Comments Add Comment

बुटवलमा कोरोनाका जटिल बिरामीले पाएनन् आईसीयू

२५ भदौ, बुटवल । बुटवलमा कोरोना संक्रमित बिरामी जटिल अवस्थामा पुग्दा पनि आईसीयू अभावमा सामान्य आइसोलेसनमा उपचार गरिएको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार राति भर्ना भएका बागलुङको बडिगाड गाउँपालिका–९ का ५२ वर्षका संक्रमित पुरुषलाई स्वास प्रश्वासमा समस्या भए पनि आईसीयू बेड नहँदा फिबर क्लिनिकको आइसोलेसनमै राखिएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले यहाँ बेड खाली छैन, अन्यत्र लैजानुस् भनेको तर बिरामीका आफन्तले कुन अस्पतालमा लैजाने भनी किटान गरिदिन भनेपछि फिबर क्लिनिकको आइसोलेसनमा अक्सिजन दिएर राखिएको हो ।

बिरामीका आफन्त इन्द्रबहादुर थापाले भने ‘अस्पतालले कहिले बुटवलको कोरोना अस्पताल, कहिले भीम अस्पतालमा लैजाने कुरा गर्‍यो, तर पछि बेड खाली छैन, चितवनतिर लैजानुस् भन्यो, सरकारी अस्पतालले त कमसेकम कुन अस्पतालमा आईसीयू खाली छ, यकिन गरेर मात्र रिफर गर्नुपर्नेमा पन्छिने काम मात्रै भयो ।’

अस्पतालले धागो कारखानाको कोरोना अस्पतालका बिरामी डिस्चार्ज भएपछि आईसीयू बेड खाली हुन सक्छ भनेकाले पर्खेर बसेको तर साँझसम्म बेड खाली भएको खबर नआएको थापाले बताए ।

बुटवल धागो कारखानाका १७ वटा र भीम अस्पताल भैरहवाका ५ वटा आईसीयू बेड बिरामीले भरिएकाले चितवन वा अन्यत्र लैजान अस्पतालले रिफर गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।

‘आईसीयू बेड खाली नभएपछि हामीले संक्रमितलाई अन्यत्र रिफर गर्नुपर्ने हुन्छ, तर संक्रमितको अनुरोध र व्यवहारिकता हेरेर फिबर क्लिनिकको आइसोलेसनमा अक्सिजन दिएर उपचार भइरहेको छ, भोलिसम्म बेड खाली भएपछि आईसीयू बेडमा सार्छौं’ अस्पतालमा मेसु खनालले भने ।

प्रदेश सरकारले कोरोना अस्पतालहरुमा आईसीयू बेड थप्ने भन्दै आए पनि अझै थपेको छैन । ‘बेड थप्ने काम सरकारको हो, ढिलाई हुँदा अस्पताल र स्वास्थ्यकर्मीले धेरै कठिनाई र अपजस बोक्नुपरिरहेको छ’ मेडिकल सुपरिटेन्डेन्ट खनालले भने ।

लुम्बिनी प्रदेशिक अस्पतालमा भर्ना हुनुअघि कोरोना संक्रमित पुरुषको बुटवलको मेडिटेक अस्पतालमा चेकजाँच गराइएको थियो । त्यहाँ एक्स–रे गरेपछि कोरोना संक्रमण भएको हुनसक्ने आशंकासहित मेडिटेकले प्रादेशिक अस्पतालमा लैजान सुझाव दिएको थियो ।

तर बिरामीका आफन्तले क्रिमसन अस्पताल पुर्‍याए । क्रिमसनले पनि भर्ना लिन नमानेपछि करिव १ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरी स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बिरामीका आफन्त थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment