Comments Add Comment

किन हुन्छ हृदयाघात ?

आपतकालीन व्यवस्थापन हुन नसके ज्यानैसमेत जान सक्ने र बाँचिहाले पनि स्वस्थ र स्तरीय जीवनको महसुस गर्न नदिने वा जीवनभर परावलम्बी/पराश्रति भएर बाँच्नुपर्ने, तर जोखिम कारकतत्वहरूको निदान गरी हटाउन सके ठीक पार्न पनि सकिने मुटु तथा रक्तनलीका रोगका कारणले संसारभर प्रत्येक वर्ष १ करोड ७७ लाख मानिस मर्छन् ।

सन् १९२० देखि अमेरिकामा, सन् १९३० देखि बेलायतमा र १९८० देखि नेपाल, भारत, मलेसिया, मोरिसस र श्रीलंकाजस्ता देशमा महामारीकै रुपमा देखा परेको यो रोग अस्पतालका इमरजेन्सी र सघन उपचार कक्ष (आई.सी.यू.) प्रवेशको मुख्य कारण पनि हो ।

यसरी धेरै मानिसहरु मारेर सन्सारकै सर्वश्रेष्ठ हत्यारा कहलिएको यो रोग विशेषतः मुटुलाई रक्त आपूर्ति गराउने कोरोनरी धमनीको रोग हो ।

हृदयाघात, यी धमनी वा धमनीका शाखाभित्र अकस्मात रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भाग भन्दा अगाडिका हृदयपेशीहरू अक्सिजन र पोषकतत्वको अभावमा मर्न गई देखा परेको आपतकालिन समस्या हो ।

यो रोग अकस्मात घटित भएता पनि यसका पछाडि धमनीहरूमा कोलेस्टेरोल जम्न गई धमनी साँघुर्‍याउने आर्थरोस्क्लेरोसिस् भन्ने रोगको सिलसिला वर्षौं वर्षदेखि जोडिएको हुन्छ । धमनीहरुमा कोलस्टोरोल जमाउन एउटा नभएर धेरै कारणहरू जिम्मेवार भएकाले यस रोगलाई बहुकारणिक रोग पनि भनिन्छ ।

सन् १९८१ मा सर विलियम्सले मुटुरोगका २४६ कारणहरुका खोजी गरेका थिए, जसमध्ये ५४ वटा आनिबानीसँग, १६ वटा शरीर तथा जैविकतासँग, ४४ वटा रगत र रगतको रोगसँग, ४५ वटा अन्य रोगहरुसँग, ४४ वटा भोजन तथा पोषणसँग, १६ वटा शरीर रचनासँग र १६ वटा बंशानुगत सम्बिन्धत हुन् भने ५ वटा वातावरण र ६ वटा दबाई/औषधोउपचारसँग सम्बन्धित छन् ।

यी कारणहरुलाई उल्टाउन सकिने र नसकिने गरी २ समूहमा विभाजन गरिएको छ ।

उल्ट्याउन नसकिने कारणहरु

मुटु रोगका यस्ता कारणहरु पनि छन् जसलाई उल्ट्याउन वा हटाउन सकिँदैन । ४० बर्षपछिको उमेर, पुरूष लैङ्गकिता र हृदयघातको पारिवारिक इतिहास यो रोगका उल्ट्याउन नसकिने कारणहरू हुन् ।

१) उमेर : ४० वर्षको उमेर पारगरिसकेपछि हरकसैलाई मुटुरोग लाग्ने खतरा रहन्छ । यसो हुनुको मुख्य कारण उमेर बढ्दै गएपछि धमनीहरुमा कोलेस्टेरोल जम्मा भएर धमनीहरू साँघुर्‍याउने समस्या तीव्र हुनले हो । यदि ४० वर्ष भन्दा माथिको उमेरसँगै व्यक्तिमा अन्य जोखिमहरु पनि भए हार्ट एट्याक चाँडै हुन सक्छ ।

२) पुरुष लैङ्गकिता : हृदयाघातका ९० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयाघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरुलाई आस्टो्रजन नामक सेक्स हारमोनले हृदयाघातबाट बचाउने वैज्ञानिक दाबी छ । यसका अतिरिक्त महिलाहरुमा कम तनाव, वा सहज व्यक्तित्व कम सुर्ती सेवन तथा धुम्रपानजस्ता अन्य जोखिम कम हुने हुनाले हृदयघात कम हुने मानिन्छ । तर, यी जोखिमबाट बच्न नसक्ने महिलालाई पुरुष बराबर नै हृदयघातको जोखिम रहन्छ । महिनावारी सुकेका पाठेघर तथा डिम्बासयका अपरेसन गराएका गर्भ निरोधक चक्की खाने र धेरैचोटी गर्भपात गराएका महिलाहरुलाई पुरुष बराबर नै हृदयाघात हुने जोखिम रहन्छ ।

३) पारिवारिक इतिहास : हृदयाघात अनुवंशिक रोग पनि हो । जुन आमा-बुवाहरुबाट सन्तानलाई जन्मजात सर्छ । हृदयाघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुब्ला पातला भए पनि उनीहरुको कलेजोले प्राकृतिकरुपमै धेरै कोलेस्टेरोल बनाउँछ । फलतः हृदय रुग्ण भई हृदयाघात हुन सक्छ । यस्ता व्यक्तिहरुले जीवनशैली परिवर्तनका साथसाथै कोलेस्टेरोल कम गर्ने औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ ।

उल्ट्याउन सकिने कारणहरु

जीवनशैली परिर्वतन गरेर वा औषधिसेवन गरेपश्चात न्यूनीकरण गर्न वा हटाउन सकिने कारणहरूलाई उल्ट्याउन सकिने कारण भनिन्छ । यस्ता कारणहरु निम्नानुसार छन्

१) उच्च रक्त संयुक्त कोलेस्टेरोल :

कोलेस्टेरोल रगतमा पाइने र शरीरलाई चाहिने एक किसिमको चिल्लो पदार्थ हो । तर, यो तत्वको रक्तमात्र सामान्यभन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरुमा जम्न गई हृदयाघात, मस्तिष्कघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिस् जस्ता समस्या गराउँछ । माछा, मासु, अण्डा, दूध, दही, क्रिम, मख्खन, चिज, बटर, नौनी, जस्ता, प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाइन्छ, वनस्पतिजन्य चिल्लोमा पाइँदैन । यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुमा पुर्‍याउनुपर्ने हुन्छ । कलेजोमा बनेको कोलेस्टेरोललाई रगत भएर ट्रान्सपोट गर्न केही ट्रान्सपोर्टर प्रोटिनहरु चाहिन्छ । ती प्रोटिनहरुलाई काइलोमाइक्रोन, एलडिएल, भिएलडिएल र एचडिएल प्रोटिन भनिन्छ । यी प्रोटिनहरु ट्राइग्लिसेराइड र कोलेस्ट्रोलसँग जोडिएपछि यसलाई काइलोमाइक्रोन, एलडिएल, भिएलडिएल र एचडिएल कोलेस्टेरोल भनिन्छ र यी प्रोटिनयुक्त वा फ्री कोलेस्टेरोल रगतमा घुम्दा चिपचिप भई रक्तनलीका भित्ताहरुमा टाँसिन पुग्छ । फलतः रक्तनलीका भित्तामा प्लाक नामक चिल्लोको डल्लो बनाई हृदयाघात वा मस्तिस्कघात गराउँछ ।

२) उच्च रक्त एलडीएल कोलेस्टेरोल

यसलाई खराब कोलेस्टेरोल पनि भनिन्छ । यो लिपोप्रोटीनले कोलेस्ट्रोललाई कलेजोबाट अन्य तन्तुहरुसम्म लैजान बाहन तथा कोलेस्ट्रोलले बोक्ने मुख्य साधन हो । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ, त्यति नै एलडीएलको मात्रा ज्यादा हुन्छ । ज्यादा भएको एलडीएल उपापचयी फ्री रेडिकलहरुसँग मिलेर रगतका नसाहरुलाई घात गर्न सक्ने विषाक्त तत्वमा परिवर्तित हुन पुगी रक्तनलीहरुमा सूक्ष्म घाउहरु बनाउँछ । यो घाउ भएपश्चात उक्त ठाउँ प्रदाहतमक क्रिया सुरु हुन्छ र घाऊ भएको स्थानमा कोलेस्ट्रोल क्याल्सियम र मृत कोषहरुले बनेको प्लाक नामक डल्लो बन्छ । यो डल्लोले नशा साँघुर्‍याएर उक्त अंगहरुको रक्त सञ्चारलाई प्रभावित पार्छ । रगतमा उच्च एलडीएल भएमा यसले रक्त नलीलाई रिल्याक्स गराऊने इन्डोथेलियम डिराइभ रिल्याक्सिङ्ग फ्याक्टरको उत्पादन कम गराउँछ र उक्त नलीहरुलाई टाइट राखिरहन्छ ।

३) उच्च भीएलडीएल कोलेस्ट्रोल : यो कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आएपछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नशाका भित्ताहरुमा जम्न पुग्छ र मुटु तथा रक्तनलीका रोग लगाउँछ ।

४) उच्च रक्त ट्राइग्लिसिराइड : ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खानेतेल भनिन्छ । तोरी, सूर्यमुखी, भटमासजस्ता वनस्पतीय चिल्लो पदार्थ सबै ट्राइग्लिसिराइडहरु हुन् । पाचन पश्चात ट्राइग्लिसिराइड फ्याटी एसीड र ग्लिसरालमा परिवर्तित हुन्छन् । यी फ्याटी एसिड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडका रुपमा शरीरमा अवशोषित हुन्छन् । हृदय स्वास्थ्यका लागि पोली अनस्याचुरेटेड फ्याटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स फ्याटी एसीड मुटुका लागि अत्यन्त हानिकारक मानिन्छन् । सबै वनस्पति घ्यू (डाल्डा ) र रिफाईन्ड घ्यू तेल, स्याचुरेटेड  फ्याट हुन् । तेललाई धेरै तताउँदा वा अन्य तत्वसँग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरियल फरमन्टेसन भएर तेल टुटेर ट्रान्स फ्याटी एसीड बन्छ । स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडको सेवनले रगतमा एलडीएल कोलिस्ट्रोल र भ्ािएलडीएल कोलेस्ट्रोलको स्तर बढ्नेे र एचडीएल कोलेस्ट्रोलको स्तर घट्ने गर्छ । फलतः तेलको ज्यादा वा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारक बन्न पुग्दछ ।

५) निम्न रक्त एचडीएल कोलेस्ट्रोल : यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मदत गर्दछ । यदि रगतमा एचडीएल कोलेस्ट्रोलका स्तर कम भएमा धेरै भएको कोलेस्ट्रोलखाई कलेजोमा ल्यायर विसर्जन गर्ने क्रिया अवरोध हुने हुदा रगतमा अन्य कोलेस्ट्रोल बढ्न गयी मुटु तथा रक्त नलिको रोगहरु लाग्दछ ।

६) उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपात : यो अनुपात मुटुरोगको महत्वपूर्ण सूचानांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।

७) उच्च रक्तचाप : प्रायः मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ । यो रक्तनलीमा रगत बग्दा रगतले रक्त धमनीहरुमा दिएको अतिरिक्त दबाव हो । यसरी लामो समयसम्म रगतले रक्तनलीको भित्तामा दबाव दिँदा धमनीहरुको भित्री पत्र इन्डोथेलियम लेयर क्षतिग्रष्त हुन गई उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रूत गतिमा हुन पुग्छ र हृदयरोग लाग्छ ।

८) मधुमेह : रगतमा ग्लुकोजको मात्रा खालीपेटमा ११० मि. ग्रा. प्रति १०० मिलि लिटर र खाना खाएको दुईघण्टा पश्चात १४० मि. ग्रा. प्रति १०० मिलि लिटरभन्दा ज्यादा भएको अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह हुँदा बढेको ग्लुकोजले स-साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता कम हुनेहुँदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मद्दत गर्छ । यसो हुँदा रक्तनलीहरुमा चाँडै बोसो जमी हृदयरोग लाग्छ ।

९) मोटोपन : भोजनमै भएको वा शरीरमा आफैं बनेको चिल्लो पदार्थ उर्जामा परिवर्तित हुन नसकी बोसे तन्तुमा जमेर बडी माश सूचनाङ्क, ३० के.जी प्रति वर्ग मिटरभन्दा धेरै भए त्यस्तो अवस्थालाई मोटोपन भनिन्छ । मोटोपन भएका व्यक्तिहरुलाई धेरै किसिमका रोगहरु लाग्ने खतरा हुन्छ । मोटोपन भएकाहरुको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्छ जसलाई मुटुरोगको पनि कारक मानिन्छ । यसका साथै मोटोपनले मुटुरोगका अन्य जोखिमहरूलाई बढी जन्माउँछ फलतः मोटो मान्छे मुटुरोगको शिकार हुन पुग्छ ।

१०) निस्क्रिय जीवन : मुटुरोगले श्रम र व्यायाम नगरी निस्क्रिय जीवन जिउनेहरुलाई ज्यादा मन पराउँछ । निस्क्रिय जीवन जिउँदा मुटु तथा रक्तनलीलाई व्यायाम हुन सक्दैन । व्यायाम र श्रमबाट भाग्दा कोलेस्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारीरिक तौल घटाउन सकिँदैन । फलतः मुटुरोग चाँडै लाग्ने सम्भावना रहन्छ ।

११) धुम्रपान तथा सुर्ती सेवन : धुम्रपान नगर्ने भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सुर्तीमा रहेका विषहरूले रगतको कोलेष्ट्रोललाई अक्सिडाइज गरी झन विषाक्त बनाउन मद्दत गर्छ, जसले धमनीहरुलाई क्षतिग्रष्त पार्छ । विषाक्त कोलेस्ट्रोल झन चिपचिपे भई नशाहरुमा प्लाक बनाउन मद्दत गर्छ । धुम्रपानले पुर्‍याउने क्षति व्यक्तिले लिएको चुरोटको संख्यासँग सिधै निर्भर रहन्छ । जसलाई सिगरेट स्कोर भनिन्छ । जर्दा सुर्ती, पान मसला खैनी नश, गुल, बज्जर, हुक्का, कंकडजस्ता सुर्तीजन्य पदार्थहरुको पनि उत्तिकै हृदयरोग कारक हुन् ।

१२. मानसिक तनाव : वैचारिक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारीरिक असहजतालाई तनाब भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गति, कोलेष्ट्रोल, बोसो लग्ने क्रिया आदिलाई बढाउँछ । यसरी सबै कुरा बढ्दै जाँदा हृदयरोग लाग्छ ।

१३. चोकर र रेसाको कमी : रेसा र चोक्कर नभएको मसिनो मिठो खानाले मुटुलाई राम्रो गर्दैन । चोक्कर भएको खानाले विषाक्त तत्वहरुलाई अवशोषण गरी नशामा बोसो जम्न दिँदैन । मसिनो मिठो खानाले तौल पनि चाडै बढाउँछ । फलतः मुटु रोग लाग्छ ।

१४. भिटामिन र एण्टीअक्सीडेण्टको कमी : भिटामिन, खनिज, एण्टीअक्सीडेण्ट, र अन्य सुक्ष्म पोषक तत्वहरुले हृदयरोगबाट बचाऊछ । भिटामिन त्यसमा पनि भिटामिन ए, भिटामिन सि र भिटामिन ई नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्छ । भिटामिनले रगत जम्ने क्रियालाई पनि नियन्त्रण गर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिज तत्वहरु पर्दछन । यसका अलावा एण्टीअक्सीडेण्टको पनि उत्तिकै महत्व छ । एण्टी अक्सीडेण्टले अक्सीडेण्टीव प्रतिक्रिया हुन नदिएर नशालाई क्षति ग्रस्त हुनबाट बचाउँछ ।

१५. टायप “ए” ब्यक्तित्व : मुटुरोगले टायप ‘ए’ ब्यक्तित्व भएकाहरुलाई धेरै पनपराउँछ । टायप ए ब्यक्तित्व भएका ब्यक्तिहरु अधैर्यवान, सधै तनावमा रहने ईख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने प्रवृतिका हुन्छन् । यसको अलावा यी व्यक्तिहरु सधैं हतारमा रहने, समयको अक्षरसः पालना गर्ने, पूर्वाग्रही, आलोचक, अभद्र व्यवहार गर्ने, इर्श्यालु, अरुलाई दबाएर राख्ने, प्रतिस्पर्धी, अहंकारी र प्रतिक्रियावादी हुन्छन् । यस्ता व्यक्तित्वहरुले हृदय तथा रक्तनली कमजोर बनाउँछ । फलतः मुटु चाँडै रोगी हुन्छ ।

१६. मदिरापान : मदिरापान र मुटुको स्वास्थलाई लिएर ठूलो विवाद छ । रक्सी खानेहरुले रक्सीलाई मुटु मैत्री माने पनि तथ्य यसको ठीक विपरीत छ किनकि रक्सीमा भएको एल्डीहाइडले बोसो लाग्न मद्दत गर्छ, जो मुटुमैत्री हैन । रक्सीले खाली क्यालोरी पनि दिन्छ । थोरै मात्रमा रक्सी पिउनु ब्यक्ति हानिकारक नभए पनि रक्सी पिउनेले थोरैमात्रा पिउँदैनन् । फेरि रक्सीले कलेजो आन्द्राभुँडी तथा मस्तिस्क तथा अन्य कोमल अंगहरुलाई पनि क्षति पुर्‍याउने हुँदा त्यसको भार पनि मुटुले व्यहोनुपर्छ फलतः मुटु रुग्ण हुन्छ ।

(लेखक योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालय भरतपुर -१, वागीश्वरी, चितवनका मेडिकल डाइरेक्टर हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment