Comments Add Comment

अजरबैजानले अर्मेनियासँगको द्वन्द्वमा खोज्यो नेपालको साथ

२० असोज, काठमाडौं । असंलग्न आन्दोलनको अध्यक्ष मुलुक अजरबैजानले अर्मेनियासँग जारी द्वन्द्वमा आफू पक्षमा समर्थन गरिदिन नेपाललाई आग्रह गरेको छ ।

नेपाल असंलग्न आन्दोलनको एक सदस्य राष्ट्र हो ।

गत अक्टोबरको २५–२६ मा बाकु शहरमा भएको असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी ओलीले अजरबैजानको भ्रमण गरेका थिए ।

नेपाल मामिला समेत हेर्ने नयाँ दिल्लीस्थित अजरबैजानको राजदुतावासले केही दिन पहिले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर आफ्नो भौगोलिक अखण्डताको पक्षमा बोलिदिन आग्रह गरेको हो ।

नेपालसँगै दक्षिण एसियाका अन्य साना मुलुकलाई पनि अजरबैजानको सहयोग गरिदिन आग्रह गरेको छ ।

यस विषयमा नेपालले भने कुनै प्रतिक्रिया जनाएको छैन् । अजरबैजानले जारी द्वन्द्वले क्षेत्रीय शान्ति र स्थायित्वमा असर गर्ने भएकाले नेपालले यस विषयमा बोल्नु पर्ने बताउँदै आएको छ ।

अहिले अजरबैजान र अर्मेनियाको बीचमा विवादित भूमिको विषयमा युद्ध चलिरहेको छ र केही मृत्यु पनि भएको छ । तर मृत्युको वास्तविक तथ्यांक भने दुवैतर्फबाट आउन सकेको छैन ।

यी दुई मुलुकको बीचमा अहिले जारी युद्धको कारण विवादित भूमि नागोर्नो काराबख मानिन्छ । यो भूमिमा अर्मेनियाको नियन्त्रण छ । त्यसैले अजरबैजानले आफ्नो भूमि फिर्ता ल्याउनको लागि अर्मेनियामाथि आक्रमण गरेको हो ।

सोभियत संघको पालामा यो भूमि अजरबैजानको एक भाग थियो । सन् १९८० को दशकमा सोभियत संघ टुक्रिन सुरु भयो । त्यसपछि अर्मेनियाले संसदले नागोर्नो काराबख आफ्नो भूमिमा ल्याउन माग ग¥यो । तर सोभियत संघले त्यो माग अस्वीकार गर्‍यो ।

यसै विषयलाई लिएर अर्मेनियाका विखण्डनकारी समूह र अजरबैजानको सेनाबीच यु भएको थियो । यो हिंसा सन् १९९४ मा आएर टुङ्गिएको थियो । त्यतिबेला रुसले दुई मुलुकको बीचमा युद्धविराम गराएको थियो । तर, त्यतिबेला यो क्षेत्रमा अर्मेनियाको एक जातीय समूहको नियन्त्रणमा थियो ।

सन् १९९४ मा शान्ति सम्झौता भए पनि यो क्षेत्रमा निरन्तर हिंसा भने हुँदै आएको छ । सन् २०१६ मा पनि अर्मेनिया र अजरबैजानको बचिमा यो क्षेत्रको विषयलाई लिएर चार दिनसम्म युद्ध भएको थियो । रुसले त्यतिबेला मध्यस्थता गर्दै युद्ध साम्य पारेको थियो । विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुले लामो समयदेखि यो विवाद सुल्झाउने प्रयास भने गर्दै आएका छन् ।

अहिले जारी युद्ध भने सेप्टेम्बर २७ मा शुरु भएको हो । यो युद्धमा क्षेत्रीय प्रतिस्पर्धी मुलुकहरु रुस र टर्की पनि मुछिएका छन् । टर्कीले अजरबैजानलाई स्पष्टरुपमा सहयोग गरेको छ । टर्की र रुस सिरिया र लिबियाको युद्धमा पनि एकअर्काको विरुद्धमा देखिएका छन् ।

त्यसैले यो युद्धमा अजरबैजानको साथ दिनु पनि टर्कीको रुसलाई चुनौती दिने चाल हुनसक्ने आकलन छ । रुसले भने अहिलेको युद्धमा आफूले कुनै पनि मुलुकको पक्ष नलिएको र आफ्नो दुवै मुलुकसँग राम्रो सम्बन्ध रहेको बताएको छ । उसले यो युद्ध रोक्ने विषयमा टर्कीसँग पनि वार्ता भइरहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment