+
+
Shares

पाँच महिना लगाएर फोडियो घर्तीभीर, खुल्यो दिक्तेल–गाईघाट छोटो मोटरबाटो

दमन राई दमन राई
२०८३ असार १४ गते ७:१६
दिक्तेल–रेग्मीटार सडक खण्डमा पर्ने घर्तीभीर । तस्वीर : दमन राई/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित चर्चित घर्ती पहरा फुटाएर सडक निर्माण गरिएको छ ।
  • पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले उक्त सडक खण्डको औपचारिक उद्घाटन गर्नुभएको छ ।
  • यो सडक निर्माण भएसँगै दिक्तेलबाट उदयपुरको गाईघाट आवतजावत गर्ने छोटो दुरीको बाटो खुलेको छ ।

१४ असार, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित चर्चित घर्ती पहरा (महभीर) फोडेर सडक निर्माण गरिएको छ । आहाले–रेग्मीटार सडक खण्डको साप्सु खोला किनारमा रहेको घर्ती पहरा फोडेर सडक बनाइएको हो ।

निर्माण कम्पनी कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले करिब पाँच महिना लगाएर असार ११ गते चट्टान काटेर घर्तीभीरमा सडक छिचोलेको हो । पहिले गोरेटो बाटोमात्र रहेकोमा मोटर गुड्न मिल्ने बनाउन गत माघ २८ गतेदेखि पहराको चटटन काट्न सुरु गरिएको थियो ।

पहरोबाट सडक छिचोलिएपछि असार १३ गते कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक उद्घाटन गरेका छन् ।

भौतिक पुर्वाधार विकास कार्यालय खोटाङमार्फत प्राप्त १ करोड ७ लाख ७८ हजारमा सडक स्तरोन्नतीको काम सक्नेगरी २०८२ माघ ११ गते ठेक्का सम्झौता गरिएको थियो । आयोजनाको म्याद भने गत जेठ ३१ गते नै सकिएको छ । तर म्याद थपिने विश्वासमा ठेकेदारले काम पनि जारी राखेको छ ।

पहिले गोरेटो बाटो मात्र थियो

घर्तीभीर काटेर सडक बनाइएपछि दिक्तेलबाट उदयपुरको गाईघाट आउ–जाउ गर्ने छोटो दुरीको बाटो खुलेको छ ।

सुरुमा दिक्तेलबाट महुरे–बुईपा–राजापानी–रेग्मीटार–फोक्सिङटार सडक हुँदै गाईघाट जाने–आउने गरिएको थियो ।

त्यसको विकल्पमा दिक्तेलबाट आहाले–राजापानी हुँदै रेग्मीटार पुगेर गाईघाट आउ–जाउ गरिन्थ्यो ।

घर्तीपहरा काटेर त्योभन्दा सिधा र छोटो सडक खोलिएको हो ।

महभीर पनि भनेर चिनिने घर्तीभीरमा चट्टान काटेर मुस्किलले हिँड्न मिल्ने गोरेटो बाटो मात्र सञ्चालनमा थियो ।

अपरेटर र निर्माण व्यवसायीलाई सम्मान

सडक बन्नुअघि ढाकर टेकुवा बोकेर पैदलयात्रा गर्दाताका सोही भीर पार गरेर तराई जानेआउने गरिएको थियो । सो भीरबाट कैयौंले लडेर ज्यान गुमाएका थिए । कैयौं खच्चडहरु साप्सु खोलामा खसेर मरेको किस्सा सुन्न पाइन्छ ।

जोखिम मोलेर घर्ती पहरा काट्ने अपरेटरद्वय सिन्धुलीका प्रकाश लामा र हेटौँडाका प्रकाश पाख्रिन तथा निर्माण व्यवसायी अर्जुन बराललाई पूर्वाधार विकास कार्यालयले सम्मान गरेको छ ।

घर्तीभीर काटेर बनाइएको सडक । तस्वीर : दमन राई/अनलाइनखबर
घर्तीभीरमा बनेको सडक पार गर्दै पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई सवार गाडी । तस्वीर : दमन राई/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?