Comments Add Comment

तीनथरीका मान्छे : सोंच र चिन्तन अनुसार वर्गिकरण

शास्त्रहरुमा भनिएको छ, ‘मन्छे विचारद्वारा निर्माण हुन्छ ।’ अर्थात हाम्रो सोंच्ने तौरतरिका, शैली, ढंग आदि अनुसार नै शरीरको निर्माण हुन्छ । मान्छेको सोंच, चिन्तन उनीहरुको व्यवहार र व्यक्तित्वमा पनि प्रकट हुन्छ । त्यसैले त भनिएको हो, मनमा सधै उत्तम विचार लिनुपर्छ ।

सामान्यत : तीनथरीका सोचाई राख्ने प्रवृत्ति पाइन्छन् । अर्थात सोंच र चिन्तनको आधारमा मान्छेलाई तीन भागमा विभाजन गर्न सकिन्छ ।

पहिलो, नितान्त आफ्नो र परिवारका लागि मात्र सोच्ने ।

दोस्रो, अरुको बारेमा मात्र सोच्ने वा चियोचर्चा गर्ने ।

तेस्रो, समाजको लागि वा सबैको उन्नतीका लागि सोच्ने ।

आफ्ना लागि मात्र सोच्ने 

पहिलोथरी व्यक्तिले जे–जति काम गर्छन्, त्यसबाट आफ्नो मात्र लाभ खोजिरहेका हुन्छन् । उनीहरुको सोच्ने दायरा आफ्नो आफु र आफ्नो परिवारभन्दा बाहिर फैलिएको हुँदैन । समाज, मुलुकप्रति उनको चिन्तन शून्य हुन्छ । आफुलाई फलिफाप भएपछि उनको लागि पुगिसरी हुन्छ । त्यसैले यस किसिमको सोंच राख्ने व्यक्तिहरु आफ्ना र परिवारका स्वार्थसँग जोडिएको काममा मात्र रुची राख्छन् ।

उनीहरु अरुको उन्नती वा दुर्गतीसँग खास सरोकार राख्दैनन् । अरुको उन्नतीमा रमाउने र अरुको दुर्गतीमा पीडावोध गर्दैनन् । किनभने उनीहरु हरक्षण आफु र आफ्नो परिवारलाई केन्द्रमा राखेर केही गरिरहेका हुन्छन् । यस्ता व्यक्तिहरुको सामाजिक जीवन त्यती सक्रिय र प्रभावकारी हुँदैन ।

अरुको चियोचर्चा गर्ने

दोस्रोथरीका मान्छे, जो आफ्नो उन्नती र खुसी भन्दा पनि अरुप्रति चासो राख्ने हुन्छन् । अरुले के गरे, के गर्दैछन्, अरुको प्रगति के छ, अरुको दुर्गती के छ । यस किसिमको सोचाई राख्ने मान्छेहरु अरुकै कारणले खुसी वा दुःखी हुन्छन् । उनीहरुको आफ्नो व्यक्तिगत जीवन त्यती सफल पनि भएको हुँदैन । किनभने उनीहरुले आफनो खातिर लगाउनुपर्ने समय, सोंच, चिन्तन अरुको चियाचर्चामै खर्च गरिरहेका हुन्छन् ।

उनीहरुलाई आफ्नो र परिवारको बारेमा त्यती जानकारी हुँदैन, जति छिमेकी वा इष्टमित्रका बारेमा हुन्छ । उनीहरु धेरैजसो समय अरुको कुरा गर्न, चियोचर्चा गर्न र अरुकै बारेमा सोच्नमा खर्चिरहेका हुन्छन् । पौराणिक शास्त्रहरुले यस्ता व्यक्तिलाई निम्न श्रेणीमा राखेको छ ।

समाज र सबैको उन्नतीबारे सोच्ने

आफु र परिवारको स्वार्थलाई छाडेर उनीहरु समाजको वारेमा चिन्तन गरिरहेका हुन्छन् । उनीहरुले जीवन र जगतलाई राम्ररी बुझेका हुन्छन् । त्यही अनुसार उनीहरुको सोच पनि उन्नत र श्रेष्ठ हुन्छ ।

उनीहरु जे सोचिरहेका हुन्छन्, जुन कुरामा चिन्तन गरिरहेका हुन्छन्, त्यो समाज, मुलुक, मानव समुदाय वा चराचर जगतकै हितको पक्षमा हुन्छ । उनीहरु आफुलाई केन्द्रमा राखेर, आफ्नो स्वार्थलाई सर्वोपरी मानेर कुनै चिन्तन गर्दैनन् । न अरुको चियोचर्चा नै गर्छन् । बरु, समग्र समाजकै उन्नती, उत्थानका लागि आफ्नो ध्यान केन्द्रित गरिरहेका हुन्छन् । हाम्रा शास्त्रहरुले यस्ता सोंच–चिन्तन राख्ने व्यक्तिलाई सर्वश्रेष्ठ भनी व्याख्या गरेको छ ।

उनीहरुको सोंच–चिन्तनको स्तर उच्च हुन्छ । व्यक्तिगत स्वार्थ र लोभबाट मुक्त उनीहरु सामाजिक प्रणाली, व्यवहार र सम्बन्धलाई उन्नत बनाउनेबारे चिन्तन गरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment