
२७ कात्तिक, विराटनगर । भारतीय मजदुर ल्याउन नपाउँदा पूर्वी नेपालका इँटा उद्योग बन्द भएका छन् ।
प्रदेश १ मा रहेका उद्योगमा भदौबाट इटा उत्पादन सुरु हुन्छ । तर कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले नेपाल भारत सीमाबाट आवतजावत बन्द गरेकाले भारतबाट मजदुर आउन पाएनन् । मजदुर ल्याउन नपाउँदा उद्योग बन्द भएका हुन् ।
प्रदेश १ मा ८५ वटा इँटा उद्योग सञ्चालनमा छन् । तर मजदुर अभावमा सबै उद्योग बन्द भएको कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले बताए ।
‘हामीले संघीय सरकार र प्रदेश सरकारलाई मजदुर ल्याउने वातावरण बनाइदिन आग्रह ग¥यौं, तर हाम्रो आग्रह सुनिएन’ साहले भने ‘प्राविधिक मजदुर अन्यन्त्र गइसके, अब यो सिजनमा इँटा उत्पादन हुँदैन ।’
प्रदेश १ का इँटा उद्योगमा भारतको पश्चिम बंगालको कुचबिहारबाट मजदुर आउने गर्छन् । प्रदेशका उद्योगमा २३ हजार भन्दा बढी भारतीय नागरिकले रोजगार पाउँदै आएका थिए ।
‘इँटा उद्योगमा ६० प्रतिशत भन्दा बढी भारतीय मजदुर काम गर्छन् । प्राविधिक मजदुर पनि उतैबाट आउछन्’ उनले भने ‘नेपालमा प्राविधिक जनशक्ति छैन ।’
उद्योगले हरेक वर्ष हिउँदको समयमा इँटा बनाएर बिक्री गर्छन् । इँटा उद्योगीले भदौमा अग्रिम भुक्तानी दिएर मजदुरलाई स–परिवार आवासीय रुपमा ल्याएर वैशाखमा काम सकेपछि विदा गर्थे । तर कोभिड–१९ महामारीको कारण अन्तर्राष्ट्रिय नाका बन्द भएपछि भारतबाट मजदुर ल्याउन नपाइएको एबीआई इँटा उद्योगका सञ्चालकसमेत रहेका उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।
उनका अनुसार ८–१० वटा उद्योगले सीमित मात्रामा इँटा उत्पादन सुरु गरेका छन् । ‘कोरोना महामारीका कारण भारतबाट मजदुर आएनन्’ उनले भने ‘मजदुर नपाउँदा उद्योग बन्द भए ।’
निर्माणमा असर
इँटा उत्पादन नहुँदा निर्माण क्षेत्रमा असर पर्ने अध्यक्ष घिमिरे बताउँछन् । ‘भोलि इँटा पर्याप्त नहुँदा निर्माण सामग्री अभाव हुन्छ । मूल्य पनि बढ्न सक्छ’ उनले भने ‘राज्यले सञ्चालन गरेका परियोजनालाई असर गर्छ ।’
इँटा व्यवसायी संघका अध्यक्ष साह इँटा उत्पादन कम हुँदा समग्र निर्माण क्षेत्रमै असर पर्ने बताए । ‘इँटा अभाव हुँदा विकास निर्माणको चेनमा असर गर्छ’ उनले भने ‘दैनिक मजदुरी गर्नेदेखि छड, सिमेन्ट उद्योगलाई पनि असर गर्छ ।’
उद्योगले उत्पादन गर्ने इँटा प्रतिगोटा ७ देखि १८ रुपैयाँसम्म बिक्री हुन्छ । प्रदेश १ मा रहेका ८५ इँटा उद्योगले वर्षेनी ३४ करोड रुपैयाँको इँटा उत्पादन गर्दै आएका छन् । प्रदेशमा इँटाको मात्र वर्षमा ३ अर्ब ४० करोड रुपैयाँको कारोबार हुन्छ ।
प्रतिक्रिया 4