Comments Add Comment

जनकपुर-जयनगर रूटमा चल्ने रेल शुक्रबार नेपाल आइपुग्ने

१ असोज, काठमाडौं । कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल भोलि (शुक्रबार) नेपाल आइपुग्ने भएको छ । यो रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनेर आउने क्रममा लकडाउनका कारण कारण भारतको हाजीपुरमा रोकिएको थियो ।

रेल विभागका माहानिर्देशक बलराम मिश्रका अनुसार बिहीबार राति जयनगर आइपुग्ने रेल भोलि मध्यान्हसम्म नेपाल भित्रिनेछ । जनकपुर स्टेसनमा रोकिने रेल भारतीय रेल निर्माता कम्पनीले नेपाललाई हस्तान्तरण गर्नेछ ।

रेल विभागले २०१९को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् ।

यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।
विभागका महानिर्देशक मिश्र रेल ल्याएर नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरिने बताउँछन् । यो कम्पनीमा हाल गुरु भट्टराई महाप्रवन्धक छन् ।

मिश्रका अनुसार सबै तयारी समयकै पुरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिने बताउँछन् । रेल कहिलेबाट चलाउने विषय अब कम्पनीको भएको उनको भनाइ छ ।
सरकारले २०७५को पुसबाट नै बन्द रहेको जनकपुर-जयनगर रेल चलाउने घोषणा गरेको थियो ।कुर्था-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो ।

सन् २०१४ बाट लिक मर्मतको काम सुरुवात भएको थियो । यसैकारण नेपालको एक मात्रै रेललाइनका रुपमा रहेको जनकपुर-जयनगर रेल सेवा विगत ६ वर्षदेखि बन्द अवस्थामा छ ।

३५ किलोमिटरको रेलमार्गमा ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । यसमा स्टेसनहरु तयार नै छन् ।

भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहहरु पनि बनाइदिएको विभागले बताएको छ ।

सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । यसअघि निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर रेल चलाउने सरकारको तयारी हो । यसका लागि करिब २ सय कर्मचारी भर्ति गरिँदैछ । यसका लागि विभागले केही दिन अघि करारमा कर्मचारी भर्ना गर्न सूचना पनि निकालेको थियो ।

यसअघि पनि जनकपुर-जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय थिएन ।नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद बैठकले स्वीकृति दिइसकेको छ । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउने योजना छ । अप्राविधिक कर्मचारी नेपालमै भर्ती गरिँदैछ ।

कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ ।
केही समय भारतबाट आउने जनशक्तिले नेपालीलाई प्रशिक्षित गर्ने योजना रहेको विभागले जानकारी दिएको छ ।

पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने योजना सरकारको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व-पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment