+
+
Shares

नेकपा र कांग्रेस सांसदको दसैं भत्ता कोरोना कोषमा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते २१:०१

३ कात्तिक, काठमाडौं । चौतर्फी आलोचनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सांसदहरुको दसैं भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

महामारीका बेला सांसदहरुले दसैं भत्ता लिएको सार्वजनिक भएपछि चौतफी आलोचना भएको छ ।

सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाले संघीय संसदमा रहेका पार्टीका सबै सांसदको दशैं भत्ता फिर्ता गर्न निर्देशन दिए । लगत्तै संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले दसैँ भत्ताबापत आफ्ना पार्टीका सांसदहरुलाई उपलब्ध गराएको रकम बापत हुन आउने कुल ४३ लाख २० हजार ८१० रुपैयाँ रकम संघीय संसदमार्फत कोरोना कोषमा जम्मा गर्ने जानकारी दिए ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको महामारीका कारणले उत्पन्न विषम परिस्थितिमा आम नेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दसैँ भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दभिक र उचित नभएकोले कांग्रेसको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपलब्ध गराइएको दसैँ भत्ता बापतको रकम फिर्ता गर्ने निर्णय गर्दछ ।’

नेकपाले पनि आफ्ना सांसदको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने बताएको छ । प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो ।

यस्तै प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले यो जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?