Comments Add Comment

खुकुलो बनाएर वीरगञ्जमा १५ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

सवारी साधन र पसल व्यवसाय भने सञ्चालन हुने

१ असोज, वीरगञ्ज । वीरगञ्जमा थप खुकुलो बनाएर असोज १५ गतेसम्मका लागि निषेधाज्ञा  लम्ब्याइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले कोभिड-१९को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि असोज १५ गते मध्यरातसम्म महानगरपालिका क्षेत्रमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

जिल्लामा संक्रमण घटेर सुखद संकेत देखिए पनि बजारमा भिडभाड कायमै छ । मास्क, भौतिक दुरीलगायतका सावधानीको पालना भइरहेको छैन ।

वैशाखमा देखिएको पहिलो लहरको कोभिड नियन्त्रणमा आएपछि बजार खुलेसँगै वीरगञ्जमा दोस्रो संक्रमणको लहरको देखिएको थियो ।

संक्रमणको दर बढेपछि सरोकारवालासँग छलफल गरेर स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि साउन १० गतेबाट वीरगञ्जमा निषेधाज्ञा लगाइएको थियो ।

भदौं १९ गतेबाट निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले वीरगञ्जमा एकतर्फी पसल खोल्न अनुमति दिएको थियो भने भदौ २६ गतेदेखि शनिबार बाहेक सबै दिन वीरगञ्जमा विहान ११ बजेदेखि ४ बजेसम्म पसल खोल्न अनुमति दिइयो ।

प्रमुख जिल्ला अधिकारी असामान तामाङको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले सार्वजनिक सेवा प्रवाहका लागि समेत अनुमति दिएको छ । कार्यालयहरुलाई अतिआवश्यकीय र जरुरी सेवा प्रवाह गर्दै अन्य सेवालाई प्राथमिकताको आधारमा निरन्तरता दिन भनिएको छ ।

प्रवेश विन्दुमा अनिवार्य तापक्रम मापन गर्ने, साबुन पानी वा सेनिटाईजरको व्यवस्था गर्नुपर्ने, लगबुक अनिवार्य राख्नुपर्ने लगायतका शर्त कार्यालय सञ्चालनका लागि राखिएको छ ।

सवारीसाधन सञ्चाल गर्न अनुमति

छोटो, मध्यम तथा लामो दुरीमा जिल्लाभित्र तथा अन्तर जिल्लामा सञ्चालन हुने निजी तथा सावजनिक सवारीका साधन असोज १ गतेदेखि सञ्चालन अनुमति दिइएको छ । आज विश्वकर्मा पूजाको दिन भएकोले भोलिबाट मात्रै सवारी साधन सञ्चालनमा आउने अनुमान गरिएको छ ।

सिट क्षमताको ५० प्रतिशत मात्रे यात्रु चढाउन पाइने, भौतिक दुरी कायम हुनेगरि एक पंक्तिको सिटमा एक जना मात्रै यात्रु राख्नुपर्ने, सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने र थप ५० प्रतिशत भाडा लिन पाउने जिल्ला सुरक्षा समितिको निर्णयमा उल्लेख छ ।

वीरगञ्ज महानगरपालिका स्थित मिनाबजार, घण्टाघरदेखि नारायणी अस्पतालसम्म मेनरोडमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नो भेहिकल मुभमेन्ट जोन घोषणा गरि लागु गर्ने, फुटपाथमा कुनैपनि प्रकृतिका पसलहरु सञ्चालनमा रोक लगाउने, स्थानीय स्तरमा सञ्चालित सबै प्रकारका सवारी साधनहरुमो जोर गते जोर र बिजोर गते बिजोर नम्बर भएका सवारी साधन सञ्चालन गर्ने निर्णय भएको छ ।

निषेधाज्ञालाई व्यवस्थित गर्न संक्रमणमा आधारित सिलबन्दी प्रक्रियालाई निरन्तरता गर्ने, पसल व्यवसाय सञ्चालन गर्दा भिडभाड नहुनेगरि सञ्चालन गर्नुपर्ने लगायतका निर्णय पनि सुरक्षा समितिको बैठकले गरेको छ ।

जनजीवन सहज बनाउन विभिन्न निर्णय

बुधबार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो । बैठकले जनजीवन सहज बनाउनका लागि विभिन्न निर्णयहरु गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तावले जानकारी दिए ।

‘सार्वजनिक सेवाका लागि चरणवद्धरुपमा अघि बढ्ने निर्णय भएको छ,’ उनले भने, ‘जनजीवन थप सहज बनाइएको हो । सर्वसाधरणले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन लापरबाही गर्नुहुन्न ।’

जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार साँझ संकट व्यवस्थापन केन्द्रको निर्णयहरु सार्वजनिक गरेको छ ।

कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि राजनीतिक दल, कोभिड एक्सन टिम, कोभिड क्लब, नागरिक समाज, सञ्चारकर्मी, समुदाय प्रहरी साझेदारीमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, संक्रमण विस्तारलाई रोक्न ‘नो मास्क, नो मुभ’ अभियान सञ्चलन गर्ने, सार्वजनिक स्थलहरुमा मास्क नलगाई आवतजावत् गर्ने व्यक्तिहरुलाई तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।

त्यस्तै शनिबार तथा सार्वजनिक विदाका दिन ‘नो मुभमेन्ट डे’को रुपमा घोषणा गरि लागू गर्ने, अनावश्यक आवतजावतलाई नयन्त्रण गर्न घण्टाघर, प्रतिमा चोक, पावरहाउस, बिर्ता, आदर्शनगरलाई रेस्ट्रिक्टिभ भुममेन्ट एरिया तोक्ने, निजी तथा सरकारी विद्यालयहरुमा सञ्चालित क्वारेन्टिन तथा आइसोलेसनहरुलाई अन्यत्र व्यवस्थापन गर्दै विद्यालय सञ्चालनका लागि केन्द्रीय कोभिड- १९ संकट व्यवस्थाप केन्द्रलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा सार्वजनिक सेवा प्रवाह गर्दा कार्यालयले अपनाउनुपर्ने सावधानी, सवारी साधनको उचित व्यवस्थापन कसरी गर्ने, भिडभाड व्यवस्थित गर्ने सम्बन्धमा जानकारीहरु समेत दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक कार्यालय, निजी बैंक, विकास निर्माणस्थलको समेत अनुगमन गर्ने र मापदण्ड विपरीत काम गरेको पाइएमा संक्रमण ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी पनि सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment