Comments Add Comment

सार्वजनिक गाडीको भर छ, कोरोनासँग कसलाई डर छ !

१९ असोज, काठमाडौं । ‘म त पाएँसम्म यात्रु राख्ने मन छ तर ट्राफिकले चिट काटिहाल्छ । ठूला नेताहरूलाई केही समस्या छैन । उनीहरू बस्छन् खान्छन् । उद्योग व्यापारहरू पनि सबै खुलेका छन् । पैसा राम्रो कमाउन थालिसके अनि हामीलाई चाहिँ केको कडाई हो ? मलाई त यो कोरोना-सोरोना केही पनि होइन जस्तो लाग्छ । अरु कति कति खालका रोग छन्, मर्ने मान्छेहरू जसरी पनि मरिहाल्छन् । खानका लागि काम गर्नुपर्छ । अब यहाँ आएका यात्रुहरू पनि हाल्न पाइदैन ।’

यो भनाइ टेम्पो चालक विमला गौतमको हो । सोमबार अपरान्ह काठमाडौंको सुन्धारा बस स्टपमा भेटिएकी विमलाको यो भनाइ नोवेल कोरोना भाइरस (कोभिड-१९)प्रति आमचालकहरूको प्रतिनिधि धारणा हो ।

कोभिडबारे निर्धक्क उनी भन्छिन्, ‘कोरोनाले मरिन्छ भन्ने नै लाग्दैन, मरिएछ भने पनि मरिएछ ।’

विमलाले अनलाइनखबरसँग यस्तो धारणा व्यक्त गरेको दिन काठमाडौं उपत्यकामा १ हजार ५३१ संक्रमित थपिए । जसमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा मात्रै १ हजार १७८ थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको यो तथ्यांकमा समेत सर्वसाधारणले प्रश्न उठाए । ‘कोरोना भनेको बेकारको हाउगुजी हो, किन यस्तो नचाहिने कुराको पछाडि लाग्नु हुन्छ’ आरएनएसी अगाडि गाडीबाट उत्रदै गरेका एक व्यक्तिले भने । उनले त सरकारले कमिसन खानका लागि कोरोनाको नाटक गरिरहेकोसम्म भन्न भ्याए ।

यति धेरै मान्छे संक्रमित छन्, धेरैको मृत्यु भइसकेको छ, तर पनि तपाईं त कोरोना नै केही होइन भन्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनको जवाफ थियो ‘जानुस् स्वास्थ्यमन्त्रीलाई सोध्नुस् ।’

जताततै बढ्दो भीडभाड छ । झन् नजिकिदो दशैंले त काठमाडौंका मुख्य बजारहरूमा थेगिनसक्नुको भीड शुरु हुन थालेको छ । सरकारले सार्वजनिक यातायातमा ५० प्रतिशतमात्रै यात्रु राख्नु भनेको छ । कोरोना संक्रमणबाट जोगिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ निर्देशिका नै बनाएको छ । तर सार्वजनिक यातायात चलाउनेहरूलाई यो जानकारीसम्म छैन ।

यो पनि पढ्नुहोस कोरोनालाई खेलाँची ठान्दैछ काठमाडौं ! आरएनएसी-रत्नपार्क-चावहिल-बौद्धको रुटमा गाडी चलाउने एक चालकले त मिलेसम्म यात्रु राख्ने योजना सुनाए । पहिलेको जस्तो कोचाकोच भने राख्न नपाइने भएकाले सकेसम्म थोरै राख्ने गरेको बताए । ‘ट्राफिकले थर्काइहाल्छ, नत्र त म फूल सिट मान्छे राख्ने थिएँ’ उनले भने, ‘आधामात्रै यात्रु राख्नुपर्ने त बाध्यता छ, कोरोना लाग्छ भन्ने त मलाई विश्वास नै लाग्दैन ।’

आइतबारमात्रै निर्देशिका पालना गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहहरुलाई परिपत्र गरेको छ । यो अवस्थामा अरुले भन्ने भन्दा पनि पहिलो कुरा आफैं सचेत हुने हो । तर सर्वसाधारण सचेत होइन उल्टो कोरोना केही होइन, कोरोनादेखि डराउनै नहुने तर्क गर्छन् ।

प्रहरीले कडाइ गरेकाले आधामात्रै यात्रु हालेर गाडी चलाउने बाध्यता परेको चालक सुनाउँछन् । यद्यपि, कतिपय चालकले त प्रहरीको आँखा छलेर भए पनि गाडीमा धेरै मान्छे हाल्ने गरेका रहेछन् । जुन कुरा चालकहरू आफैं बताउँछन् ।

पालना गर्ने पनि छन्

साझा यातायातका चालक कृष्णमान मानन्धर २५ जनासम्म यात्रु राख्ने गरेको सुनाउँछन् । उनले चलाउने साझा यातायातमा ५४ वटा सिट रहेका छन् । त्यहाँ भन्दा बढी हाल्न नमिल्ने भएकाले आफूले सकेसम्म २५ भन्दा बढी नचढाउन सहचालकलाई भनेको सुनाए । यदि चढिहाले भने प्रहरीको सहयोगमा झार्ने गरेको उनले सुनाए ।

साझा यातायातको अर्को बस चलाउने चालक पनि सरकारी नियम पालना गर्ने पक्षमा नै आफू रहेको सुनाउँछन् । आफुलाई अफिसबाटै आधामात्रै यात्रु हाल्नु भनिएकाले धेरै नहाल्ने गरेको उनले सुनाए । कोरोना सतर्कताको विषयमा भने उनले यात्रुहरूलाई नै सावधानी अपनाउन आग्रह गर्ने गरिएको बताए । उनलाई पनि कोरोनासँग डर लाग्न छाडिसकेको रहेछ । शुरुमा धेरै डर लागे पनि अहिले केही होइन जस्तै भइसकेको उनले बताए ।

‘खै मलाई पनि सोध्नुस्, म इन्टरभ्यू दिन्छु’ चालकसँग कुरा गर्दै गर्दा पछाडिबाट एक यात्रु महिलाको आवाज सुनियो ।

के भन्न चाहनु हुन्छ तपाईं ? भन्न नपाउँदै उनको जवाफ आयो, ‘कोरोनादेखि डर लाग्दैन भनेर सोध्नुभएको होइन ? लु सोधिहाल्नु ?’ ती महिला पुनः बोलिन् । ‘तपाईलाई कोरोनादेखि डर लाग्दैन ?’ ती महिला जंगिइन् । कोरोना भन्दा ठूला ठूला रोगहरू भएको भन्दै उनले कोरोना केही पनि नभएको बताइन् ।

उनले कतिपय ठाउँमा आफूले मास्क नै नलगाईं हिँड्ने गरेको पनि गर्वका साथ सुनाइन् । ‘एक दिन त मास्क नलगाईं हिँडेकी थिएँ, बाटोमा किन नलगाएको भन्दै सोधे, कतिपयले त मलाई प्रहरी बोलाएर कारबाही गर्नुपर्ने पनि माग गरे’ ती महिलाले अनुभव सुनाइन् । मास्क नलगाएकै कारण कारबाही गर्न खोज्नु गलत भएको उनको भनाइ छ ।

ती महिलाको सिट पछाडि रहेकी अर्की महिला पनि बोलिन्, ‘मलाई पनि डर लाग्दैन ।’ हातमा सागको मुठा बोकेकी उनले आफू किसान भएको र सधै खेतिबारीमा काम गर्ने भएकाले पनि कोरोनाले छुन नसक्ने तर्क गरिन् ।

तरकारी बेच्न कालिमाटी नियमित जाने गरेको बताएकी उनले बाहिर हिँड्दा पनि आफूलाई कोरोनादेखि कहिल्यै डर नलागेको बताइन् । उनले पनि कोरोनादेखि डराउनु पर्ने आवश्यकता नरहेको सुनाइन् ।

महानगरले गर्दैन अनुगमन

सरकारले जारी गरेको सार्वजनिक यातायात सञ्चालन सम्बन्धी निर्देशिका, २०७७ मा यात्रुको सुरक्षाका लागि सामाजिक दूरी कायम गराउनु भनिएको छ । मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ भने कति यात्रु चढ्न मिल्ने ढोकामै सूचना टाँस्नु पर्छ ।

सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुहरूको तापक्रम नापेर मात्रै चढाउनु पर्छ । यसका लागि सार्वजनिक यातायातहरूले २ वटा थर्मल गन गाडीमा राख्नु पर्ने निर्देशिकामा उल्लेख छ । स्यानिटाइजरको पनि गाडीले व्यवस्था गर्नु पर्ने साथै भाडा सकेसम्म विद्युतीय माध्यमबाट लिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

तर निर्देशिकामा भएका सबै व्यवस्थाहरू पालना हुन भने सकेका छैनन् । यसको अनुगमनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई अनुगमनका लागि परिपत्र गरेको छ । काठमाडौं उपत्यकामा भने स्थानीय तहहरूले सार्वजनिक यातायातको अनुगमन नै गरेका छैनन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल हालसम्म अनुगमन गरेको भन्ने विषयमा आफूलाई जानकारी नै नभएको बताउँछन् । अनुगमनबारे चासो राख्ने उनले आफूले बुझेरमात्रै बोल्न सक्ने बताए । तत्कालै अनुगमन गर्ने बारे पनि महानगरले कुनै निर्णय नगरेको उनको भनाई छ ।

अहिले सार्वजनिक यातायातहरूमा कोरोना सतर्कता भने नपनाइएको उनले स्वीकार गर्छन् । गाडीले नियम विपरीत धेरै यात्रु राखिरहेको उनले बताए । सुविधा दिन्छु भनेर बढी शुल्क लिए पनि पहिलेकै जस्तो कोचाकोच गरेर यात्रुहरु राख्न थालिएको उनले बताए ।

‘यात्रुलाई तपाईहरू नचढ्नुस् भन्न त मिल्दैन’ डंगोल भन्छन्, ‘गाडीले त बढी शुल्क लिएका छन्, बढी शुल्क लिएपछि दिन्छु भनेको सुविधा त दिनु पर्‍यो नि ।’

तस्वीर/ भिडियोः आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment