Comments Add Comment

उत्तर कोरियाले आफ्न एक अधिकारीको हत्या गरेको दक्षिण कोरियाको आरोप

८ असोज, काठमाडौं । उत्तर कोरियाले आफ्ना एक अधिकारीको हत्या गरेको दक्षिण कोरियाले आरोप लगाएको छ । बिहीबार दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरद्वारा आफ्ना एक अधिकारी मारिएको बताएको हो । मन्त्रालयले उत्तर कोरियाको यो कदमको निन्दा गर्दै यसलाई ‘क्रूर कदम’ भएको बताएको छ ।

दक्षिण कोरियाका अनुसार मुलुकको माछा पालन विभागमा काम गर्ने एक अधिकारी उत्तर कोरियासँगको सीमाक्षेत्रबाट हराएका थिए । तर पछि उनको शव उत्तर कोरियाको समुद्रमा फेला परेको थियो । मन्त्रालयका अनुसार उत्तर कोरियाका सेनाले उनलाई गोली हानी हत्या गरेका थिए र उनको शरीरमा तेल खन्याई आगो लगाइदिएका थिए । उत्तर कोरियाले आफ्नो मुलुकमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि यस्तो कदम चालेको हुन सक्ने विश्वास लिइएको छ । यस विषयमा उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

अहिले कोरोनाको महामारीको कारण दुई कोरियाबीचको सीमाक्षेत्रमा कडाइ गरिएको छ । त्यसैको कारण सीमाक्षेत्रको नजिक जाने मानिसलाई गोली हानिएको हुन सक्ने बताइएको छ । उत्तर कोरियाले दक्षिण कोरियाली नागरिकलाई गोली हानी मारेको यो दोस्रो घटना हो । सन् २००८ मा उत्तर कोरियाका सैनिकले एक पर्यटकलाई गोली हानी मारेका थिए ।

दक्षिण कोरियाले यो घटनाको भर्त्सना गर्दै यो सह्य नहुने बताएका छन् । साथै उत्तर कोरियासँग यो घटनाको विस्तृत जानकारी र यसमा संलग्नलाई कारबाहीको माग गरिएको छ । उत्तर कोरियाको यस किसिमको सैन्य कारबाही अन्तर्राष्ट्रिय नियमनविरुद्ध रहेको दक्षिण कोरियाको ठहर छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment