Comments Add Comment

त्रिविका आंशिक प्राध्यापक दसैंको मुखमा थाल ठटाउन बाध्य

गत चैत्रदेखि बन्द रहेका सम्पूर्ण विश्वविद्यालय तथा क्याम्पसहरुले कता–कता प्रशासनिक कार्य भएझैँ गरेको देखिन्छ भने केही तहका सीमित विषयका कक्षाहरु आंशिकरुपमा चलेझैं गरेको दृश्यले कोरोना भाइरस (कोभिड–१९) ले विश्वविद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको वर्तमान हालत खराब भएको जो कोहीले पनि सहज अनुमान लगाउन सक्छ ।

तर, देखिएको र सुनेको विश्वविद्यालयको हालको परिदृश्य हाम्रो भिन्न धरातलमा गुज्रिरहेको तीतो यथार्थ छ । विगत १५ वर्षदेखि समान कार्यवापत समान ज्यालाको माग गर्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरु देशभरका क्याम्पसहरुमा आ– आफ्नो तरिकाले अनबरत आन्दोलनमा उत्रिइरहेका छन् ।

प्राध्यापक नै आन्दोलमा किन ?

त्रिभुवन विश्वविद्यालयले जारी गरेको निर्देशिकाले आंशिक प्राध्यापकहरुको समस्या समाधान नगरी झन समस्या बल्झाउने कार्य गरेको आंशिक प्राध्यापकहरुको गुनासो छ । पटक–पटक सम्झौता गर्ने, तर कार्यान्वयन नगर्ने कपटी र धोकेबाजी प्रवृत्तिले आजित भएको बताउँदै आक्रोशित प्रध्यापकहरुले पृथ्वीनारायण क्याम्पस पोखरा लगायत देशभरका क्याम्पस प्रांगणमा निर्देशिका जलाई आन्दोलन गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पसहरुमा झन्डै दुई हजारको हाराहारीमा आंशिक प्राध्यापकहरु छन् । पृथ्वीनारायण क्याम्पस पोखरामा मात्र २१८ जना छन् ।

विश्व विद्यालयको स्वीकृति लिई तत्काल आन्तरिक कक्षाको भार व्यवस्थापनका लागि सम्बन्धित क्याम्पस प्रशासनले आफ्नो आवश्यकताका आधारमा आंशिक शिक्षक भर्ना गर्न पाउने कानुनी व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया पूरा गरी शिक्षक भर्ना लिने गर्छन् ।

हाल त्रिविले तोकेको मापदण्ड पूरा गरेका सम्पूर्ण आंशिक प्रध्यापकहरुलाई करार गराउँदै लाने गरेको विगतको नजीरलाई निरन्तरता दिँदै तत्काल करार सम्झौता गरी योग्यता र दक्षताअनुरुप समान कामको समान ज्याला उपलब्ध गराउनुपर्नेमा उनीहरुको जोड रहेको छ ।

देवराज शर्मा

करार सम्झौता हुनका लागि एकजना प्राध्यापकको हप्तामा कम्तिमा १५ पिरियडको दरले लोड लिनुपर्ने त्रिविको कानुनी व्यवस्था छ भने सो वापत वार्षिक झन्डै ५ लाख ३३ हजार रुपैयाँ पारिश्रमिक पाउन योग्य हुन्छन् । तर, आंशिक प्राध्यापकहरुले पछिल्लो निर्णयअनुसार प्रति पिरियड ५०० को दरले औसतमा वार्षिक ९० दिनसम्मको मात्र पारिश्रमिक दिने गरेको वर्तमान अवस्था छ ।

समान कार्य तर ज्यालामा यस किसिमको फराकिलो विभेदले बौद्धिक श्रम शोषण भएको प्रष्टै देखिन्छ । सोही कारण असन्तुष्टि जनाउँदै विद्यार्थीको भविश्य निर्माणमा केन्द्रित हुनुपर्ने प्राध्यापकहरु आफ्नो भविश्यको चिन्ताले अहोरात्र आन्दोलनमा होमिन विवश भएका हुन् ।

विद्यार्थी संख्याको हिसाबले हेर्ने हो भने देशकै सबैभन्दा ठूलो सरकारी प्राज्ञिक क्षेत्र त्रिविमा हुने यस किसिमको बौद्धिक श्रमको चरम शोषणले संविधानले प्रदान गरेको मौलिक हककोसमेत उल्लंघन गरेको देखिन्छ ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको निर्देशनमा ०६५ साल असोज २१ मा शिक्षा मन्त्रालयले आंशिक समस्या समाधान गर्न सम्झौता गर्यो । तर, त्यसको मसी सुक्न नपाउँदै कुल्चिइयो । ०६६ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा त्रिवि र शिक्षा मन्त्रालयसँग संयुक्तरुपमा आंशिक प्राध्यापकहरुसँग सम्झौता भयो । तर, त्यो सम्झौता टेबलमा थन्क्याइयो । विचरा आंशिक प्राध्यापकहरु टुलुटुलु हेर्न विवश भए ।

यस्तै प्रकृतिका पटक–पटकका त्रिविसँग भएका वार्ता र सम्झौता कार्यान्वयनमा कुनै पनि चासो नदिई धोका दिँदै सम्झौता गर्ने  र आन्दोलनमा पानी हाल्ने र प्राज्ञिक क्षेत्रका विश्वविद्यालयमा अध्यापनरत प्राध्यापकहरुलाई सधैं थाङ्नामा सुताउने रबैया देखाएको त्रिविले पुनः अहिले झन विवादास्पद निर्देशिका जारी गरेको छ ।

गत माघमा त्रिविले ओम बरालको अध्यक्षतामा उच्चस्तरीय समिती निर्माण गरी देशभरका आंगिक क्याम्पसहरुमा पुगी सर्वेक्षण गरी आन्दोलनरत पक्षसँग वार्ता र संवाद गर्दै सम्झौता गरियो । सोही अनुरुप पृथ्वीनारायण क्याम्पस पोखरामा पनि सर्वपक्षिय भेला गरी दुईबुँदे सम्झौता भयो । जसमा एक महिनाको समयसीमा तोकी अन्यत्रको तुलनामा यहाँका सम्पूर्ण प्राध्यापकहरु प्रक्रिया पूरा गरी सेवा प्रवेश गरेको, आवश्यक कक्षाभार पूरा लिने गरेको तर पारिश्रमिक भुक्तानीमा अन्याय भएको हुँदा पृथ्वीनारायण क्याम्पसको समस्या तत्काल समाधान गर्न पर्ने ठहर गरियो ।

तर, एक महिनाभित्र करार सम्झौताको निर्णय गर्ने लिखितम गरी फर्केको केही महिनापछि सेवाकाल व्यतीत गरी सेवानिवृत्त प्रध्यापकहरुलाई समेत अतिरिक्त कक्षा लिन प्राथमिकता दिने गरी व्यवस्था गर्दै विश्वविद्यालयले हालसम्म उपयोग गरेका दुई हजार बढी बौद्धिक जनशक्तिलाई अवमूल्यन गरेको हुँदा जबसम्म माग सम्बोधन हुँदैन, तबसम्म कुनै पनि कक्षा नलिने आन्दोलतरत पक्षको अडान छ ।

कानुनी प्रक्रिया पूरा गरी सेवानिवृत्त प्राध्यापकलाई आंशिक प्राध्यापकको कक्षाभार हरण गरी कक्षा लिन पुनः भर्ना गर्ने गैह्रकानुनी र लज्जास्पद कार्य व्यवस्थासहितको निर्देशिका जारी गर्ने कार्यले समस्या सृजना गरेको छ ।

पृथ्वीनारायण क्याम्पसमा मात्र झन्डै ७० प्रतिशत लोड आंशिक प्रध्यापकहरुले लिन्छन् भने बाँकी स्थायी र करार प्रध्यापकहरुले धानेको आन्दोलनरत प्रध्यापकहरुको दाबी छ ।

विद्यार्थीलाई शिक्षित गराई देशका योग्य जनशक्ति निर्माणको दायित्व पूरा गर्नुपर्ने प्राध्यापकहरु नै त्रिवि र क्याम्पसको नेतृत्व विरुद्ध अनसन, बस्ने, लालटिन बाल्ने, हड्ताल गर्ने, थाल ठटाउने, सिठी बजाउने जस्ता आन्दोलन गर्दै गेटमा धर्ना बस्दासमेत त्रिवि पदाधिकारी र क्याम्पस प्रमुखहरु कानमा तेल हालेर घरमा कुम्भकर्णझैं सुतिरहने प्रवृतिले विश्वविद्यालय र क्याम्पसहरुको बिजोग र दुर्दशा प्रष्ट देखिएको छ ।

आगोमा घिउ थप्ने काम

दुई महिनादेखि बन्द क्याम्पसका प्रमुखको जिम्मेवारी लिएका पृथ्वीनारायण क्याम्पसका प्रमुख डाक्टर सरोज कोइरालाले नियुक्ति लिएको मितिदेखि कुर्सीको गन्धसमेत लिन पाएका छैनन् । अघिल्लो हप्तादेखि आंशिक प्राध्यापकहरुले प्रमुख र सहायक प्रमुखहरुलाई मूलगेटबाटै प्रवेश निषेध गरेका छन् ।

क्याम्पसमा अनवरत आन्दोलन चलिरहने, तर क्याम्पस र विश्वविद्यालयबाट कुनै पनि प्रतिक्रिया नपाएपश्चात त्रिविका उपकुलपतिसमक्ष टेलिफोन सम्पर्क गर्दा क्याम्पसबाट कुनै पनि औपचारिक जानकारी आफूलाई प्राप्त हुन नसकेको खबरले पृथ्वीनारायण क्याम्पसका आन्दोलनरत प्राध्यापकहरु झनै रुष्ट बनेका छन् ।

उनीहरु दसैंको मुखमा प्रतिशोधात्मक आन्दोलका कार्यक्रम अगाडि बढाउने मोडमा देखिएका छन् । आगामी दिनमा झनै सशक्त आन्दोलनका कार्यक्रम अगाडि ल्याउने आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतम बताउँछन् ।

त्रिविको भ्रष्टाचार

त्रिवि पदाधिकारीले केन्द्रमा खिचिएको दरबन्दीसहित थप दरबन्दीको रकम हस्तान्तरण गर्दा विश्वविद्यालयको ठूलो धनराशीमा रमाउँदै मस्ती गर्न नपाउने हुँदा सो समस्या समाधानमा चासो नदिने गरेको आन्दोलनरत प्राध्यापकहरुको आरोप छ ।

पृथ्वीनारायण क्याम्पसबाट केन्द्रमा खिचिएको दरबन्दी पुन क्याम्पसमा पाए यस क्याम्पसको आंशिकको समस्या सदाका लागि समाधान गर्ने प्रतिवद्धता पेश हुँदासमेत पृथ्वीनारायण क्याम्पसलाई त्रिविले असहयोग गरेको छ ।

देशको सवैभन्दा ठूलो एकमात्र सरकारी विश्वविद्यालयकोे देशकै सबैभन्दा ठूलो क्याम्पस, पृथ्वीनारायण क्याम्पसका पूर्वविद्यार्थी नेताहरु केन्द्रीइ राजनीतिमा पुगेका छन् । विद्यार्थी नेता रश्मि आचार्य, सोभित ढकाल, प्रतिनिधिसभा सदस्य माननीय पदम गिरी, प्रदेश सभा सदस्य, राजिब पहारी, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, प्रतिनिधि सभा सदस्य खगराज अधिकारी, प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश मन्त्री विकास लम्साल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही क्याम्पसका उत्पादन हुन् । तर, देशको विभिन्न उच्च पदमा निर्णयकारी भूमिकामा रहँदासमेत सरकारी प्राज्ञिक थलोमा भर्याङ्गको रुपमा प्रयोग भएको पृथ्वीनारायण क्याम्पसको दुर्दशामा उनीहरु मूकदर्शक भएर बसेका छन् ।

राज्यको सर्वाङ्गिण विकासको मेरुदण्ड दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्रमा नै यस किसिमको बेथिति देखिनु र हजारौं विद्यार्थीहरुको पठनपाठन अवरुद्ध हुनुले कोरोना महामारीबाट थला परेको देशलाई झन् अधोगतितर्फ धकेल्ने हुँदा समृद्ध मुलुक निर्माणको उद्देश्य बोकेको समाजवाद उन्मुख सरकारको गम्भीर ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment