+
+
Shares

टिकटकमा भाइरल बन्दै रमेश–कल्पनाको जोडी

रमेश भन्छन्ः हामी असल साथी मात्र

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ८ गते १२:१०

दुई महिनाअगाडि इन्द्रेणीमा रमेश प्रसाई र कल्पना दाहालबीच चलेको रमाइलो दोहोरीले निकै बजार पिट्यो । धेरै दिनसम्म यूट्यूवको नम्बर एक ट्रेन्डिङमा परेको उक्त दोहोरीको भिडियोले हालसम्म ६० लाखभन्दा बढि भ्यूज प्राप्त गरिसकेको छ ।

इन्द्रेणीमा जमेको रमेश–कल्पनाको जोडी अहिले टिकटकसम्म आइपुगेको छ । कल्पनाले रमेशसँग बनाएर हालेका प्रत्येक टिकटक भिडियो भाइरल भइरहेका छन् । एउटै भिडियाले झण्डै पाँच लाख लाइक्स र करिब ६ हजार कमेन्ट प्राप्त गर्नुले पनि यो जोडीलाई दर्शकले रुचाएको बुझ्न सकिन्छ ।

इन्द्रेणीमा दोहोरी गाउँदा रमेश र कल्पना दुवैले एक–अर्काप्रति अघोर प्रेम दर्शाएका थिए । दोहोरीमा बनाएका टुक्काहरुको वास्तविक जीवनसँग सरोकार हुन्न । तर, यसैलाई लिएर धेरैले उनीहरुलाई वास्तविक जीवनमै जोडी बाँधेको हेर्न चाहे । अहिले टिकटकमा आएका भिडियोहरुले गर्दा उनीहरु साँच्चै प्रेममा परेका त छैनन् भन्ने अनुमान गर्न थालिएको छ । कतिपयले चाहिँ रमेशसँग निकटता देखाएर कल्पनाले भाइरल बन्न मात्र खोजेको आरोप पनि लगाइरहेका छन् ।

रमेश र कल्पना भने आफूहरु अहिलेसम्म असल साथी मात्र भएको बताउँछन् ।‘हामीबीच त्यस्तो केही छैन,’ रमेशले अनलाइनखबरसँग भने, ‘मैले उनलाई एउटा राम्रो साथीको रुपमा हेरेको छु ।’ टिकटकमा आएका भिडियोहरु कुनै पनि योजनाबद्ध नभएको उनले बताए ।

‘कल्पना अलि केटाकेटी पाराकी पनि छिन्, सँगै गफ गरेर बसिरहेको बेला कतिबेला टिकटक बनाउन भ्याइसकेकी हुन्छिन् । कहिले त म थाहै पाउँदिन टिकटक बनाएको । मलाई वास्तवमा यस्तोमा रुची छैन, साथीको मन राख्नका लागि गरेको हो,’ उनले भने ।

धेरैले कल्पना र तपाईंको वास्तविक जीवनमै सम्वन्ध गाँसिएको हेर्न चाहेका छन् नि भन्ने प्रश्नमा उनले त्यसलाई आफूहरुप्रतिको सद्भावका रुपमा ग्रहण गरेको बताए ।

‘जन्म, मृत्यू र विवाह कहिल्यै पनि योजनावद्ध हुँदैनन्,’ उनी भन्छन्, ‘हाम्रो विवाहको कुरा अहिलेका लागि काल्पनिक विषय मात्र हो । कल्पना एक स्टार हुन्, म एउटा सादा सर्वहारा जीवन बाँचिरहेको मान्छे । उनको स्टारडम धान्न सक्ने मेरो लेभल छैन ।’

कल्पनासँगको भिडियोमा आएका कमेन्टहरुलाई भने अन्यथा नलिएको रमेशले बताए । साथै, टिकटकमा भिडियो हिट हुनुलाई नै धेरै ठूलो कुरा मान्नु नहुने उनको भनाइ छ ।

उनले उदाहरण दिँदै भने, ‘जस्तो दिलिप रायमाझीले नाचेको भिडियो आयो भने त्यो धेरैका लागि नौलो हुँदैन र त्यसले ठूलो चर्चा पनि पाउँदैन । तर, बाबुराम भट्टराई वा वामदेव गौतमले नाचे भने त्यसको अवश्य चर्चा हुन्छ । म पनि फरक क्षेत्रको व्यक्ति भएकाले टिकटकमा देखिँदा धेरैलाई रोचक लागेको होला ।’

इन्द्रेणीमा भएको दोहोरी भिडन्तअघि कल्पना र रमेशको भेट भएको थिएन । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले उनीहरुबीच दोहोरीको तारतम्य मिलाएका थिए । सौखिन गायक रमेशले कल्पनासँग उनले निकै रमाएर दोहोरी खेले । अहिले उनी स्वयम् कल्पनाको गायिकीको प्रशंसक बनेका छन् ।

‘काठे लोकभाकामा उनीजत्तिको शशक्त गायिका मैले अर्को भेटेको छैन,’ उनले भने, ‘उनी प्रतिभा र आत्मविश्वासले भरिएकी छन् । साथै, उनको हृदय पनि स्वच्छ एवं निश्चल छ ।’

रमेश थप्छन्, ‘कल्पनाको प्रतिभालाई म उच्च सम्मान गर्छु । त्यसो भनेर उनीसँग मैले विहे नै गर्नुपर्छ भन्ने हुँदैन । मान्छेहरुले चाहेका हुन सक्छन् । तर, मान्छेले चाहेका सबै जोडी त बन्दैनन् नि । जस्तो कि बलिउड फिल्म हेर्नेहरुले शाहरुख खान र काजोलको जोडी चाहेका थिएन होलान् । तर, त्यो वास्तविकतामा सम्भव थिएन ।

कल्पना र मेरो सन्दर्भमा पनि अरुले चाहनेभन्दा हामीले चाहनुपर्यो । म भन्छु, यस्ता कुरालाई भविष्यको गर्भमा छाडिदिनुपर्छ । हामीले भाग्यको दिशा बदल्न सक्दैनौं । म पनि दोहोरी गायक भएको भए तारतम्य पनि अलिक राम्रैसित मिल्थ्यो होला । तर, म यो क्षेत्रको होइन, फगत आनन्दका लागि गाएको हुँ । एक हिसाबले म कलाकारिताको पर्यटक मात्र हुँ । यद्यपि, भविष्यमा कुनै बेला हाम्रो हित्तचित्त मिल्यो भने (विवाह) एकदम असम्भव भन्ने पनि छैन । तर, आजसम्म चाहिँ त्यो अवस्था होइन । उहाँजस्तो स्टारसँग मेरो सर्वहारा जीवनको तारतम्य मिलाउन कठिन हुन्छ जस्तो लाग्छ ।’

कल्पना भन्छिन्ः अरुको चासोको कुरा होइन
रमेशसितको सम्वन्धका विषयमा कल्पना भने खुल्न चाहिनन् । उनले आफूहरुको सम्वन्ध अरुको चासोको कुरा नभएको बताइन् । ‘मैले टिकटक रमाइलोका लागि बनाएको हुँ, जोसँग पनि बनाउँछु,’ उनले भनिन्, ‘टिकटक बनाँदैमा विभिन्न टिकाटिप्पणी गर्नु आवश्यक छैन । यो विषयमा म धेरै बोल्न चाहन्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?