Comments Add Comment

सेवानिवृत्त हाकिमको घरमा डीडीसीको बिग्रेको घिउ !

१३ असोज, काठमाडौं । तीन साताअघि काठमाडौंको बुद्धनगरस्थित एक डेरीमा कृषि मन्त्रालयका पूर्वसहसचिव तुलसी गौतमले एक लिटर तयारी घिउ किने । उनले सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले बजार पठाएको पाँच–पाँच सय एमएलको दुई प्याकेट घिउ किनेका थिए ।

एउटा प्याकेटको उत्पादन मिति २०७७ वैशाख २३ र अर्कोको ३१ गते थियो । घरमा प्याकेट खोलेर भाँडामा खन्याउँदा उत्पादन मिति ३१ गते लेखिएको घिउमा करिब दुई सय ग्राम सेतो ठोस पदार्थ देखियो । छाम्दा चाम्रो त्यो पदार्थ घाममा राख्दा पनि नपग्लिएको गौतमले बताए ।

‘सामान्य तापक्रममा पग्लिने घिउको विशेषता यसमा छैन’, गौतमले भने, ‘डीडीसीको उत्पादन प्रयोग गर्न प्रोत्साहन गर्ने म आफैंले नपग्लिने घिउ पाएँ ।’

नपग्लिएको घिउको ठोस पदार्थ आफूले सुरक्षित राखेको बताउँदै उनले नियामक निकायलाई परीक्षण गर्न आग्रहसमेत गरेका छन् ।

घिउमा नपग्लिने ठोस पदार्थ हुन्छ ? 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७५ सालमा दूध तथा दूग्ध पदार्थको न्युनतम् गुणस्तर निर्धारण गरेको छ । खाद्य तथा दाना वस्तुहरुमा निर्धारित न्यूनतम् अनिवार्य गुणस्तर अन्तर्गत घिउको मापदण्ड तयार गरेको छ ।

जसअनुसार ‘घिउ’ भन्नाले कुनै रंग नहालेको र दूधबाट सीधै वा दूधको दही वा क्रिम वा मख्खनबाट तयार गरिएको चिल्लो पदार्थमा भएको सम्पूर्ण जलांश उड्ने गरी खारी स्वच्छ तुल्याइएको दूधको चिल्लो पदार्थलाई सम्झनु पर्छ ।

बिभागको मापदण्ड अनुसार, शुद्ध घिउमा रिफ्र्याक्टिभ इण्डेक्स ४० डिग्री सेन्टिग्रेडमा १.४५३८ देखि १.४५५९, रिचर्ट मिस्सल भ्यालु २८.० मा नघटेको, एसिड भ्यालु ६ मिलिग्राम पोटासियम हाइड्रोक्साइड प्रतिग्राम घिउमा नबढेको र पेरोक्साइड भ्यालु १० मिलि इक्विभ्यालेन्ट पेरोक्साइड अक्सिजन प्रतिकिलोग्राम घिउमा नबढेको हुनुपर्छ । त्यस्तै जलांश ०.५ प्रतिशतभन्दा बढी हुन नहुने गुणस्तर मापदण्डमा उल्लेख छ ।

‘वैज्ञानिक विधिअनुसार तयार भएको घिउ चिसोमा स्वतः जम्ने र तापमा पग्लने विशेषताको हुन्छ, यसमा कुनै ठोस पदार्थ हुँदैन,’ विभागका प्रवक्तासमेत रहेका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन भन्छन् । सरकारी स्वमित्वको कम्पनीको उत्पादनमै कैफियत भेटिएकाले गुणस्तर परीक्षण गर्ने उनले बताए ।

घिउमा भेटिएको वस्तु अखाद्य होइन : डीडीसी

नपग्लिने सेतो पदार्थ भेटिएको घिउ डीडीसीको बालाजु प्लान्टमा उत्पादन भएको हो । उपभोक्ताले गुनासो गरेको घिउ विशुद्ध दूधको क्रिमबाट गुणस्तरीय प्रविधिमार्फत तयार गरिएको र त्यसमा भेटिएको ठोस पदार्थ अखाद्य नभएको बालाजु प्लान्टका प्रोजेक्ट म्यानेजर गोविन्द जोशीले दाबी गरे ।

‘डीडीसीको घिउको शुद्धतामा शंका गर्नु पर्दैन’, उनले भने, ‘बजारमा पठाउने क्रममा गलत भण्डारण हुँदा फ्याट्टी एसिड क्रिस्टलाइज भएको हुनसक्छ ।’ घिउमा हुने फ्याट्टी एसिड चिसोले जम्नुलाई क्रिस्टलाइज भनिने र अखाद्य वस्तुको मिसावट नहुँदा पनि त्यस्तो हुन सक्ने जोशीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment