Comments Add Comment

पाचन प्रक्रिया सुधार्ने प्राकृतिक विधी

पेटबाट नै अधिकांश रोग पैदा हुन्छ । त्यसैले पेट एवं पाचन यन्त्रलाई चुस्त र बलियो राख्न जरुरी छ । पाचन प्रक्रिया राम्रो भएमा समग्र शरीर नै स्वस्थ एवं निरोगी हुन्छ ।

हाम्रो शरीरका लागि आवश्यक पोषक तत्वमध्ये धेरैजसो खानेकुराबाट प्राप्त हुन्छ । अतः उक्त खानेकुराबाट शरीरले तबमात्र राम्ररी पोषक तत्व ग्रहण गर्न सक्छ, जब हाम्रो पाचन प्रक्रिया सही हुन्छ । एक स्वस्थ व्यक्तिको पाचनक्रियाले खानाहरुलाई पचाएर त्यसमध्येबाट अधिकतम पोषक तत्वहरुलाई शरीरका हरेक भागसम्म पु¥याउँछ ।

तर, मीठो मसिनो खाने चक्करमा हाम्रो पाचन यन्त्र खरब हुँदै गएको छ । जथभावी खाने, जस्तो सुकै खाने वा मीठो मसिनो मात्र रोज्ने प्रवृत्तिले पेटको रोग निम्त्याउँदैछ । प्रशोधित गुलियो, तारेको, भुटेको, जंकफूड, मदिरा, मासुजन्य परिकार, जथाभावी औषधिको सेवनले हाम्रो पाचन यन्त्रलाई खराब बनाइदिएको छ ।

आयुर्वेदमा पाचन प्रणालीलाई अग्नी समान मानिन्छ । पाचन प्रणालीलाई शरीरको उर्जा स्रोत मानिन्छ । शरीरमा उत्पादित हरेक शक्तिको सुरुवात पाचन प्रणालीबाट नै हुन्छ ।

स्वस्थ र एकाग्र भएर खाने

अहिले हामीलाई खाना खाइरहेको बेला टिभी हेर्नुपर्छ, मोबाइल चलाउनुपर्छ । खानामा भन्दा पनि हाम्रो ध्यान टेलिभिजन वा मोबाइलमा हुनेगर्छ । के खाइरहेको छु वा आफुले खाएको खानेकुराको स्वाद कस्तो छ भन्ने समेत हेक्का हुँदैन ।

हामीले जे खाइरहेका हुन्छौं, त्यो केवल स्वाद मेट्न वा पेट भर्नका निम्ति मात्र हुँदैन । हामीले खाएका हरेक गाँसले हाम्रो शरीर निर्माण हुने हो । खानेकुरामा प्राप्त पोषक तत्वबाट नै शरीरका कार्यसंचालन हुने हो । त्यसैले खाना खाइरहँदा आफ्नो सम्पूर्ण ध्यान खानामा नै लगाउनुपर्ने आयुर्वेदमा उल्लेख छ ।

हरेक गाँसमा स्वाद लिएर, आनन्दपूर्वक र एकाग्र भएर खानुपर्ने बताइएको छ । यसरी खानेकुरा सेवन गर्दा हामीले पोषिलो, ताजा, सुपाच्य खानामा जोड दिन्छौं ।

खराब खानपान त्यागौं

मदिराले पिउदा हामीलाई रमाइलो लाग्छ  । तर, कति अवधीसम्म ? दुई÷चार घण्टा । त्यही दुई÷चार घण्टाको रमाइलोले जीवनभर पीडा दिनसक्छ । हामी स्वादको चक्करमा परेर जे जति खानेकुरा खान्छौं, त्यसले क्षणिक मात्र हामीलाई रमाइलो गराउने हो । आखिर दीर्घकालिन रुपमा त त्यसले हामीलाई नराम्ररी सताउने नै हो । मदिरा मात्र होइन, अत्याधिक मासुजन्य परिकार, तारेको, भुटेको, मसलेदार, तयारी, प्रशोधित, जंकफूड जस्ता खानेकुराले पाचन यन्त्रलाई कमजोर बनाउँछ र रोग पैदा गर्छ ।

पाचन यन्त्र कसरी सुधार्ने ?

पाचन यन्त्र सुधार्ने सरल र प्राकृतिक काइदा हो, ताजा खानेकुरा सेवन गर्ने । सुपाच्य र सन्तुलित खानेकुरा सेवन गर्ने । खानाका लागि निश्चित तालिका अपनाउने । एकसाथ धेरै होइन, बेला बेला थोरै थोरै खानेकुरा खाने । खाना खाँदा आरमसाथ स्वाद लिएर खाने । खानामा हरियो सागपात, सलादलाई प्राथमिकता दिने । खाना खाइसकेपछि कम्तीमा पाँच मिनेट बज्रासनमा बस्ने । सक्रिय रहने । पेटलाई फाइदा पुग्ने कतिपय व्यायाम एवं योग आसन हुन्छन्, त्यसलाई नियमित गर्ने ।

बिहान उठ्नासाथ मनतातो पानी सेवन गर्ने । मलत्याग गर्ने ।

व्यायाम महत्वपूर्ण छ

धेरै समयसम्म एकै स्थानमा बसेर काम गर्ने वा पढ्ने गर्नाले तपाईंको शरीरको पाचन क्रिया ढिलो हुन्छ । त्यसैले आयुर्वेदले सँधै सहि प्रकारको व्यायाम गर्ने सल्लाह दिन्छ जसले तपाईंको पाचनतन्त्र एवम् शरीर दुवै उच्चतम बनिरहन्छ ।

ताजा हावा र केही आसन

जसरी अग्नी बल्नको लागि अक्सिजनको आवश्यकता हुन्छ त्यसरी नै तपाईंको पाचन तन्त्रको अग्नीलाई पनि स्वस्थ राख्न पनि ताजा हावाको आवश्यकता हुन्छ । बिहानै घुम्न जाने वा फेरि प्रकृतिमा लामो पैदल यात्रा गर्नु तपाईंको ताजा हावाको सेवन अनुभव गराउन सक्छ ।

काममा ध्यान लगाउने

आफ्नो पिर, चिन्ता र तनावलाई टाढै राख्नको लागि आफ्नो काममा धेरै ध्यान लगाउनुभन्दा राम्रो तरिका सायद अरु छैन होला हरेक दिन केवल ५ मिनेट एकाग्रतासँग ध्यान लगाउनाले असङ्ख्य लाभ दिन सक्छ ।

सहि मात्रामा पानी पिउने

दैनिक सहि मात्रामा पानी पिउनु मानिसको पाचन प्रणालीको लागि सबैभन्दा धेरै लाभदायक हुन सक्छ । पानीले केवल पाचनप्रणालीमा रहेका ब्याक्टेरियामा सन्तुलन राख्दैन बरु पुरै शरीरमा खानाबाट मिलेका पोषक तत्वलाई पुर्याउन सहयोग गर्छ ।

विषहरण प्रक्रिया

आयुर्वेदका ज्ञाताहरुले पाचनप्रणालीलाई विषहरण क्रियाद्धारा सफा राख्ने सल्लाह पनि दिन्छन् । विषहरण क्रिया हरेक मानिसको लागि अलग हुन सक्छ ।

विषहरण क्रियाले आफ्नो अग्नीलाई शक्तिशाली तरिकाले फेरि सुरु गर्न सक्नुहुन्छ । विषहरण क्रियाले भित्री प्रणालीको मर्मत गरेर त्यसलाई उच्चतम उत्पादकत्व दिन सघाउँछ । विषहरण क्रिया फलफूलको सेवन देखि लिएर पन्चकर्म थेरापीसम्म विस्तारित छ  ।

पाचनप्रणाली भित्रको अग्नीले हरेक मानिसलाई सक्रिय उर्जावान राख्छ । पाचनप्रणालीमा सन्तुलन राख्न सकेमा स्वस्थ र दिर्घजीवन प्राप्त गर्न सकिन्छ । यसैकारण हामीले आफ्नो पाचनप्रणालीको अखण्डतालाई स्वस्थ राख्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment