Comments Add Comment

बिहारमा किन चर्चामा छिन् पुष्पम प्रिया चौधरी ?

२६ असोज, काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा अहिले विधानसभा निर्वाचनको सरगर्मी बढेको छ । बिहारमा अक्टोबर २८, नोभेम्बर ३ र ७ गरी तीन चरणमा यो निर्वाचन सम्पन्न हुनेछ । २४३ सिटको लागि हुन गइरहेको निर्वाचनको प्रचारमा अहिले राजनीतिक दलहरु लागिपरेका छन् । यसैक्रममा नयाँ धारको राजनीतिका लागि आएकी नेतृ अहिले चर्चामा छिन् ।

चर्चामा रहेकी नेतृको नाम हो – पुष्पम प्रिया चौधरी । पुष्पम प्रिया चौधरी लण्डन स्कुल अफ इकानोमिक्सबाट आफ्नो पढाइ पूरा गरेर राजनीतिमा आएकी नेतृ हुन् । उनले अहिले आफ्नै प्लुरल्स पार्टीको स्थापना गरेकी छिन् र चुनावी मैदानमा होमिएकी छिन् । चौधरीको लागि राजनीति नौलो विषय भने होइन । उनका पिता दिलिप चौधरी जेडीयूका नेता हुन् । अहिले उनी विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीका नितिन नवीनसँग निर्वाचन लड्दैछिन् ।

जातीय राजनीतिको अन्त्य गर्ने लक्ष्य

पुष्पम प्रिया चौधरी लामो समयदेखि बिहारमा चल्दै आएको जातीय राजनीति अन्त्य गर्ने लक्ष्यका साथमा निर्वाचनमा होमिएकी छिन् । बिहारमा जातीय भेदभाव तथा जातीय असमानताले जरो गाडेको छ । उनले जातीय राजनीतिक अन्त्यका लागि आफ्नो जातमा राजनीतिज्ञ र धर्ममा बिहारी लेखेकी छिन् । उनले अहिले चालेको नयाँ प्रयोग पनि चर्चाको विषय बनेको छ । चौधरी आफूलाई कुनै पनि जाति वा धर्मसमुदायको कारण नभई आफ्नो नीतिको कारण मतदान गरुन् भन्ने चाहेको बताउँछिन् । जातजाति कर्मको आधारमा हुनुपर्ने भए पनि जातीय भेद्भाव भने हुन नहुने उनको भनाइ छ । यस किसिमको भेदभाव नीतिगतरुपमा विपन्न परिवारलाई आर्थिक अवसरको माध्यमबाट जातीय भेद्भाव हटाउन सकिने उनको भनाइ छ ।

चौधरी भन्छिन्, ‘सच्चा वामपन्थी हुनुको अर्थ हो, तपाईं कहिल्यै पनि भ्रष्टाचारसँग सम्झौता गर्नुहुन्न ।’ त्यसो त भारतमा यसअघि पनि भ्रष्टाचारमा शून्य सहिष्णुताको नीति अपनाउने भन्दै धेरै नेताहरु नआएका भने होइनन् । तर, कालान्तरमा उनीहरु पनि अहिलेकै राजनीतिमा सामेल भएका छन् । चौधरीको अवस्था पनि यस्तै हुने त होइन ? भन्ने प्रश्नमा उनले आफू नयाँ योजना र भिजनसहित राजनीतिमा आएको र यसअघि कसले के गर्‍यो ? भन्ने कुराको जिम्मेवारी आफूले लिन नसक्ने बताइन् ।

चौधरीको नयाँ किसिमको राजनीतिक अभ्यासमा अहिले बिहारका डाक्टर, इन्जिनियर, प्राध्यापकलागायतको समूहले पनि उनलाई साथ दिइरहेका छन् । उनीहरुले यो निर्वाचनमा नयाँ अनुहारलाई मौका दिनुपर्ने बताइरहेका छन् ।

भारतमा निर्वाचनमा उठेकामध्ये कसैलाई पनि ‘म रुचाउँदिनँ’ भन्ने अधिकार छ । त्यस्ता मानिसले ‘नोटा’ मा भोट दिन्छन् । बिहारमा सबैभन्दा धेरै नोटा भोट खस्ने गरेको छ । गत विधानसभा निर्वाचनमा बिहारको ३८ सिटमा नोटो तेस्रो स्थानमा थियो । समग्र बिहारमा सात लाख ६१ हजार मतदाताले नोटाको बटन थिचेका थिए । लोकसभाको निर्वाचनमा यो संख्या बढेर आठ लाख १७ हजार पुगेको थियो । यसको अर्थ बिहारका धेरै मतदाताहरु अहिले चुनावी मैदानमा रहेका नेताहरुप्रति सन्तुष्ट छैनन् । यस्तोमा पुष्पम प्रिया चौधरी नोटा भोट दिने मानिसहरुलाई आफ्नो पक्षमा पार्ने प्रयासमा देखिएकी छिन् ।

(भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment