Comments Add Comment

यसरी कहाँ पुगिन्छ कमरेड ?

केही साधारण प्रश्नहरु जुन हरेक पुस्ताले गरेको छ, जसको उत्तर सहजै कसैले दिन सक्ला । जस्तो कि- सबै सम्भावना विद्यमान रहँदा पनि आखिर नेपाल किन बन्दैन ? नेपाली राज्यसँग के त्यस्ता समस्याहरु छन्, जसका कारण क्रान्तिकारी राजनीतिक परिवर्तनपश्चात पनि नेपाली समाजको यथोचित परिवर्तन हुँदैन ? नेपालीको दैनानदिन जीवनमा खासै परिवर्तन हुँदैन ? राजनीति रत्तिभर पनि समय सापेक्ष हुँदैन र राजनीतिक नेतृत्व परिवर्तनको निकटसम्म पनि पुग्दैन ?

अन्तर्राष्ट्रिय आर्थिक अनुदान र सहयोगका बाबजुद पनि किन केहि गरिब राष्ट्रहरु सधैं गरिब नै रहिरहन्छन् भन्ने विषयमा अक्सफोर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक पाउल कोलियरले सन् २००७ मा “दि बटम बिलियन” भन्ने बहुचर्चित पुस्तक लेखे । विशेषतः अफ्रिकी मुलुकहरुको अध्ययन गरेका कोलियरको समाधानका सुत्रहरुसँग बिमत्ति रहला, तर उनले उदाटन गरेका गरिब देशका समस्याहरु नेपालको सन्दर्भमा पनि उत्तिकै मेल खान्छन् ।

कोलियर लेख्छन्, गरिब देसहरुका केहि यस्ता समस्याहरु हुन्छन् जसका कारण ती देशहरु सधैं गरिब नै रहिरहन्छन् या भनौं आर्थिक, सामाजिक र राजनीतिक रुपमा सधैं पछौटेमै गणना भइरहन्छन् ।

एक, प्राकृतिक स्रोत-साधनले भरिपूर्ण तर, त्यही स्रोतसाधनमाथि गिद्दे नजर राख्ने स्वार्थी राजनीतिक नेतृत्व । दुई, भौगोलिकरुपमा रहेको भुपरिवेष्ठित अवस्था । तीन, बेइमान छिमेकी र चार, सधैंको आन्तरिक द्वन्द्व।

बाँकी अगाडिका तीन कारणहरुलाई अहिलेलाई छोडेर यस आलेखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी आन्तरिक द्वन्द्व र पछिल्लो राजनीतिक उपलब्धिहरुप्रति त्यसले गरेको अवमूल्यनको चर्चा गरिने छ ।

आन्तरिक द्वन्द्वका अनेकन रुप र आयामहरु हुन्छन् । त्यसैले नेकपाको जारी द्वन्द्व राम्रोका लागि होला या नराम्रोका लागि, त्यो त भविश्यले बताउने छ । किनकि, धेरैजसो राजनीतिक घटनाहरुको असर तत्कालिकभन्दा पनि दुरगामी बढी हुने गर्छ । जसरी, तत्कालिन चुनावी रणनीतिमा आधारित नेकपा (एमाले) र माओवादी (केन्द्र) बीचको पार्टी एकताको दुरगामी असर अहिले छताछुल्ल भएको छ ।

यतिबेला राष्ट्रिय राजनीति नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलहले संक्रमित भएको छ । पार्टी एकताको संक्रमणबाट गुजि्ररहेको नेकपा राजनीतिक विचार र कार्यक्रमभन्दा पनि नेताहरुको आन्तरिक झुण्ड (गुटको राजनीतिक धार हुन्छ), व्यक्तिगत स्वार्थ र द्वेषबाट अझ बढी संक्रमित हुन पुगेको छ । यो संक्रमणले कसलाई फाइदा या घाटा गर्छ, त्यो भन्न सकिने अवस्था छैन । तर, विगत सात-दशक लामो राजनीतिक एवं सामाजिक आन्दोलनहरुले स्थापित गरेको राजनीतिक र सामाजिक उपलब्धिहरुलाई भने निशन्देहः घाटा गर्ने छ ।

इतिहासमा सर्वविदितै छ, कम्युनिस्ट पार्टीहरु अन्य बाहृय शक्तिका कारणभन्दा पनि आपसी शंका, षड्यन्त्र, आरोप-प्रत्यारोप र खिचातानीका कारण कैयौंपटक विघटनसम्म भएका छन् । त्यसैले त यिनैका गुरु महान दार्शनिक कार्ल मार्क्सले भनेका होलान्, सम्पूर्ण समस्याका आन्तरिक कारणहरु प्रमुख र बाहृय कारणहरु सहायक मात्र हुन्छन् । मार्क्सवादी दर्शनले आलोचनाको संरक्षण र प्रवर्द्धन गर्छ । पक्ष र विपक्षको वैचारिक घर्षणबाट सर्वपक्षको परिकल्पना गर्छ ।

तर, आजको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक संस्कारलाई हेर्ने हो भने यो पार्टीमा अहिले आलोचना र फरक मतलाई कुनै स्थान छैन । विचार, कार्यक्रम र कम्युनिस्ट मूल्य मान्यताका आधारमा स्थापित आन्तरपार्टी संघर्षजस्तो कम्युनिस्ट पार्टीभित्र हुने उच्च लोकतान्त्रिक अभ्यास अहिले नेपाल कम्युनिस्ट पार्टी -नेकपा) का नेता र झुण्डविशेषको अंहकार र घमण्डले अर्थहीन बनाइदिएको छ ।

अध्यक्ष प्रचण्ड र कमरेडहरु बडो विधि, विधान र विचारको कुरा गरिरहेछन् । तर, यथार्थमा उनीहरुको खास मुद्दा पनि मन्त्रिपरिषदको हेरफेर, राजनीतिक नियुक्त्ति र आफ्ना निकटहरुको व्यवस्थापनमै गएर सकिन्छ

२०७५ जेठबाट एकताको यात्रा सुरुगरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) साढे २ वर्ष पार गर्न नपाउँदै पुनः पार्टी विभाजनको रस्साकस्सीमा रुमल्लिएको छ । पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड एकार्काको तेजोबोध गर्न सम्पूर्ण शक्ति खर्चेर मैदानमा उत्रिएका छन् । यसको पछिल्लो घटनाका रुपमा दुई अध्यक्षवीच भएको पत्रयुद्ध र अर्का अध्यक्ष प्रचण्डले एकताको मर्म विपरीत गएको सचिवालय बैठकमा प्रस्तुत गरेको र केन्ऽीय कमिटीको जानकारीबिना नै त्यसलाई बहस र छलफलका लागि तल्ला कमिटीहरुसम्म सम्प्रेषण गरेको राजनीतिक प्रतिवेदनलाई लिन सकिन्छ ।

यस्तो लाग्छ, पार्टी अध्यक्ष प्रचण्ड र कमरेडहरु बडो विधि, विधान र विचारको कुरा गरिरहेछन् । तर, यथार्थमा उनीहरुको खास मुद्दा पनि मन्त्रिपरिषदको हेरफेर, राजनीतिक नियुक्त्ति र आफ्ना निकटहरुको व्यवस्थापनमै गएर सकिन्छ । जसोतसो सचिवालय बैठक त बस्छ तर, बैठकमा जटिल राष्ट्रिय विषयहरुमा छलफल हुँदैन ।
कोभिड १९ ले आक्रान्त जनताको कष्टकर जीवनसँग जोडिएका विषयहरुमा सरकारको ध्यानाकर्षण समेत गराइँदैन । यतिका धेरै महिला र बालबालिकाहरु बलात्कृत भएका छन् । तिनका न्यायका सवालमा कुनै प्रश्न उठाइँदैन र एउटा खेद प्रस्तावसमेत पारित गर्ने आँट गरिँदैन ।

कोभिड- १९ का कारण भएको लामो समयसम्मको बन्दाबन्दि र आर्थिक क्रियाकलापमा यसले पारेको अपत्यारिलो असरका कारण रोजगारी गुमाएका र हातमुख जोर्नसमेत असमर्थ भोकाहरुको राहतका विषयमा कुनै बहस र छलफल गरिँदैन । फगत आफ्ना वर्तमान र भविष्यप्रतिको चिन्ता र चासोलाई विधि र विधानको पगरी थोपरेर अस्थिरताको प्रपञ्चको श्रृखंला रचिन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले एकताको संक्रमणकालीन अवस्थाबाट गुजि्ररहेको छ । संक्रमणकाल आफैंमा एउटा गम्भीर अवस्था हो । अन्य अवस्थाभन्दा संक्रमणकालीन अवस्था आफैंमा तरल र कमजोर हुने गर्छ । यस्तो अवस्थामा पार्टी र देशको हितका खातिर व्यक्तिगत र समुहगत स्वार्थभन्दा माथि उठेर जसरी पार्टी सञ्चालन गर्नुपर्ने हो, त्यो कुनै पक्षबाट भएको छैन ।

स्मरण रहोस्, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड र कमरेडहरु अनि ओली र ओलीवादीहरुको मात्र कदापि हैन । र, नेतृत्व एउटा कुरा होला, कुनै व्यक्तिविशेषको मायावी चमत्कारले यो आजको अवस्थासम्म आइपुगेको हैन । हालकै अवस्थामा पनि ८ लाखभन्दा बढी संगठित कार्यकर्ता यो पार्टीमा छन् र तिनीहरुका रगत, पसिना र मिहेनतले बनेको हो यो पार्टी ।

तत्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र) बीचको पार्टी एकताका प्रमुख पात्रमध्ये एक थिए हालका प्रधानमन्त्री तथा तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । नेपथ्यमा जति घनिभुत बहस र छलफल भए पनि धेरैका लागि नेकपा (एमाले) र माओवादी (केन्द्र) बीचको उक्त पार्टी एकता अप्रत्यासित र अपत्यारिलो थियो । बामपन्थी राजनीतिमा विश्वास गर्नेहरुका लागि यो एउटा अभूतपूर्व घटना थियो । गैरबामपन्थी राजनीतिमा विश्वास गर्नेहरुका लागि भने यो सहज सत्य थिएन । उनीहरुको मत थियो, नेकपा (एमाले) र माओवादी (केन्द्र) बीचको एकता राजनीतिकभन्दा बढी रणनीतिक थियो । सिद्धान्तको भन्दा बढी स्वार्थको थियो । सम्भवतः अहिले आएर त्यही कुरा प्रमाणित भएको छ, जुन गैरबामपन्थीहरुले स्वीकार्न चाहेका थिएनन् ।

जारी नेकपाको आन्तरिक कलहले तत्कालीन गैरबामपन्थहरुको विश्वासलाई मुखरित गरिदिएको छ । र, पार्टी एकताको धेरै काम बाँकी रहँदै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल र ओली गरी दुई चिरामा विभक्त भएको छ ।

सोचनीय के कुरा छ भने प्रचण्ड र कमरेडहरुले भनेझैं नेपाल कम्युनिस्ट पार्टीमा त्यति ठूलो समस्या पनि छैन र, ओली र ओलीवादीहरुले भनेझैं समस्या पटक्कै नरहेको पनि हैन ।

आजको नेकपाको आन्तरिक द्वन्द्वको कारण संस्थागतभन्दा बढी व्यक्तिगत छ । व्यक्तिगत प्रवृत्तिको छ । जानेर भन्दा पनि बढी नजानेर भएको छ । सर्वहारा वर्गको राजनीति गर्ने कम्युनिस्ट पार्टीभित्र मौलाएको व्यक्तिवाद र सांगठानिक रुपमा सिर्जना गरिएको ‘हाईरार्की’ को छ । लोकतन्त्रको भाका हालिरहँदा, लोकतन्त्रमा अत्यावश्यक शक्ति बाँडफाँडको छ । अझ, प्रष्टसँग भन्ने हो भने सरकार र पार्टीको सम्बन्ध र व्यवहारबीचको फरक बुझाइको छ ।

पार्टीभित्र विकसित भएको फरक मत र आलोचनालाई देखी नसहने बुर्जुवा शासकीय चरित्रको छ । साँचो अर्थमा भन्ने हो भने कुनै पनि स्वस्थ आलोचनामा सम्भावित उत्कृष्टता निहीतार्थ हुन्छ ।

आलोचना नै त्यस्तो मानवीय आवश्यकता हो, जसले सुदुर भविश्यको यात्रालाई सुरक्षित बनाउँछ । लेनिनकै समयको कुरा गर्ने हो भने पनि, एलेक्जेन्ऽा कोलोन्ताई लेनिन र सरकारको सधैं विरोध गर्थिन् । ट्राट्स्की, बुखारिन र अरुहरु सबैका बीचमा मतभेदहरु थिए । तर, ती मतभेदका बाबजुद पनि सबैले उपयुक्त्त भूमिका पाएका थिए । अझ घतलाग्दो कुरा त के छ भने, लेनिनको सबैभन्दा कटु आलोचक थिए मेन्सेभिक नेता मार्तोव । तर, समयक्रममा थाहा हुन आयो, लेनिन लुकेर मार्तोवलाई व्यक्तिगत पैसासम्म दिन्थे । उनलाई सहयोग गर्थे ।

एउटा जीवन्त राजनीतिक पार्टीमा पार्टीको विधि, विधान र विचारका विषयमा बहस र छलफल हुनु देश, जनता र राजनीतिक पार्टीकै लागि पनि अपरिहार्य हुन्छ। सरकारका कामकारबाहीका विषयमा र जनताका जिविकाका विषयमा वाद, प्रतिवाद र स्वस्थ आलोचना हुनु भनेको लोकतन्त्रकै लागि त्यतिबेलासम्म आवश्यक छ, जतिबेलासम्म त्यो कुनै व्यक्तिगत रिष, राग र अहंकारले निर्देशित हुँदैन ।

तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)बीचको एकता कुनै ऐतिहासिक भूल थिएन । विशेष गरी, यो एकता बामपन्थी राजनीतिमा झुकाव राख्ने सम्पूर्ण नेपालीहरुको उत्कट चाहनाको यथार्थ थियो ।

चुनावी सहकार्यको परिणामले त्यो एकतालाई दुवै तर्फबाट स्वीकारिएको थियो । एकताकै कारण इतिहासमा पहिलो पटक कम्युनिस्ट पार्टीले दुईतिहाई निकट जनमत प्राप्त गर्‍यो । केन्ऽसहित ६ वटा प्रदेशमा सुविधाजनक बहुमतको सरकार बनाउन पनि सफल भयो । तर, आज आन्तरिक कलहकै कारण आफ्नै नाभीको गन्ध खोज्नलाई जंगलभरि दौडने कस्तुरी झैं नेपाल कम्युनिस्ट पार्टी भौंतारिरहेको छ ।

नेपालको इतिहासमा पहिलोपटक संविधानमा साँचो अर्थमा जनपक्षीय राजनीतिक मुद्दाहरु स्थापित भएको अवस्थामा त्यसको कार्यन्वयनको जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी यतिबेला व्यक्तिगत र समुहगत स्वार्थको कलहमा उत्रिनै कठिन हुनेगरि पौडिरहेको छ। स्मरण रहोस्, जर्मनिमा पहिला नाजीहरुको भन्दा कम्युनिस्टहरुको संख्या बढि थियो। कम्युनिस्ट पार्टीहरु आपसी द्वन्द्वमा नफसेका भए नाजीले उनीहरुलाई जित्न सक्दैन थिए । कम्युनिस्टहरुको आपसी विवाद र द्वन्द्वकै कारण नाजी पार्टीले चुनाव जित्यो । नेपालकै सन्दर्भमा पनि हालसालैका दिनहरुमा दक्षिणपन्थी सलबलाहट सुरु भैसकेको छ । लामो संघर्षबाट उपलब्ध राजनीतिक एवं समाजिक मुद्दाहरुको विरुद्दमा विभिन्न घटनाहरु भैरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले हेक्का राखोस्, उसको आन्तरिक कलहका कारण यदि यो व्यवस्था र उपलब्ध राजनीतिक अवस्थामा यताउति भयो भने त्यसको परिणाम उसैले भोग्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment