Comments Add Comment

प्रहरीको प्रिय कुकुर जोजो : जसले गोंगबु हत्या प्रकरण सुल्झाउन सघायो

२९ कात्तिक, काठमाडौं । कोरोना महामारीको प्रतिकार्यमा देश होमिइरहेका बेला २५ साउनमा राजधानीमा एउटा घटना भयो, जसले अधिकांशको मथिंगल हल्लाइदियो । गोंगबुको गणेशस्थान नजिक सुटकेशमा टाउको नभएको शव भेटिएपछि प्रहरीसमेत झस्किएको थियो ।

शवको सनाखत नभई अनुसन्धान अघि बढाउन असम्भव जस्तै थियो । त्यसका लागि कुनै सुराक नभेटिइरहेका बेला प्रहरीले केन्द्रीय कुकुर विद्यालयबाट जोजो नामक ट्याकर डग मगायो, जसले अनुसन्धानलाई छोट्याउन महत्वपूर्ण सहयोग गर्यो ।

‘अपराधस्थलमा तत्कालै कुकुरको प्रयोग नगरिएको भए, टाउको भेट्टाउन समय लाग्न सक्थ्यो’, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापा भन्छन्, ‘जोजोको प्रयोगबाट केहीवेरमै तीन सय मिटर पर रहेको जेब्रा झोला फेला पर्यो, जहाँ मृतकको टाउको र खुट्टा थियो ।’

थापाका अनुसार त्यसबेला ह्याण्डलर सई शंकरप्रसाद घिमिरेले शरीर भेटिएको सुटकेशसँगै रहेको नाम्लोको पातो सुँघाएर छाडेपछि जोजो टाउको र खुट्टा भएको झोलासम्म दगुरेर पुगेको थियो । टाउको फेला परेपछि शवको सनाखत गर्न प्रहरीलाई सहज भयो भने दाङका कृष्णबहादुर बोहोराको अवैध सम्बन्ध र साइबर अपराधका कारण हत्या भएको खुल्यो ।

अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका कारण प्रहरीले गोंगबु हत्या प्रकरणको छानविनलाई ‘अपरेशन जोजो’को नाम दिएको थियो । यही घटनाको अनुसन्धानमा पुर्याएको योगदानका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समेत जोजो र ह्याण्डर घिमिरेलाई प्रहरी दिवसको अवसरमा सम्मानितसमेत गरिसकेका छन् ।

गोंगबु हत्या प्रकरणपछि सञ्चारमाध्यममा व्यापक रुपमा छाए पनि जोजो अनुसन्धान अधिकृतका लागि भने दुई वर्षदेखिकै प्रिय कुकुर हो । किनकि, जोजोले पछिल्ला समयमा भएका ९ वटा गम्भिर प्रकृतिका अपराध अनुसन्धानमा प्रहरीलाई सघाइसकेको छ ।

कुकुर विद्यालयमा भएको रेकर्ड अनुसार १२ मंसिर २०७५ मा काभ्रेको नमोबुद्ध–५, ढुडिचौरमा ज्ञानध्वज तामाङ मृत भेटिएको प्रकरणमा पनि जोजो परिचालित भएको थियो । ढुंगाले हानेर हत्या गरेपछि नगदसमेत लुटपाट भएको घटनामा जोजोले एक किलोमिटर परसम्म ट्याक पछ्याएको थियो ।

भक्तपुरको चाँगुनारायणमा २०७५ असारमा ३५ वर्षीय उमेश कार्कीको चक्कु प्रहार गरी भएको हत्यामा पनि जोजो परिचालित भयो । जसमा एक किलोमिटरसम्म ट्याक पछ्याएर जोजोले टोपी, चस्मा र रगत लत्पतिएको मोबाइलको चार्जर भेटेको थियो ।

नुवाकोटको दुप्चेश्वरमा नवज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या भएलगत्तै जोजोलाई अपराधस्थलमा लगियो । र, जोजोले अनुसन्धान अधिकृतलाई पण्डितले साँझ खाजा र मदिरा सेवन गरेको भट्टीसम्म डोहोर्यायो । त्यही आधारमा भएको अनुसन्धानका क्रममा उनका साथीहरु २४ वर्षीय सुजन तामाङ, ३१ वर्षीय राजकुमार तामाङ, ३६ वर्षीय दीपबहादुर तामाङ र १९ वर्षीय महेन्द्र तामाङ पक्राउ परे ।

काभ्रेको नमोबुद्ध नगरपालिका–४, डराउने पोखरीमा २९ कात्तिक २०७६ मा श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकमायाको हत्याको अनुसन्धानमा पनि जोजोले महत्वपूर्ण संकेत दिएको कुकुर विद्यालयका अधिकारीहरु बताउँछन् । घटनामा संलग्न उदयपुरको चौदण्डीगडी नगरपालिका–१० का सुमन राई र किरणकुमार मगर त्यसबेलै पक्राउ परिसकेका छन् ।

यो पनि पढ्नुहोस यूएन मिसनमा नेपाली कुकुर

काठमाडौंको कीर्तिपुर–४, चम्पादेवी जंगलमा १५ साउन २०७६ मा शिशिर खनाल नामक व्यक्ति हराएका वेला पनि जोजो परिचालन गरिएको थियो भने गोंगबुमा ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको घटना पनि खटाइएको थियो । घटनामा संलग्न रहेको अभियोगमा प्रयासकै बुबा प्रविणको गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसमा कार्यरत स्याङ्जाका महेन्द्र एसके त्यसवेलै पक्राउ परिसकेका छन् ।

यसबाहेक पनि राजधानीमा हुने अधिकांश घटनाको अनुसन्धानमा जोजोको प्रयोग गर्ने गरिएको विद्यालयकी प्रमुख डा. देउती गुरुङ बताउँछिन् । ‘अहिले हरेक जघन्य अपराधको अनुसन्धान गर्न प्रहरीले कुकुरको प्रयोग गर्यो/गरेन भनेर खोजी हुन थालेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गुरुङ भन्छिन्, ‘त्यसैले अहिले घटनास्थलको प्रकृति अनुसार प्रयोग गर्न नमिल्ने भए पनि कुकुर लानै पर्ने अवस्था छ ।’

बेलारुसबाट ल्याइएको कुकुर

डा. गुरुङका अनुसार जोजो बेलारुसबाट ल्याइएको ‘ब्लड हाउन्ड’ प्रजातिको कुकुर हो । २०७५ सालमा प्रहरी प्रधान कार्यालय, नक्सालले खरिद गरेर ल्याउँदा जोजो चार महिनाको मात्र थियो । त्यसबेलै प्रहरीले जोजोका लागि ६ लाख रुपैयाँभन्दा बढी मूल्य तिरेको गुरुङ बताउँछिन् ।

डा. देउती गुरूङ, एसएसपी, प्रहरी कुकुर विद्यालय प्रमुख

नेपाल ल्याएपछि डेढ वर्ष कुकुर विद्यालयमै तालिम दिएर जोजोलाई अभियुक्तको खोजी र अनुसन्धनमा सहयोगका लागि तयार पारिएको हो । सुरुमा बेसिक तालिम दिएपछि अनुसन्धानमा प्रयोग हुने ट्याकर सम्बन्धी विशिष्टकृत तालिम जोजोलाई दिइएको डा. गुरुङको भनाइ छ ।

तालिमपछि सुरुवातमा जोजोलाई सहयोगीको रुपमा अर्को कुकुरसँगै खटाइएको थियो भने दुई वर्षपछि गाडी चढ्न र अपरास्थलमा जान अभ्यस्त बनाएर एक्लै खटाउन थालिएको थियो ।

‘जोजोको अहिलेको उमेर एकदमै सक्रिय हुने समय हो, अहिले एकदमै छिटो, छरितो र बुद्धिमान पनि छ’, उनी भन्छिन्, ‘फेरि यो जातको कुकुरको विशेषता नै के हो भने अरु कुकुरले सामान्यतया २४ घन्टासम्मको गन्ध सुँघेर ट्याक लिन्छ भने यसले ९६ घन्टासम्मको अवस्थामा काम गर्नसक्छ ।’

सामान्यतयाः अनुसन्धानमा खटाइने कुकुरमा २५ देखि २५० मिलियनसम्म अल्फ्याक्टी कोषिका हुन्छन्, जसको आधारमा गन्ध सुँघेर अपराधीसम्म पुग्ने हो । तर, जोजो जस्तो ‘ब्लड हाउण्ड’ प्रजातिको कुकुरमा यस किसिमको ३ सय मिलियन कोषिका हुने हुँदा लामो समयसम्म यसले काम गर्न सक्ने गुरुङ बताउँछिन् ।

अभियुक्तको बयान – कुकुर दौडिएको देखेपछि एकदमै रोएँ

गोंगबु हत्या प्रकरणको अनुसन्धानका वेला रातभर पानी परेकाले कुकुर परिचालनबाट सहयोग हुने/नहुनेमा अधिकृतहरु द्विविधामा थिए । तर, जोजोले पानीका बीच पनि सही ट्याक लिएर टाउको फेला पार्दै आफूलाई अब्बल साबित गराएको छ ।

त्यसो त प्रकरणकी आरोपित कल्पनाले कुकुर दौडिरहेको आफूले अपराधस्थल भएको घरबाट हेरिरहेको बयान दिएकी छन् । ‘कुकुर दौडिएको देखेपछि घरमै आउँछ कि भनेर म एकदमै रोएकी थिएँ’, उनले प्रहरीसँग भनेकी छन्, ‘तर, कुकुर टाउको भएको झोलातिर गएपछि लामो सास फेर्यौं ।’

अनुसन्धान अधिकृतका अनुसार कुकुर परिचालनका केही सीमितता छन्, त्यसैले कल्पनाको घर जोजोबाट जोगिएको हो । अधिकृतहरुको दाबी अनुसार पानीका कारण ट्याक विग्रिएकाले कुकुर कल्पना बसेको घरसम्म नपुगेको हुनसक्छ । यद्यपि, टाउकोको झोला मात्रै फेला पारेर पनि जोजोले अनुसन्धानलाई साँघुरो बनाइदिएको अधिकृतहरु बताउँछन् ।

कसरी गर्छ काम ?

कुकुर विद्यालयका डाक्टरहरुका अनुसार मानव शरीरबाट प्रतिमिनेट ४० देखि ६० हजार वटासम्म कोषिकाहरु झर्ने गर्छन् । त्यहाँबाट निस्किने गन्ध एउटा मान्छेबाट अर्कोसँग मिल्दैन । घटनास्थलमा भेटिने त्यस्ता कोषिकाहरु प्रहरीको कुकुरले सुँघ्छ र त्यसलाई पछ्याउँदै अपराधी भएको ठाउँसम्म पुग्छ ।

पानी परेको अवस्थामा ती कोषिकाहरु नस्ट हुने हुँदा त्यस्तो अवस्थामा कुकुरले मिसलिड गराउन सक्छ । त्यसैले पानी परेको अथवा हिलो ठाउँमा हतपत कुकुरको प्रयोग गरिँदैन । कञ्चनपुरको चर्चित निर्मला हत्या प्रकरणको वेला पनि यही कारण कुकुरको प्रयोग नगरिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

अधिकृतहरुका अनुसार कुकुरलाई राम्रोसँग परिचालन गर्नका लागि घटनास्थलमा केही चिसोपन हुँदा सहज हुन्छ । तर, धेरै चिसो भयो भने पनि शवबाट गन्ध आउँदैन । धेरै गर्मी हुँदा पनि उडेर जान्छ । त्यसैले कुकुर परिचालनका लागि बिहानीपखको समय उपयुक्त हुने ‘ह्याण्डलर’हरुको अनुभव छ ।

अपराध भएपछि जति चाँडो कुकुर लैजान सक्यो, त्यति राम्रो परिणाम आउने डा. गुरुङको अनुभव छ । घटनास्थल सुरक्षित नभए पनि सफलता प्राप्त हुन कठिन विद्यालयका चिकित्सकहरु बताउँछन् ।

यदि कुनै चौबाटोमा पुगेर अपराधीले सवारी साधन प्रयोग गरेको छ भने पनि ट्याक पहिल्याउन गाह्रो हुन्छ । यदि अभियुक्त हिँडेर गएको छ भने पत्ता लगाउन निकै सहज हुन्छ, जुन पोखरामा १० वर्षीय श्रेया विकको बलात्कार प्रयासपछि भएको हत्याको अनुसन्धानले पुष्टि गरिसकेको छ ।

अपराधीको खोजी र पहिचानमा अब्बल जर्मन सेफर्ड जातको कुकुर कुशललाई १० असोज २०७५ मा भएको यो घटनाको अनुसन्धानमा परिचालित गरिएको थियो र कुशलकै कारण आरोपित २७ वर्षीय कुसुम पौडेल घटना भएको २४ घन्टा नवित्दै पक्राउ परेका थिए ।

कुशलले देखाएको ट्रयाकअनुसार प्रहरी अभियुक्तसम्म पुगेको अधिकारीहरु बताउँछन् । सुरुमा कुशल स्तुपा जाने पैदल बाटो हुँदै उक्कालोतर्फ जाँदा अल्मलिएझैं देखिएको थियो भने पुनः सोही बाटो ओरालोतर्फ झरेर सडक नजिकैको पसलमा वरिपरि घुमेपछि प्रहरीले त्यहीँ शंका बढाएको थियो ।

नभन्दै अभियुक्त त्यही पसलमा रहेछन् । त्यहाँ बसेर मदिरा तथा लागूऔषध सेवन गरेको खुलेपछि प्रहरीले कुसुमलाई पक्राउ गरेको थियो । प्रहरीलाई दिएको बयानमा उनले भनेका थिए, ‘सुरुमा अघिल्लो दिन म हिँडेको बाटोतिर कुकुर गएपछि खुशी भएको थिएँ तर, फेरि मतिरै आउँदा झसँग भएँ ।’

प्रहरीसँग ९६ वटा कुकुर

नेपाल प्रहरीसँग अहिले विभिन्न प्रजातिका ९६ वटा कुकुर छन् । अन्य केही कुकुरलाई तालिम दिएर अनुसन्धानका लागि तयार गरिँदैछ ।

पछिल्लो समय कुकुर विद्यालयलाई समयानुकूल बनाउने उद्देश्य अनुरुप विश्वमा अपराध अनुसन्धानमा उत्कृष्ट प्रदर्शन गरेका कुकुरलाई खरिद गरेर ल्याउने गरिएको छ । त्यही नीति अनुरुप विद्यालयले पछिल्लो समय बेल्जियम सेफर्ड जातको ‘सुपर डग’ भनेर चिनिने कुकुर पनि ल्याएको छ ।

यही प्रजातिको कुकुर सन् २०११ मे २ मा अलकायदाका तत्कालीन प्रमुख ओसामा विन लादेनलाई पाकिस्तानमा मार्दा प्रयोग गरिएको थियो । यो प्रजातिको कुकुरको विशेषता रोगसँग लड्ने क्षमता पनि अन्यभन्दा बढी हु्नु, एकदमै छिटो दगुर्ने र नथाक्ने भएको डा. गुरुङ बताउँछिन् ।

‘यो प्रजातिको कुकुरलाई हरेक प्रदेशमा एक/एक वटा पुर्याएका छौं, विद्यालयमा दुई वटा र विमानस्थलमा पनि एउटा छ’, उनले थपिन्, ‘अहिले यो प्रजातिको कुकुरलाई विष्फोटक पदार्थ र लागूऔषधको खोजीमा प्रयोग गरिएको छ ।’

यो प्रजातिको कुकुर भारत, बैंकक लगायतका ठाउँमा पनि नपाइएपछि अमेरिकाबाट मगाइएको उनी बताउँछिन् । योबाहेक प्रहरीसँग भारत, अमेरिका, थाइल्याण्डबाट ल्याइएकासहित नेपालमै तयार गरिएका विज्ञ कुकुरहरु छन्, जसलाई विष्फोटक पदार्थ, अभियुक्त र लागूऔषधको खोजी तथा पहिचानसहित भीआईपी सुरक्षा र विपदमा खोजी तथा उद्दारमा प्रयोग गर्ने गरिएको छ ।

खान्की र उपचार

विद्यालयका चिकित्सकहरुका अनुसार अपराध अनुसन्धानमा सघाउने कुकुरको नियमित स्वास्थ्य जाँचदेखि अभ्याससम्म हुने गरेको छ । बिहानै खोरबाट निकालेर उनीहरुलाई दिसापिसाबसँगै व्यायाम र मसाज गर्ने गरिन्छ भने दैनिक अनुसन्धानको अभ्यास पनि गराउने गरिएको छ ।

सामान्यतयाः एउटा कुकुरले दैनिक ६ सयदेखि एक हजार ग्रामसम्म दाना खान्छ । ‘तालिम प्राप्त कुकुरहरुलाई दैनिक दुई पटक रेडिमेड दाना खुवाउने गरिन्छ’, गुरुङ भन्छिन्, ‘तर, एकपटक खुवाउँदा र दुई पटक खुवाउँदा कुकुरमा खासै भिन्नता नहुने अध्ययनले देखाएको छ ।’

कुकुरका लागि खुवाइने दाना समेत टेन्डर आह्वान गरेर खरिद गर्ने गरिएको छ । कुकुरको स्वास्थ्योपचारका लागि ४ जना सिनियर अफिसर तैनाथ हुन्छन् । विद्यालयका प्रमुख एसएसपी गुरुङका साथै एसपी, डिएसपी र प्रहरी निरीक्षकसम्म सबै चिकित्सक हुन् ।

कुकुरमा धेरैजसो देखिने स्वास्थ्य समस्या भनेको उनीहरुलाई ब्याक्टेरियल इन्फेक्सन भएर ज्वरो आउने भएको चिकित्सकहरु बताउँछन् । कतिपय अवस्थामा किर्नाका कारण विभिन्न रोग पनि लाग्ने गरेको छ । तर, त्यहाँका डाक्टरहरुले नियमित स्वास्थ्य जाँच गरेर कुकुरलाई स्वस्थ राख्न हरसम्भव प्रयत्न गर्छन् ।

सामान्यतया कुकुर परिचालन गर्ने प्रहरी अधिकारी (ह्यान्डलर)लाई बोलाउन सहज हुने नाम कुकुरलाई दिइने गरिएको छ । स्वदेशी र भारतबाट ल्याइएका कुकुरलाई नेपाली नाम नै दिइएको छ । तर, कतिपय अमेरिकाबाट ल्याइएका कुकुर पनि छन् । उनीहरुलाई भने त्यहीँको नामले बोलाइने गरिएको छ ।

जस्तै, अमेरिकाबाट खरिद गरेर ल्याइएको बेल्जियम सेफर्ड जातको एउटा ट्याकर कुकुरलाई ह्याण्डलरले रेन्बो नाम दिएका छन् ।

तस्वीर/भिडियो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment