Comments Add Comment

‘विदेशमा घरेलु कामदार पठाउन दबाब दिनेहरु हरेक पार्टीमा छन्’

म २०५४ सालमा श्रम मन्त्री हुँदा महिलाहरुलाई घरेलु कामदारका रुपमा पठाउन प्रतिवन्ध लगाउनुपर्छ भनेर निर्णय भयो ।

आईएलओको सम्मेलनमा जेनेभा जाँदा मैले अरबका धेरै मन्त्रीहरुलाई भेटेँ । अरुले बीच–बीचको कुरा गरे । कुवेतको श्रम मन्त्रीले ‘तपाईंँहरु महिला कामदारहरु नपठाउनुस्’ भनेर मसँग खुलेर भने ।

उनले दुईटा कुरा गरे । पहिलो– सरकारले काम लगाउने होइन । निजी कम्पनीहरुले काममा लगाउँछन् । तपाईंहरुका मानिसहरुले यति दिन्छ उति दिन्छ भने पनि तिनीहरुले कति दिन्छन् त्यो उनीहरुको कुरा हुन्छ । कतिले छल्छन, कतिले छल्दैनन् । अब ती जम्मै कुरा सरकारले नियन्त्रण गर्न पनि सक्दैन ।

दोस्रो– पाकिस्तानबाट महिलाहरु ल्याउन चाहँदैनन् । महिलाहरुले दिँदैनन् पनि । मुसलमानहरु भएको हुनाले मुस्लिम देशका मुस्लिम महिलाहरुले चाहँदैनन् । किनभने त्यहाँका ती मालिकहरु कसैले युरोपमा घर बनाएर बसेका छन् । कसैका फ्रान्समा घर छन् । उतै श्रीमती राखेर बसेका छन् र यहाँ हुने श्रीमतीहरु त्यसै पीडित छन् । ‘तँ जा’ भनेपछि जानुपर्ने । गएन भने घरबाट निकालिदिने र त्यसपछि सडकमा रुँदै हिँड्नुपर्ने । यस्तो समस्यामा पार्छन् ।

बीचमा फर्किदा ५०, ६०, ९० जना बच्चावाला महिला छन्, लोग्नेसँगै गएको थियो त ? जम्मै त्यो महिलाहरु फर्काउनुपर्ने स्थिति आयो ।

फेरि पनि हामी कहाँ बहस गर्दै छौं त ? भन्दा महिलालाई कसरी पठाउने ? लिगल तरिकाले पठाउनु पर्यो भनेर हामी सुझाव दिन्छौं समितिबाट ?

०५४ मा जब घरेलु कामदारमा महिला बन्द गरियो । पोखराबाट ५० जना महिलाहरु मन्त्रालयमा आए । को रहेछ यो महिला पठाउने ग्याङको अगुवा भन्दा एउटा भूतपूर्व पुलिसको डिएसपी पाल्पाको । मन्त्रालयमा आए, महिलाहरु हेर्छु जम्मै गुरुङ युवतीहरु छन् ।

अनि मलाई उनीहरुले भने, ‘हामी महिलाहरु किन जान नपाउने ?’

‘जान त पाउँछौ फर्किन्छौ कसरी ? त्यहाँ गएर पैसा कमाएर ल्याउछौ कि रोएर बस्छौ ?’ मैले भनें ।

मैले कुनै हालतमा हुँदैन भनेपछि नारायणघाटमा नारा पनि लागाएछन्– श्रमविरोधी श्रममन्त्रीले राजीनामा दे भनेर ।

मेरोविरुद्धमा आर्यघाटमा पोष्टर टाँसे । यो घटना ०५४ को । पछि जब पाल्तेन गुरुङ आइसकेपछि फेरि कुन–कुन मन्त्री…।

यसमा के बुझ्नुस् भने– हरेक पार्टीसँग सम्बन्धित यस्ता समूहहरु छन्, यसमा दबाब दिने । कांग्रेसमा छन् । कुन–कुन तरुण दलको नामबाट छ कि, युवा दलको नामबाट छन् कि केबाट छन् कि !

अनि उनीहरुले कसलाई समातेका छन् भन्दा सुब्बालाई ।

किन ? कर्मचारी संगठन त सुब्बाहरुको छ । कांग्रेसको सुब्बा, नेकपाको सुब्बा, अर्कोको सुब्बा । तीनटा सुब्बा मिलेपछि छुलछुली हुने सचिव ।

सचिवलाई भन्छन्– तँलाई सरुवा गरिदिन्छु, तीन महिनामा यहाँबाट के ठान्या छस् ? भनेपछि, होला त यो त पावरवाला छ, संगठन छ, कर्मचारी युनियन छ । सबैभन्दा ठूलो समस्या यहाँभित्र छ ।

एउटा उदाहरण दिउँ– एउटा सामान्य प्रशासन मन्त्रीकहाँ म गएर कुराकानी गर्दैछु । एउटा अध्यक्ष आयो कर्मचारी संगठनको । मेरो अगाडि थर्काउन थाले मन्त्रीलाई । यो भएको कुरो । मन्त्रीलाई थर्काउन थालेपछि म छक्क परेँ । एउटा कर्मचारीले मन्त्रीलाई, ठाडो, एकदम हाम्रो कुरा सुनुवाइ हुन्छ कि हुँदैन ?

उनी गएपछि मैले भनेँ ‘तपाईंले कसरी चलाउनुहुन्छ मन्त्रालय ?’ अब के गर्नुहुन्छ यस्तै छ अराजकता, गोलै उठेर घेराउ गर्न आउँछन् भन्नुभयो । सामान्य प्रशासनको कुरो ।

यस्तो अराजकता रहिरह्यो भने राज्यले काम गर्न सक्छ ? यो राज्यको फितलोपन ।

यहाँ मेचीदेखि महाकालीसम्म जमिन बाँझो छ । पहाड सबै बाँझो छ । तीन प्रकारको सरकार बनिसक्यो । नगरपालिका, गाउँपालिकाहरु ।

मुलुकलाई उत्पादनमा वृद्धि कसरी गर्ने र मुलुकको विकास भनेको के ? उत्पादनमा वृद्धि, जनताको जीवनस्तरमा समृद्धि, व्यापारमा विस्तार यो तीन कुरा होइन ?

भारतबाट एक अर्व १४ करोडको खुर्सानी हामी ल्याउँछौं । भन्सारमा रेकर्ड हेर्नुस् । एक अर्व १४ करोडको खुर्सानी यहिँ ती महिलाहरुले उत्पादन गर्न सक्छन् कि सक्दैनन् ? राज्यले त्यो व्यवस्था गर्नुपर्छ कि पर्दैन ?

त्यसैले अब बाहिर पठाउने होइन । मुलुककै उत्पादनमा स्थानीय निकायहरु जुन छन्, नगरपालिका, गाउँपालिकाहरुले खुर्सानी, अदुवा बेसार, अनेक किसिमका जडिबुटी के–के हुन्छन्, राज्यले सरकारले योजना बनाउनु पर्यो ।

सबै महिलाहरुलाई यहाँ लगाउन पर्यो । युवाहरुलाई पनि विस्तारै लगाउँदै लग्न पर्यो । आफ्नै देशमा कृषि उत्पादनमा लगाएर हामीले यो विदेश जाने पीडाबाट मुक्त हुनु पर्यो ।

कसरी पठाउने भनेर कानुन बनाउने होइन, महिलाहरुलाई जानै रोक्नुपर्छ । मेरो कुरा यत्ति हो ।

(सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ‘विदेशमा रहेका घरेलु नेपाली कामदारहरुको अवस्थाबारेको छलफल’मा पूर्व श्रममन्त्री एवं नेकपाका सांसद मुकुन्द न्यौपानेले व्यक्त गरेको विचार ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment