Comments Add Comment

कृषिको राष्ट्रिय गौरव आयोजनाको सम्भाव्यता अध्ययन गर्न कार्यदल

२१ कात्तिक, काठमाडौं । धनुषामा कृषिको राष्ट्रिय गौरवको आयोजना निर्माण गर्नेबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यदल गठन गरेको छ ।

मन्त्रालयका सहसचिव विमलकुमार निर्मलको संयोजकत्वमा कृषिका हरेक विभागका विज्ञ सहभागी कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।

धनुषाको कमला र जनक नन्दनी नगरपालिकाको १५ हजार विघा भन्दा धेरै जमिनमा सहकारी तथा सामूहिक खेतीमार्फत कृषि आयोजना अघि बढाउन पूर्व सम्भाव्यता अध्ययन गर्न उक्त कार्यदल बनेको हो । कार्यदललाई प्रतिवेदन बुझाउन एक महिनाको समय तोकिएको छ ।

खोलाको धार परिवर्तनपछि बाँझो बसेको जमिन उपयोग गरेर माछा पालन, तरकारी, फलफूल खेती वा अन्य प्रयोजनको काम गर्न मन्त्रालयले तयारी गरेको छ ।

गत कात्तिक ५ गते कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले उक्त क्षेत्रको अवलोकन गर्दै हरेक प्रदेशमा कम्तीमा एउटा कृषिका राष्ट्रिय गौरवका योजना बनाउने घोषणा गरेका थिए ।

२०६४ सालमा कमला नदीले धार परिवर्तन गरेर अलपत्र परेको हजारौं बिघा जमिन प्रयोग गरेर आयोजना अघि बढाउन सकिने प्रदेश सरकारको रायपछि मन्त्रालय अघि बढेको हो । आयोजना क्षेत्र १० किलोमिटर लामो र २ किलोमिटर चौडाइको छ ।

कृषि मन्त्रालयको मत्स्य विकास महाशाखाको टिमले स्थलग निरीक्षण गरेर सकारात्मक राय दिएपछि मन्त्री भुसालले उक्त स्थानको अवलोकन गरेका थिए । संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा जमिनको स्वामित्व किसानकै कायम रहने गरी सबै वडामा सहकारीमार्फत आयोजना अघि बढाउने प्रारम्भिक तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment