Comments Add Comment

पर्वतमा ११ लघु जलविद्युत् आयोजना अलपत्र

२ मंसिर, पर्वत । पर्वत जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारो बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र बनेका छन् ।

दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्णरुपमा बन्द भएका हुन् ।

तीन वर्ष अघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेको भएपनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएसँगै ती आयोजना पनि बन्द भएका हुन् । पछिल्ला केही वर्ष यता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका वडाहरुमा केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएको हो ।

दक्षिण पर्वतको सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, पाङराङको साढे सात किलोवाट क्षमताको गढीसिद्ध र ११ किलोवाटको बाच्छाखोला, हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत पूर्णरुपमा बन्द रहेका छन् ।

त्यस्तै बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि विद्यतु उत्पादन हुन छाडेको छ ।

पर्वतको मोदी गाउँपालिका—१ भुकताङ्गमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र बनेको छ ।

उता महाशिला गाउँपालिका—२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि दुई वर्ष अघि गाउँमा केन्द्रीय प्रशारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् ।

मर्मतको अभाव र कम क्षमता हुने भएकाले पनि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेट समेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको उनले बताइन् ।

पछिल्लो समय स्थानीय तहहरुले पनि उक्त लघुविद्युत मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएको बाच्छाका भिमबहादुर खड्काले बताए । ‘२५ वाट क्षमताको बल्ब महिनाभर चलाएको २५ रुपैयाँ तिरे पुग्थ्यो’, तत्कालीन ऊर्जा अधिकृत शिलाकारले भनिन्, ‘केन्द्रीय लाइनभन्दा लघु जलविद्युत्बाट उत्पादित बिजुली सस्तो भएपनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन् ।’

जिल्लाका ११ वटा लघुजलविद्युत् आयोजनाबाट १५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट एक हजार ४०३ घरधुरीका नौ हजार बासिन्दा लाभान्वित भएका थिए । विसं २०५५ देखि सञ्चालनमा रहेका यी आयोजनाहरु अहिले भग्नावशेष बनेका छन् । एघार ओटा आयोजनाको लागि दुई करोड २५ लाख खर्चिए पनि केन्द्रीय प्रशारण, उपभोक्ताको बेवास्ता र मर्मत अभावले लोप हुने अवस्थामा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment