Comments Add Comment

एसिड आक्रमणमा परेकाहरुको पक्षमा प्रधानमन्त्रीको ५ घोषणा

२५ भदौ, काठमाडौं । ट्युसन सेन्टरमा बसिरहेकी संगीता मगर र सीमा बस्नेतमाथि २०७१ फागुनको एक विहानै एसिड आक्रमण भयो । जेनी खड्कालाई २०७६ जेठमा श्रीमानले एसिड खन्याए, भदौमा स्कुल हिँडेकी मुस्कान खातुनमाथि एसिड प्रहार भयो ।

६ वर्षदेखि एसिड आक्रमणमा परेकाहरुको उपचारमा जुटेका उज्ज्वल विक्रम थापाले एउटा टेलिभिजन कार्यक्रममा भने, ‘ट्रकको ठक्करबाट मृत्यु भएको व्यक्तिलाई शहीद घोषणा गर्ने सरकार कहाँ छ ?’

त्यो कार्यक्रम महान्यायाधिवक्ता अग्नि खरेलले पनि हेरिरहेका थिए, थापाको कुरा खरेलले प्रधानमन्त्रीसम्म पुर्‍याए । प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर एसिड आक्रमणमा परेकाहरुको कुरा सुन्न निर्देशन दिए ।

उनले मुस्कान खातुनलगायतलाई बोलाए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटेर आफ्नो पीडा सुनाउन चाहे । १६ भदौमा प्रधानमन्त्री ओलीले मुस्कानलाई भेटे र २५ गते १२ जना एसिडपीडितसँग पनि भेट्ने तय गरे ।

त्यहीअनुसार बिहीबार गृहमन्त्री रामबहादुर थापा बादल, कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फे, महान्यायाधीवक्ता खरेल, मुख्य सचिव र विभिन्न मन्त्रालयका सचिवलाई राखेर एसिड आक्रमणमा परेकाहरुको पीडा सुनेका छन् ।

एसिड आक्रमणमा परेकी संगीता, मस्कान, जेनी लगायतका एसिड आक्रमण गर्नेहरुलाई सजाय कम भएको, उपचारका लागि समस्या भएको तथा पढाई र उद्योग गर्न गाह्रो भएको बताए ।

प्रधानमन्त्रीको पाँच घोषणा

कार्यक्रममा प्रधानमन्त्री ओलीले एसिड आक्रमणमा परेकाहरुको पक्षमा ५ महत्वपूर्ण घोषणा गरेका छन् ।

पहिलो, एसिड आक्रमण नियन्त्रण र खुला विक्री वितरणलाई नियमन गर्न कानूनमा देखिएको समस्या सम्बोधन गर्ने गरी १५ दिनभित्र मस्यौदा बनाउन निर्देशन दिएका छन् ।

दोस्रो, सजाय कम भएको गुनासो जायज छ, यसलाई कानून बनाउँदा सम्बोधन गर्नुस् ।

महान्यायाधिवक्ता खरेलले भने, ‘पीडितहरुले हाम्रो घाउ हेरेर होइन, हाम्रो पीडालाई बुझेर सजायसम्बन्धी व्यवस्था गर्नुस् भन्नु भएको छ । प्रधानमन्त्रीले पनि यसलाई गम्भीर रुपमा लिनुभएको छ । ’

अहिले ३ देखि ८ वर्षसम्म सजय हुने व्यवस्था छ । अब यो बढ्ने बताइएको छ । एसिड खरिद बिक्रीको निमयन गर्न एउटा र एसिड आक्रमणको सजायबारे अर्को कानून बनाउने तयारी छ । अहिले संसद नभएकाले अध्यादेशमार्फत दुबै कानून आउन सक्छ ।

तेस्रो, एसिड अक्रमणका घटनालाई निरुत्साहित गर्न नयाँ कानूनबारे प्रचात्मक अभियान चलाइनेछ । प्रधानमन्त्रीले सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा बनाउने बताए ।

चौथो, एसिड आक्रमणमा परेकाहरुको उपचार निःशुल्क गरिनेछ । यसका लागि वीर, त्रिवि शिक्षण, पाटन र कीर्तिपुर अस्पताल तोकिएको छ ।

पाँचौं, एसिड आक्रमणमा परेकाहरुले चाहेको अध्ययन वा उद्यम गर्न सरकारले सहयोग गर्नेछ । प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक बन्दोबस्त गर्न शिक्षा र उद्योग सचिवलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आगामी सोमबार बस्ने मन्त्रिपरिषदबाट पनि थप केही घोषणा हुने जानकारी दिएका छन् । साथै सरकार आगामी दिनमा एसिड आक्रमणको पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न लागिपर्ने बताएको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment