Comments Add Comment

मासु र मदिराको लोभ : दशा नबनोस् दशैं 

दशैंको खास विशेषता हो, मीठोमसिनो खाने । यतिबेला धेरैको भान्सामा खसीको पक्कु वा मासुजन्य परिकार पाक्छ । आफन्तलाई घरमा निम्त्याएर होस् वा पाहुना लाग्दा, मीठोमसिनो खानै पर्छ ।

यो पर्वमा नेपाली समाजले अत्याधिक मासुको खपत गर्छ । मासुमा पनि खसी अनिवार्य जस्तै हुन्छ, भलै यसपाली त्यस्तो माहौल नभएपनि । सामाजिक धारणा के छ भने, दशैंको मेलोमेसोमा कम्तीमा एउटा खसी भएपनि काट्नैपर्ने प्रचलन छ ।

तर, दशैंको खानपानमा मुख बरिएन भने दशैं दशामा बद्लिन सक्छ । दीर्घरोगी र खासगरी मुटुका समस्या भएकाहरुले खानपानमा लोभ गर्नुहुन्न ।

गाउँघरतिर रक्ती अर्थात रगतबाट बन्ने परिकार पनि निकै रुचाइन्छ । तर, मुटुका समस्या भएकाहरुले रक्ती खानु हानिकारक छ । यसमा नुनुको मात्रा अत्याधिक हुन्छ । त्यसैले उच्च रक्तचाप बढाउँछ । अर्कोतिर हामीले खाने मासु कति स्वस्थ छ ? कस्तो पशु बध गरिएको हो ? कसरी भण्डारण गरिएको छ भन्ने कुरामा ध्यान दिन जरुरी छ ।

खसी रोगी छ भने उक्त रोगको किटाणु रगतमा बसेको हुन्छ । जसले मुटुमा संक्रमण गर्न सक्ने हुदाँ सकेसम्म यस्ता खानेकुराको सेवनबाट बच्नुपर्छ ।

दशैंमा धेरै खानेकुरा पकाउने, पटक पटक पकाएर वा तताएर खाने, दुई–चार दिनसम्म राखेर खाने प्रवृत्ति पनि देखिन्छ । तर, त्यसरी मासु वा कुनैपनि खानेकुरा पटक पटक पकाउँदा त्यसको पोषक तत्व नष्ट हुनेमात्र होइन, विषाक्त पनि हुन्छ । यसले रोगको भय अरु थपिदिन्छ ।

नेपाली समाजमा कवाफ मासु पकाउँदा बोसोको प्रयोग अत्याधिक हुने गर्छ । जबकी मुटुका रोग भएकाहरुले सकभर बोसोरहित मासुको प्रयोग गर्नु पर्छ । त्यस्तै चिल्लोको प्रयोग पनि सकेसम्म कम गर्नु पर्छ ।

बढी मसला, बेसार तथा पिरोको प्रयोगले मुटुलाई खासै असर गर्दैन । बोसोयुक्त मासुले मुटुलाई हदैसम्मको हानी गर्दछ ।

मासु नै खाएपनि थोरै थोरै मासुको सेवन गर्नु उचित हुन्छ । एकैपटक ठूलो परिणाममा मासुको सेवनले पनि मुटुलाई असर पार्न सक्छ । मासु खाँदा एक कचौरा मासुको साथमा दुुई कचौरा काक्रो, गाँजर, मुला लगायतका सलादका साथमा गेडागुडी मिसाइएको खानेकुरा,रेसादार तरकारी  तथा फलफुलको सेवन अत्याधिक मात्रामा गर्न जरुरी छ ।

उच्च फाइबरयुक्त खानेकुराको सेवनले चिल्लो काट्न मद्दत गर्छ । त्यसबाहेक, मासुमा पहिले नै नुन भएको हुदाँ कुनै पनि मासु खाँदा नुनको प्रयोग सकेसम्म कम गर्न जरुरी छ ।

मदिराको मात्रा

दशैंको बेला नेपाली समाजले अत्याधिक खपत गर्छ, मदिरा पनि । अक्सर पारिवारिक जमघटमा मदिरा पिउने प्रवृत्ति बढ्दो छ । त्यसैगरी पाहुनाको सत्कार गर्न पनि मदिरा टक्र्याउने गरिन्छ । अर्कोतिर आफन्त, साथीभाई तासको खालमा जमेर मदिरा पिउने बानी पनि धेरैको छ ।

एकातिर चिल्लोचाप्लो, मसलेदार मासु, अर्कोतिर मदिरा । ज्यानले कसरी थेग्न सक्ला ?

यसले स्वास्थ्यलाई नराम्ररी खराब बनाउँछ नै । उच्च रक्तचाप, मुटु रोगमा त यो विष समान नै हो । मदिरा मात्र होइन, कोक, फेन्टा समेत त्यती धेरै पिउनु उचित हुँदैन । नियन्त्रित मात्रामा पिएर रमाइलो गरे हुन्छ । साथै मदिरा पिउनुअघि पर्याप्त पानी पिउने । मदिरासँग मासुजन्य सितन नखाने । बरु फलफूल, सलाद खाने गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment