Comments Add Comment

स्वाब हराएको मान्छे !

म बिहानमा फुटसल खेल्छु । फुटसल खेलिसकेपछि रूम फर्किन टाढा पर्ने हुनाले त्यतैबाट अफिस लाग्छु । सदाझैँ असोज २८ गते बिहान फुटसल खेल्न गए । फुटसल खेलिसकेपछि चिया पनि नखाई सिधै अफिस गएँ ।

हामीले कोरोनाकालमा अगाडि रहेर काम गर्नेहरुको कथा ‘फ्रन्टलाइन हिरोज’ को तयारी गरिरहेका थियौँ । अघिल्लो दिन नसकिएको कामलाई सक्नु थियो । अघिल्लो दिन हामीले वीर हस्पिटलका वरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरेको स्टोरी अपुरो छोडेका थियौं । बाँकी स्टोरीका लागि सहकर्मी सागर, आर्यन र म वीर अस्पताल गयौँ ।

केही दिनअघि हामीसँग सम्पर्कमा रहेका एक साथीलाई संक्रमण पुष्टि भएछ । उनीसँग भेट भएको ३/४ दिन भइसकेकाले मैले पनि तत्काल परीक्षण गराउन उपयुक्त ठानेँ ।

काठमाडौं महानगरपालिकाले रत्न राज्य स्कुलमा स्वाब संकलन गर्दै गरेको अफिसबाट थाहा पाएँ ।  मसहित अफिसका ४ जनाले त्यहीँ गएर स्वाब दियौं । त्यसपछि घर गएर बसेँ र रिपोर्टको प्रतीक्षा गर्न थालेँ ।

त्यसपछि ब्यक्तिगत सावधानीका कुराहरु अलि बढी अपनाउँदै थिएँ । जतिजति नतिजाको समय नजिकिन्थ्यो, त्यति त्यति डर बढ्दै थियो । स्वाब दिएपछि एक जना साथी अफिसमा तनावले छट्पटिरहनुभएको थियो । म चाहिँ एक्लै बस्ने र रिपोर्टिङमा कोरोनाबारे पर्याप्त जानकारी लिएको हुँदा हलुकै थिएँ ।

बिहीबार स्वाब दिएका साथीहरुको रिपोर्ट शुक्रबार बेलुकै आयो । कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जनाले स्वाब दिएका थियौं, २ जनाको रिपोर्ट पोजेटिभ आयो । एकजना नेगेटिभ । मेरो भने रिपोर्ट आएन ।

स्वाब दिएको ७२ घण्टा शनिबारसम्म पुग्ने भएकाले भोलिसम्म आउँछ होला भनेर सुतें । संगै स्वाब दिएका साथीहरुको रिपोर्ट पोजेटिभ आएपछि मलाई डर बढेको थियो । राति निद्रा राम्रो परेन । मनमा अनेक कुरा खेले ।

फ्रन्टलाइन हिरोज श्रृंखलाको रिपोर्टिङका लागि अस्पताल जाँदा आइसोलेसनमा भिडियो खिच्न छिरेको थिएँ । संक्रमित राखिएको आईसीयू र भेण्टिलेटर भएको कोठामा गएर संक्रमितहरुको छटपटी र सकस क्यामेरामा कैद गरेको थिएँ । त्यतिबेला सहकर्मी सागर बुढाथोकी पनि सँगै भएकाले डर लागेको थिएन। उनको आत्मविश्वासले गर्दा मलाई पनि आईसीयू र भेण्टिलेटर वार्ड छिर्न हिम्मत बढेको थियो ।

तर, त्यो रात विगतमा गलत गरेछु कि भन्ने किसिमका भावनाहरु आए । मनमा कुरा खेलेपछि निद्रा पनि हरायो । छटपटीमै उज्यालो भयो ।

शनिबार बिहानैदेखि एसएमएसको प्रतीक्षा सुरु भयो । तर, साँझ परिसक्दा पनि रिपोर्ट आएन । एसएमएस र फोन आउँदा ल्याबबाट हो कि भन्ने आभास भएर हतारिँदै हेर्थें । तर, त्यस्तो भएन । साँझ परेपछि अफिसका साथीहरुले रिपोर्ट के आयो भनेर कल गर्नुभयो । मैले साँझसम्म रिपोर्ट नआएको जानकारी दिएँ ।

भोलिपल्ट टेकुस्थित प्रयोगशालामै गएर रिपोर्ट लिने मनस्थिति बनाएँ र सुतें । शनिबार बेलुकाको रात पनि छटपटीमै बित्यो ।

आइतबार बिहान उठ्नेबित्तिकै एसएमएस आयो कि भनेर मोवाइल हेरें । आएको रहेनछ ।

स्वाब दिएर होम क्वारेन्टिनमा बसेको ३ दिन भइसकेको थियो । ३ दिनसम्म रिपोर्ट नआएपछि क्वारेन्टिनमा बस्न मन नै लागेन । खाना खाएर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगें र रिपोर्ट लिन लाइनमा बसें । चार जनापछि मेरो पालो आयो । मैले मेरो नाम र फोन नम्वर टिपाएँ । भित्रबाट ‘तपाईको दर्ता भाको छैन’ भन्यो ।

‘रत्नराज्यमा बुधबार स्वाब लिएको कसरी पत्ता लगाउन सकिन्छ ?’ भनेर मैले सोधें । प्रयोगशालाका कर्मचारीले ‘दर्ता नम्बर छ भने रिपोर्ट प्राप्त सकिने’ जानकारी दिनुभयो । त्यसपछि मैले म सँगै स्वाब दिएका अफिसकै साथीलाई फोन गरेर दर्ता नम्बर मागेर त्यहाँ दिएँ । तर, त्यहाँ त्यो दर्ता नम्बरका अगाडि र पछाडिको नम्बरमा अरुकै नाम रहेछ ।

ल्याबमा त्यस्तो भएपछि अब अन्तिम उपाय वडा कार्यालय थियो ।

वडा कार्यालयमा घटनाबारे बताउँदा त्यस्तो त हुन नपर्ने भन्नुभयो । ठोस समाधान केही आएन । न त पुन: परीक्षणको कुरा नै आयो । रिपोर्ट पोजेटिभ नेगेटिभ जे आए पनि स्वीकार्नै थियो । तर, रिपोर्ट नआएको कसरी स्वीकार्नु ?

त्यसपछि भने मलाई आफैँसँग डर लाग्यो । सँगै स्वाब दिएका साथीहरु संक्रमित भएर आइसोलेसनमा बसिसक्दा म अन्योलमा परिरहेको थिएँ । मलाई सरकारी लापरवाहीले हैरान बनाएको थियो । शरीरमा भाइरस बोकेर हिँडेको छु कि भन्ने त्रासले तर्सन्थें ।

रिपोर्ट नआएको ६ दिन भइसकेको थियो । कुनै लक्षण नदेखिएकाले काममा पनि आउन थालेँ । खै के मुडमा हो, बेलुका घर गएर फेसबुकमा ‘डे सिक्स’ लेखेर पोस्ट गरें । सायद कुनै युगमा पुग्दा यो युगको प्रमाण हुन्छ सोंचेको थिएँ कि ? पोस्टको कमेन्टमा साथीहरुले आ-आफ्नै अन्दाज लगाइरहेका थिए । कसैले टेक केयर, गेटवेल सुन भनिरहेका थिए, कसैले दशैंको कुरा गरिरहेका थिए । कसैले बिहेको लखसम्म काट्न भ्याए ।

कोरोनाको चिन्तामा रूमलिएको मलाई सहानुभूति स्वरुप कमेन्ट आइरहेका थिए । तिनै प्रतिक्रियामा रमाउँदै हाहा रिएक्ट गर्दै म पनि रमाइरहेको थिएँ ।

अर्को दिन पनि म्यासेज आउँछ कि भनेर आश लागिरह्यो । तर, आएन । थोरै आश भए पनि म लगभग अब म्यासेज आउँदैन भन्ने निष्कर्षमा पुगिसकेको थिएँ ।

एघारौं दिन सपनामा रिपोर्ट नेगेटिभ आएको देखें । पहिलो दिन नेगेटिभ आएको म्यासेज देखें, दोस्रो दिन नेगेटिभ र पोजेटिभ दुवै आएको देखें । विपनामा नआएको रिपोर्टले मलाई सपनामा भने निरन्तर पछ्याइरह्य्यो ।

धेरै साथीहरुले दोस्रो पटक स्वाब दिन सुझाव दिएका थिए । २ हजार खर्च गरेर स्वाब दिन पनि धेरै गाह्रो थिएन । तर, संक्रमितसँग सम्पर्कमा आएको १२ दिन नाघिसक्दा पनि लक्षण नदेखिएकाले परीक्षण गर्नुको औचित्य थिएन । किनकी, १२ दिनपछि त मेरो शरीरमा भाइरस छिरेको भए पनि निष्क्रिय भइसक्थ्यो । मलाई त १२ दिनअघि दिएको स्वाबको नतिजा थाहा पाउनु थियो । त्यसको रिपोर्ट नआएपछि स्वाब दिने रहर नै मर्‍यो । संक्रमणको लक्षण देखिएको भएको फेरि स्वाब दिन्थेँ होला ।

गाउँ नगएको पनि एक वर्ष भइसक्यो । पीसीआरको रिपोर्ट नआएकाले यसपालिको दसैंमा गाउँ जाने मनस्थिति पनि बनाइनँ । जाँदा पनि सार्वजनिक बसमा जानुपर्ने झन्झट थियो । बसमा जाँदा आफूलाई नभएको अवस्था भए पनि अरुबाट सर्ने सम्भावना उत्तिकै थियो । यहाँ पो एक्लै बस्छु, जसो तसो गरेर पनि चल्छ । म यत्तिकै घर जाँदा बूढा भएका बुबा मम्मी लगायत सिङ्गो गाउँलाई नै केही होला कि भन्ने डर थियो ।

फोनमा बुबामम्मीसँग कुरा गरेर यसपालि दसैंमा आउन नसक्ने भनेर आफ्नो अवस्था सुनाएँ । बुवा ममीले ‘अरु सबैजना पीसीआर नगरी आको छन् तँ पनि आइज’ भन्नुभयो । यहाँको अवस्था र सम्भावित दुर्घटनाको कुरा सुनाएपछि घरमा कुरा बुझ्नुभयो । भोलिपल्ट नै गाउँबाट कुखुराको भाले पठाइदिनुभयो ।

थलीमा बसेकी बहिनीले ‘दाइ दसैंमा यतै आउनु’ भनेकी थिई, उसलाई पनि कोरोनाको समस्याले गर्दा आउँदिनँ भनें । ‘दाइलाई कोरोना लागेको हो र ?’ बहिनीले सोधी । मैले रिपोर्ट हराएको जानकारी दिएँ ।

बहिनीले ‘दाइ बढी नै डराउनु भाको हो कि के हो ? म सधैं सार्वजनिक बसमा अफिस आउजाउ गर्छु, कति धेरै मान्छेको बीचमा काम गर्नुपर्छ, खै मलाई त केही भएको छैन नडराई आउनु’ भनिन् । मैले केही बहाना बनाएर नआउने बताएँ ।

शंका नै नहुनु र कन्ट्याक्ट ट्रेसिङमा पर्नु फरक कुरा थियो । संगै स्वाब दिएका सहकर्मीलाई कोरोना देखिएको अवस्थामा मेरो रिपोर्ट हराउनु एकदमै डरलाग्दो कुरा थियो । यसले जस्तोसुकै स्थिति पनि निम्त्याउन सक्थ्यो । त्यसैले यसपालि मन बुझाएको थिएँ ।

दसैंमा बुबाममीले फोनबाटै आशिर्वाद दिनुभयो । यसपालि दसैं मान्न नगएकाले दसैँको दिनमा पनि अफिस आएँ । आइसोलेसनमा रहेका साथीहरु कात्तिक १२ गते दोस्रो रिपोर्ट नेगेटिभ आएपछि बाहिर निस्किए । मैले यतिन्जेल मलाई कोरोना पोजेटिभ भए पनि अब त हरायो होला भन्ने सोंचे । यति संवेदनशील भनिएको रोगमा ‘खै त्यस्तो त नहुनुपर्ने हो’ भन्ने जवाफ बाहेक राज्यको निकायबाट अरु केही जवाफ पाइनँ । यसबाट मलाई महामारीको भविष्य धेरैथोर आकलन भइसकेको छ । कहिलेकाहीँ डर पनि लाग्छ ।

अहिले स्वाब दिएको पनि २ महिना पुग्न लाग्यो । दसैं तिहार र छठ सबै चाडवाड गए । तर, रिपोर्ट अझै आएको छैन । अझ पनि रिपोर्ट आउँछ कि / मैले देखिनँ कि भन्ने आशमा कहिलेकाहीँ म्यासेज बक्स हेर्छु । मोबाइलमा म्यासेजको टोन बज्दा कोरोनाको रिपोर्ट पो आयो कि भनेर हतार-हतार हेर्छु ।

(लेखक अनलाइनखबरका फोटो पत्रकार हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment