ्री जर्जको कोरोना बीमा

यस्तै पूर्व बक्सर तथा संघका केन्द्रीय सदस्य समेत रहेका ओमनारायण श्रेष्ठले आफ्नै खर्चमा ३८ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बीमा गरिदिएका छन् । हिमालयन जनरल इन्सुरेन्समा हरेकको १ लाखको बीमा गरिएको हो ।

श्रेष्ठले आईबा अन्तर्राष्ट्रिय रेफ्री जर्ज रामचन्द्र थापामगर, तारामान श्रेष्ठ, राजन प्रजापतिलगायत ३८ जनाको कोरोना बीमा गरिदिएका छन् । जसमा १६ जना अन्तर्राष्ट्रिय रेफ्री जर्ज र २२ जना राष्ट्रिय जर्ज रहेका छन् । पूर्वबक्सर श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बीमाको पोलिसी आठौं दक्षिण एसियाली खेलकुद (साफ) का स्वर्ण विजेता रामचन्द्र थापा मगर र राष्ट्रिय रेफ्री जर्जको पोलिसी सुवर्ण सापकोटालाई हस्तान्तरण गरे ।

दुईतिरबाट बीमा हुनेहरु

रामचन्द्र थापा मगर, तारेराम श्रेष्ठ, राजन प्रजापति, सन्तोष कार्की, सचिन राउत, रेमश श्रेष्ठ, राजुकुमार महर्जन, अनुराधा लामा, प्रमिला राई, इन्द्रबहादुर श्रेष्ठ, देवेन्द्र महर्जन, अनिलप्रसाद दाहाल, सुनिता महर्जन, शेरबहादुर साह, दिनकलाल श्रेष्ठ, जीवन कवा, दिनेश बासुकला र राजुकृष्ण महर्जन छन् ।

दुईतिरबाट कोरोना बीमा गर्दा के हुन्छ?

कोरोना बीमा १ लाखको हुन्छ र एक वर्षको लागि लागु हुनेछ । अहिले कवरोना संक्रमणको अवस्था रहेकोले धेरैले कवरोना बीमा गराएका छन् । दुई संस्थामा काम गर्ने व्यक्तिहरुले समेत एक स्थानबाट मात्रै कोरोना बीमा गराएका छन् ।

२० वटा बीमा कम्पनीले मिलेर अहिले कोरोना बीमा गराइरहेका छन् । तर दुईतिरबाट बीमा गराउँदा के हुन्छ? वास्तवमा कोरोना बीमा एक ठाउँबाट गरे हुन्छ । दुई ठाउँबाट बीमा गराएपनि कोरोना लागिहाल्यो भने २ लाख पैसा पाउने होइन । दुई कम्पनीबाट बीमा गराएपनि एउटा कम्पनीबाट मात्रै पैसा पाइन्छ ।

यदि बीमा गराएको व्यक्तिले आफूलाई कोरोना लागिहालेमा दुवै कम्पनीमा दावी गर्‍यो भने दुई कम्पनीले आधा-आधा रकम मात्र दिनेछ । यसरी हेर्दा दुवै कम्पनीमा जाँदा ५०-५० हजार मात्र पाइनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment