Comments Add Comment

ट्रम्पलाई हार स्वीकार्न आफ्नै सहयोगीको आग्रह

८ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगीले नै उनलाई नोभेम्बर ३ मा भएको निर्वाचनमा आफ्नो हार स्वीकार गर्न आग्रह गरेका छन् ।

न्यु जर्सी राज्यका पूर्व गभर्नर क्रिस क्रिस्टेले ट्रम्पको कानुनी टोलीलाई राष्ट्रिय लज्जाको विषय भएको बताएका हुन् ।

यद्यपि ट्रम्पले भने निरन्तर यो निर्वाचनमा आफ्नो हार अस्वीकार गर्दै आएका छन् । उनले यो निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन् ।

रिपब्लिकन पार्टीका धेरैले ट्रम्पको दाबीको समर्थन गरेका छन् । यद्यपि पछिल्लो समय उनलाई हार स्वीकार्न दबाब दिनेको संख्या पार्टीभित्रै बढ्दो क्रममा देखिएको छ ।

शनिबार पेन्सिल्भानियाको अदालतले ट्रम्पको चुनावी अभियान टोलीको मुद्दा खारेज गरेको थियो । ट्रम्पको टोलीले लगाएको मुद्दा अयोग्य र आरोपहरु काल्पनिक रहेको अदालतको ठहर थियो ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडन विजयी भइसकेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, केही राज्यमा ट्रम्पको टोलीले निर्वाचनमा धाँधली भएको भन्दै मुद्दा दायर गरेकाले आधिकारिक घोषणा हुन बाँकी छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment