Comments Add Comment

सिँढी निर्माण भएपछि चिटिक्क बन्यो रेसुङ्गाको पैदल मार्ग

२३ भदौ, गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल रेसुङ्गाको पैदलमार्गमा सिँढी निर्माण गरिएको छ । यसले रेसुङ्गा क्षेत्रको सुन्दरता बढाएको छ । पैदलमार्ग चिटिक्क भएको छ ।

जिल्ला सदरमुकाम तम्घासको शिरमा पर्ने रेसुङ्गा क्षेत्रमा धार्मिक महत्वसँगै पर्यटकयस्थल बनाउने उद्देश्यले पोखरीदेखि यज्ञशालासम्मको ७०० मिटर क्षेत्रसम्मको पैदल मार्गमा सिँढी निर्माण गरिएको छ ।

सदरमुकाम तम्घासबाट करिब ३० मिनेट गाडीको यात्रापछि रेसुङ्गा क्षेत्रको पोखरीसम्म पुगिन्छ । पोखरीबाट रेसुङ्गा क्षेत्रको यज्ञशाला, भ्युटावरलगायत विभिन्न मन्दिरहरुमा पुग्न पैदल यात्रा गर्नु पर्दछ । त्यस स्थानमा पुग्न झण्डै २० मिनेट पैदल हिँड्न पर्दछ । मन्दिर अवलोकनमा पुग्ने श्रद्धालु भक्तजनहरुको सहजताका लागि पैदल मार्ग निर्माण गरिएको हो ।

रेसुङ्गा क्षेत्रमा गतवर्ष गुल्मी उद्योग वाणिज्य संघले १७ लाखको लागत पदैल मार्गमा सिँढी बनाउन सुरु गरेको थियो । तर उक्त रकमले काम सुरु भए पनि पूरा गर्न सम्भव थिएन । पछि प्रदेश नम्बर ५ को पर्यटन मन्त्रालयबाट एक करोड ८२ लाख ५० हजार लागतमा रेसुङ्गा क्षेत्रमा सिँढी निर्माण गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बताए ।

पैदल मार्गको पोखरीदेखि यज्ञशाला ७ सय मिटरसम्म १२ फिटको चौडाइमा तीनवटा रेलिङ्ग राखेर दुई लाइन हिँडन मिल्ने गरी निर्माण गरिएको छ । बागलुङको गल्कोटबाट आकर्षक ढुंगाहरु ल्याएर पैदल मार्गमा सिँढी बनाइएको हो ।

यज्ञशालादेखि रेसुङ्गा भ्युटावरसम्मको ३०० मिटरको क्षेत्रमा भने ८ फिट चौडाइमा २ वटा रेलिङ्ग राखेर निर्माण कार्य चलिरहेको नगरप्रमुख भुसालले बताए । यसका लागि पनि प्रदेश सरकारकै ५० लाखको छुट्याएको नगरप्रमुख भुसालले बताए ।

रेसुङ्गा क्षेत्रमा पैदल मार्गमा सिँढी राखेपछि यस स्थानको सौन्दर्यता बढाएकाले यसले पनि पर्यटकहरु बढाउने भुसालको भनाइ छ ।

आकर्षकरुपमा निर्माण गरिएकाले पैदल हिँड्नेहरुका लागि सजिलो र मनमोहक बनेको छ । रेसुङ्गा क्षेत्रको पोखरीमा स्नान गरेपछि मुख्य मन्दिरलगायत विभिन्न स्थलको अवलोकनका लागि यज्ञशाला मन्दिर जाने गर्दछन् ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।

प्राचिन युगमा धेरै ऋषि महर्षिहररुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको हो । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ ।

यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेको छ । रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ ।

सिद्धभूमि,तपोभूमि महर्षीभूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहिआएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षीहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।

द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा विभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । समुद्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय तपोभूमि मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखलालगायत दृश्यावलोकन गर्न सकिने भ्युटावर रहेको छ । यस स्थलमा दैनिक पूजा हुनुका साथै साउन १ गते र साउने औंसी, एकादशीका दिन विशेष मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment