Comments Add Comment

विराटनगरमा डाक्टरलाई कोरोना भाइरसको पुनः संक्रमण

५ मंसिर, विराटनगर । विराटनगरमा एक चिकित्सकलाई दुई महिनामै कोरोना भाइरसको पुनःसंक्रमण देखिएको छ । विराटनगरको एक अस्पतालमा कार्यरत ३२ वर्षीय डाक्टरलाई पहिले संक्रमण पुष्टि भएर संक्रमणमक्त भएको दुई महिनापछि पुनः संक्रमण देखिएको हो ।

पहिलो पटक संक्रमण हुँदा सामान्य लक्षण मात्र देखिएको उनमा दोस्रो पटकको संक्रमणमा भने जटिल लक्षण देखिएको थियो ।

१८ साउनमा सामान्य लक्षण देखिएपछि जाँच गराउँदा उनमा कोरोना भाइरस सक्रमण पुष्टि भएको थियो । १४ दिनको आइसोलेसन बसाईपछि संक्रमण मुक्त भएका उनी एक महिनासम्म घरमै बसेका थिए ।

‘पहिलो पटक सामान्य लक्षण थियो । १४ दिन आइसोलेसन बसाईपछि संक्रमण मुक्त भएँ’ उनले भने ‘सतर्कता अपनाउँदा अपनाउँदै दोस्रो पटक संक्रमण हुँदा धेरै पेन (पीडा) भयो ।’

पहिलो संक्रमणपछि एक महिना घरमै आराम गरेर उनी सतर्कतासहित काममा निस्किएका थिए । घर बाहिरको पानी समेत नखाएका उनी दुईवटा मास्क र पन्जा प्रयोग गर्थे । तर असोज अन्तिममा बिरामी परे । स्वाद हराएपछि जाँच गर्दा ३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भयो ।

पहिलो पटक संक्रमण हुँदा सामान्य पीडा सहेका उनी दोस्रो पटक भने भाग्यले बाँचेको बताउँछन् । ‘शरीरमा धेरै पेन भयो । सिनियर डाक्टरको सल्लाहमा औषधि प्रयोग गरेँ’ उनले भने, ‘निमोनिया हुन नदिन सतर्कता अपनाएँ, लक्किल्ली बाचियो ।’ कात्तिक तेस्रो साता संक्रमण मुक्त भएका उनी अझै कमजोर अनुभव भएको बताउँछन् ।

‘अहिले पनि कमजोर फिल हुन्छ, तर दुईवटै संक्रमण कसरी सर्याे पत्ता लगाउन सकिन’ उनी भन्छन् ।

‘फरक–फरक भाइरस’

डाक्टरलाई दुई महिनाभित्रमा दुई पटक संक्रमण भएपछि विराटनगरमा फरक फरक किसिमका भाइरस रहेको पुष्टि हुने चिकित्सक बताउँछन् । छोटो समयमा संक्रमण फैलनु अध्ययनको विषय भएको उनीहरुको भनाइ छ ।

कोशी अस्पताल विराटनगरका फिजिसियन डा. लक्ष्मीनारायण यादव फरक फरक भाइरस भएकाले दुई महिनामा नै संक्रमण दोहोरिएको हुनसक्ने बताउँछन् ।

‘यहाँ त अध्ययन भएको छैन । बाहिर भएका अध्ययनले फरक फरक भाइरस रहेको देखिएको छ’ उनले भने ‘एकै किसिमको भाइरसलाई इम्युनिटिले रोक्न सक्छ । पहिले भन्दा फरक भाइरस देखिएमा संक्रमण हुनसक्छ ।’

संक्रमण मुक्त भएका चिकित्सक पनि आफूले भोगेको लक्षणका आधारमा भाइरस छुट्टा छुट्टै भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment