Comments Add Comment

कविता : वर्षादका थोपा

कहाँ लेख्न सक्नु र यो धर्तीको बयान

एकदुई जन्मले आँक्नै असम्भव छ

यहाँका बान्की र बनावट

नारद हो र

एउटा नारायणको महिमा गाउन एकतारे भए पुग्ने

यहाँ त सयतारेले हजारौं भाका रचेर

हजारौं–हजार गीत पो गाउनु छ !

जब बादल हानिँदै पर्वत शृंखलाहरूमा टकराउँछ

ती असंख्य प्रवाहहरूको सङ्गीत भरौं कि

तिनै बादलहरू मूल भै निस्केको विज्ञान पर्गेलौं

कि मूल वरिपरि फुलेका सभ्यताको इतिहास लेखौं !

कुवाका ठट्यौलीहरू के लेखौं भन्छु

घुरका न्यानोपनले मस्त लठ्याउन थाल्छन्

मिथिलातिरका कलामा जब डुब्न खोज्छु

ठाँटीका ढाँचा दङ्गदास पार्न आइहाल्छन्

गुफाभित्रका रहस्य खोतल्नै त कहाँ छ कहाँ

मन्दिर,मस्जिद र देवलका ज्ञानहरु कहिले बुझौं

एउटा बुद्ध थाहा पाउँदा संसार चकित छ

दर्जनौं आदिबुद्ध उजगार गरेर कहिले सकौं !

ती शान्त पोखरी र गहिरा इनारहरूको

तकनिकि त यसो लेखौंला

लोक्ताहरुले कागज बनाएको शीप पनि बुझौंला

डण्डीबियो, गिर अनि बाघचालका आविष्कार कहाँ पाउँ

ढुङ्गे बारीमै लहलह फलाउने ती

ज्ञान–गाथा खोजेर कहिले सकौं ?

गन्न सकिएला बरु वर्षादका थोपा अनि आकाशका तारा

तर सकिँदैन आँक्न यी बान्की र बनावट सारा

प्रयत्न अवश्य गरिरहुँला जुनी–जुनीसम्म

नेपाली भएर दिइरह्यौ भने यहीँ जन्म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment