Comments Add Comment
अन्तरवार्ता :

‘चुनावमा कार्यकर्ताको मूल्यांकन भयो, महाधिवेशनमा नेताको हुन्छ’

'राणा शासन फर्केन, राजतन्त्र पनि फर्कँदैन'

२४ मंसिर, काठमाडौं । ‘पाँच वर्षमा पार्टीभित्र दुईचोटि मूल्याङकन हुन्छ ः एकपटक निर्वाचनमा नेताले कार्यकर्ताहरुको मूल्याङकन गर्छन् । अर्काे मूल्याङकन कार्यकर्ताले महाधिवेशनमा नेताहरुको गर्छन् । यतिबेला हामी सबै नेताहरु कार्यकर्ताको मूल्याङकन पर्खेर बसेका छौं ।’

यो भनाइ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको हो । उनी कांग्रेसको चौधौं महाधिवेशनमा सिंगै टिम लिएर सभापतिमा उठ्ने तयारीमा जुटेका छन् ।

संविधान निर्माणपछिका तीनवटै चुनावमा शेरबहादुर देउवाको नेतृत्वमा लडेको कांग्रेसले जित हात पार्न नसकेपछि देउवाले नेतृत्व छाड्नुपर्ने बहस कांग्रेसभित्र उठेको थियो । तर, आगामी महाधिवेशनमा फेरि देउवाले नै सभापतिको दाबी प्रस्तुत गरिरहेका छन् । देउवाले यसरी नैतिकरुपमा सभापतिको दाबी गर्न सुहाउँछ र ? भन्ने अनलाइनखबरको प्रश्नमा सिटौलाले कूटनीतिक जवाफ दिए ।

आगामी महाधिवेशनले नेताहरुको मूल्यांकन गर्ने सिटौलाले बताए । चुनावका बेला टिकट वितरण आदिमा नेताहरुले कार्यकर्ताहरुको मूल्यांकन गर्ने बताउँदै सिटौलाले त्यसैगरी कार्यकर्ताहरुले महाधिवेशनमा नेताहरुको मूल्यांकन गर्ने बताए ।

अनलाइनखबरसँगको कुराकानीमा सिटौलाले भने, ‘गएको चुनावको मुख्य नेतृत्व शेरबहादुर र रामचन्द्रले गरेका हुन् । अझ खासगरी स्पष्टरुपमा भन्नुपर्दा समानुपातिक उम्मेदवार चयन गर्दा संसदीय बोर्ड बनेको थिएन, उहाँहरुले ६०/४० प्रतिशत बाँडेर गर्नुभएको हो । त्यसको दुर्भाग्यपूर्ण परिणाम हामीले भोगिसकेका छौं, त्यसको चर्चा गर्नु र त्यसलाई कोट्याइरहनु अब फाइदा छैन ।.. अब कार्यकर्ताले नेताको मूल्याङकन कसरी गर्छन्, त्यो त महाधिवेशनमा देखिन्छ ।’

सभापतिमा सिटौलाको दाबी

आगामी फागुनका लागि निर्धारित नेपाली कांग्रेसको महाधिवेशन सर्ने पक्का भएको छ । तर, जेठभित्रै महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बनाउन पार्टीभित्र बहस चलिरहेको छ । महाधिवेशनमा सभापति पदमा उठ्न चाहनेहरुको संख्या भने झण्डै आधा दर्जन पुग्न लागिसकेको छ ।

सभापति पदका दाबेदारमध्ये सिटौला पनि एक हुन् । तर, उनले आफ्नो उम्मेदवारीचाहिँ घोषणा गरिहालेका छैनन् । बरु, उम्मेदवारीको तयारीका लागि सिटौलाले भोलि (बिहीबार) काठमाडौंमा आफ्नो गुटका नेता-कार्यकर्ताको भेला बोलाएका छन् ।

सिटौला यसअघि १३ औं महाधिवेशनमा पनि गगन थापासमेतको सानो टिम बनाएर महाधिवेशनमा सभापति लडेका थिए । तर, यसपटक भने पूरै टीम लिएर मैदानमा उत्रिने उनको तयारी छ ।

कांग्रेसको आगामी महाधिवेशनकै सन्दर्भमा केन्दि्रत रहेर अनलाइनखबरले सिटौलासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ :

कांग्रेसको महाधिवेशन फागुनमै हुन्छ ?

फागुनमा हुँदैन । पहिले बनाएको कार्यतालिकामा फागुनमा गर्ने थियो । त्यसका लागि यो पुस महिनाभित्रमा वडादेखि जिल्ला अधिवेशन सम्पन्न हुनुपर्छ, माघमा प्रदेश महाधिवेशन हुनुपर्छ, जुन कुरा सम्भव छैन । त्यसका लागि भाद्र मसान्तभित्र नै क्रियाशील सदस्यताको सूचि ७७ जिल्लाबाट केन्द्रमा आइपुग्नुपर्ने थियो । अहिलेसम्म एउटा जिल्लाको पनि आएको छैन । कतिपय जिल्लामा त शुरुवात पनि भएको छैन ।

कहिले हुन्छ त महाधिवेशन ?

मैले सभापतिलगायत पदाधिकारीका साथीहरुसँग फागुनको सट्टा जेठ महिनाभित्र महाधिवेशन गर्ने कार्यतालिका बनाउँ र त्यसमा अनिवार्य प्रावधान राखौं र कुनै जिल्लाले क्रियाशील सदस्यताको काम गर्न सकेन भने बरु त्यसले भाग लिँदैन, तर महाधिवेशन हुन्छ भनेको छु । सभापतिजीले आउने कार्यसमितीमा यस विषयमा छलफल गर्ने भन्नुभएको छ ।

पुसको पहिलो साता बस्ने केन्द्रीय कार्यसमितीको बैठकमा हामी परिमार्जित कार्यतालिका बनाउँछौं । आगामी वर्ष नकट्ने गरी जेठ महिनाभित्र १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्छ । अन्यथा, कांग्रेस पार्टी अत्यन्त ठूलो समस्यामा फस्छ भन्ने मलाई लाग्छ ।

धेरै नेताहरुले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, तपाईं अहिलेसम्म चुपचाप हुनुहुन्छ, तपाईंले सघाउने त रामचन्द्र पौडेललाई नै होला नि होइन ?

मेरो आफ्नो बन्छ, हाम्रो टिमको प्रस्तुति हुन्छ । पहिले १३औं महाधिवेशनमा मेरो सभापतिको उम्मेदवारी हठात् थियो, अहिले योजनावद्ध ढंगले नै अगाडी जान्छ । तर, म मेरो टिम कस्तो हुन्छ भन्ने विषयमा विस्तारै बोल्छु ।

पहिले त महाधिवेशन हुने उचित वातावरण तयार पारौं । म महाधिवेशनको प्रतिस्पर्धालाई निष्पक्ष बनाउन चाहान्छु र महाधिवेशनको परिणामपछि पार्टीभित्र एकता गराउन चाहान्छु । त्यो उद्देश्यका साथ अगाडि जानुपर्ने भएकाले म आजको दिनमा महाधिवेशनको निश्चितता नभइकन धेरै कुरा भन्न चाहान्नँ ।

भनेपछि, तपाईं सभापतिमा लडने पक्का हो ?

यहाँभन्दा कति भन्नु पर्‍यो र ? आजको दिनमा यति भन्दा पर्याप्त भएजस्तो लाग्छ । यसपटक हाम्रो टिम पूर्ण हुन्छ । र, चरणवद्ध ढंगले मेरो कार्ययोजना प्रस्तुत हुन्छ । खासगरी ७७ जिल्लाकै क्रियाशील सदस्यता केन्द्रमा आइसकेपछि त्यसमा आधारित मेरो एउटा कार्ययोजना हुन्छ ।

मेरो मूल उद्देश्य महाधिवेशनलाई निष्पक्ष ढंगले सम्पन्न गर्ने र महाधिवेशनपछि पार्टीभित्र सम्पूर्णरुपमा पार्टी एकता कायम गर्ने हो । अहिलेको कम्युनिष्ट पार्टी र यसको सरकारविरुद्ध एक भयानक संघर्ष लिएर जनताको वीचमा पुग्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसैले धेरै कुरा म हतारिएर बोल्न चाहान्नँ ।

शेरबहादुर देउवासँग नजिक रहेका विमलेन्द्र निधिले सभापतिमा उठ्ने बताइरहेका छन्, कोइराला परिवारका तीनैजना सभापतिमा दाबी गरिरहेका छन् । प्रकाशमान र रामचन्द्र पौडेलले पनि सभापतिमा लड्ने बताइरहेको अवस्था छ । सभापतिमा यति धेरै उम्मेदवार होलान् ?

तीनवटा टिम अनिवार्य छन् । झट्ट विश्लेषण गर्दा तीनभन्दा बढी टिम हुने सम्भावना बलियो छ । दुईवटा भन्दा बढी टिम भयो भने मत दोहोरिन्छ । दोहोरिँदा कस्तो समीकरण बन्छ । मेरो विचारमा तीनवटा टिम अनिवार्य बन्छन् ।

अहिले शेरबहादुरजीको टिम पनि एकतावद्ध छैन, रामचन्द्र पौडेलजीको टिम पनि ‘इन्ट्याक्क’ छैन । त्यसका आधारमा मूल्याङकन गर्ने हो भने कम्तिमा तीनभन्दा बढी नै टिम हुने सम्भावना छ । पाँचैवटा टिम बन्दा पनि खासै बिग्रन्छ भन्ने मलाई लाग्दैन ।

जतिवटा टिम भए पनि मतदान दोहोरिने नै हो । दोहोरिने बेलामा लाइक माइन्डेड साथीहरु एक ठाउँमा बस्छन् । तर, त्यतिञ्जेलसम्म जाँदा प्रतिस्पर्धा स्वस्थ ढंगले कति जान्छ, त्यसलाई ध्यानमा राख्नुपर्छ ।

सभापतिमा अहिले जति पनि उम्मेदवारी घोषणा गरेका छन्, त्यो आफ्नो पोजिसन सुरक्षित बनाउने बार्गेनिङका लागि मात्र हो कि सबैले साँच्चै नै उम्मेदारी दिनै लागेका हुन् ?

यो बार्गेनिङ जस्तो लाग्दैन । पार्टीको नेतृत्वमा पुग्ने आकांक्षा राख्नु स्वाभाविक हो । अहिले जति साथीहरुले सभापतिमा उठ्ने भन्नुभएको छ, त्यसलाई मैले अस्वभाविकरुपमा लिएको छैन ।

नेपाली कांग्रेसमा एउटा कुनै टिमको छहारीमा केन्द्रीय समितिमा पुग्ने लविङ हुँदै आएको छ, यसपालि त्यसमा केही परिवर्तन आउँछ कि उस्तै हुन्छ ?

यसपालि हाम्रो संरचना थपिएको छ, खासगरी संघीय संरचना । सात प्रदेश हाम्रो महत्वपूर्ण संगठनको संरचना हो । अहिलेको संरचनामा धेरै नेता साथीहरुले अवसर पाउँछन् ।

दोस्रो कुरा, पार्टीको केन्द्रीय कार्य समिति र तलदेखि नै समावेशी प्रावधान रहेको छ । महिलाहरु ३३ प्रतिशत सहभागिता केन्द्रीय कार्यसमितिदेखि वडा कार्यालयसम्म नै छ । त्यसैगरी दलितहरुको पहुँच पनि अत्यन्त बढेको छ । अरु जातीय समावेशी पनि बढेको छ । राज्यमा जसरी समावेशी राज्यप्रणाली हो, त्यसैगरी हाम्रो पार्टीको संरचना पनि बनेको छ ।

त्यसैले पहिलोपटक एकदमै व्यापकरुपमा संगठनलाई नयाँपन दिँदै छौं । यसपटक धेरै नै नयाँ साथीहरुले यसपटक मौका पाउँछन् । चाहे समावेशीबाट होस, चाहे खुला प्रतियोगिताबाट होस्, युवा साथीहरुले पार्टीको नेतृत्व तहमा पुग्न अत्यन्त धेरै अवसर पाउँछन् । त्यसैले पार्टीका हरेक संरचनामा नयाँ अनुहारका, नयाँ क्षमताका युवा साथीहरु, चाहे महिला हुन, चाहे दलित हुन नयाँ अनुहारहरु आउँछन् ।

नयाँ आउँदा पुराना नेताहरुलाई चुनौती हुँदैन ?

पुराना साथीहरुले आफलाई परिमार्जन गर्न आवश्यक छ । आफ्नो दृष्टिकोण, पार्टीभित्र हुने व्यवहार, पार्टीभित्र हुने निर्णय प्रक्रिया, पार्टीभित्र हुने मूल्याङ्कन, विवेक, न्याय सम्पूर्ण कुरामा पार्टीका पुराना साथीहरुले आफूलाई परिवर्तन गर्न आवश्यक छ । मैले भन्दै आएको छु यसपटकको महाधिवेशनले नेपाली कांग्रेस पार्टीभित्र आमूल परिवर्तन ल्याउन सक्नुपर्छ ।

हामीले जसरी २०६२/६३ को जनआन्दोलनमा नेतृत्व दिई गणतन्त्रमार्फत देशलाई नयाँपन दिएका थियौं, त्यसैगरी हामीले नयाँ संविधानको नेतृत्व पनि लियौं, यो पार्टीले अब आफ्नो पार्टीभित्र नयाँपन ल्याउनुपर्छ । नयाँ व्यवस्थापन, नयाँ सोच र नयाँ शैलीका साथ पार्टीलाई अगाडि लानुपर्छ ।

राष्ट्रसामु धेरै चुनौतीहरु छन् आजका दिनमा । यी चुनौतीहरुको सामना गर्नका लागि पार्टीभित्र त्यही ढंगले परिवर्तन आवश्यक छ ।

यहाँले पार्टीमा नयाँ परिवर्तन आउँछ भन्दै गर्दा एकथरीको विश्लेषण चाहिँ फेरि पनि देउवाजीले नै नेतृत्व लिने हो, अरुका टिम विभाजित छन् भन्ने छ नि ?

अहिले नै कसले जित्छ, कसले हार्छ मैले भन्नु उपयुक्त हुन्न । तर यति भन्नु पर्याप्त हुन्छ कि पार्टीमा आमूल परिवर्तन हुन्छ । केन्द्रदेखि तलसम्म नेतृत्वमा आमूल परिवर्तन हुन्छ यसपटक । यतिभन्दा पर्याप्त हुन्छ ।

सत्तारुढ नेकपाभित्र पनि नयाँलाई दिनुपर्छ भन्ने बहस चलिरहेको छ, कांग्रेसमा पनि यस्तो बहस छ ?

पुरानाले छोडनुपर्छ, नयाँ आउनुपर्छ भन्ने कुरा एउटा तर्कका लागि ठिकै हो । तर, हाम्रो पार्टीमा बहुत लामो समयदेखि संघर्ष गर्दै आएका नेताहरु हुनुहन्छ, तिनीहरुलाई छोडेर पार्टी अगाडि जान सक्दैन । आजको युवा पंक्तिलाई अगाडि बढ्न रोकेर पनि पार्टी अगाडि जान सक्दैन । त्यसकारण महाधिवेशनमा कसले छोड्छ र को अगाडि बढ्छ भन्ने होइन । आम कार्यकर्ता, जो प्रतिनिधि बन्दै आउँछन्, क्रियाशील सदस्यतामार्फत । कार्यकर्ताले मूल्याङकन गर्दै आउँदा कति युवा पर्छन्, कति पुराना पर्छन्, त्यो त कार्यकर्ताको मूल्याङकनको कुरा हो ।

कांग्रेसभित्र गत चुनावदेखि चलेको बहस के हो भने देउवाको नेतृत्वमा पार्टीले चुनाव हार्‍यो, उहाँले पार्टी पनि चलाउन सक्नुभएन, तपाईंलाई के लाग्छ ?

गएको चुनावको मुख्य नेतृत्व शेरबहादुर र रामचन्द्रले गरेका हुन् । अझ खासगरी स्पष्टरुपमा भन्नुपर्दा समानुपातिक उम्मेदवार चयन गर्दा संसदीय वोर्ड बनेको थिएन । उहाँहरुले ६०/४० प्रतिशत बाँडेर गर्नुभएको हो । त्यसको दुर्भाग्यपूर्ण परिणाम हामीले भोगिसकेका छौं । त्यसको चर्चा गर्नु र त्यसलाई कोट्याइरहनु अब फाइदा छैन । धेरथोर जिम्मेवारी सबैमा पर्छ, केन्द्रदेखि तलसम्म । मुख्य जिम्मेवारी सभापतिजी र प्लस रामचन्द्रजीको हुन्छ ।

उहाँहरुलाई अब पनि पार्टीको नेतृत्व गर्ने नैतिक अधिकार छैन भन्ने पनि धेरै छन् नि पार्टीभित्र ?

मैले अहिले त्यसरी हतारिएर बोल्न मिल्दैन । पार्टीमा डिबेट त छ नि । सबैका आ-आफ्ना टिमहरु छन् । प्रतिस्पर्धा भनेपछि टिमको नै प्रतिस्पर्धा हुन्छ । आजको दिनमा मैले बोल्दा नेताहरुले कार्यकर्ताको मूल्याङकन गरेनन् है भन्ने आम गुनासो छ । अब कार्यकर्ताले नेताको मूल्याङकन कसरी गर्छन्, त्यो त महाधिवेशनमा देखिन्छ ।

पाँच वर्षमा दुईपटक मूल्याङकन हुन्छ । एकपटक निर्वाचनमा मूल्यांकन हुन्छ । त्यसबेला नेताहरुले कार्यकर्ताको मूल्याङकन गर्ने र कार्यकर्ता छनोट गर्ने वाडदेखि केन्द्रसम्म तहगत मूल्याङकन हुन्छ ।

अर्काे मूल्याङकन कार्यकर्ताले नेताहरुको गर्छन्, महाधिवेशनमा त्यो मूल्यांकन हुन्छ । महाधिवेशनमा वडादेखि केन्द्रसम्म नै हुन्छ । यतिबेला हामी सबै नेताहरु कार्यकर्ताको मूल्याङकन पर्खेर बसेका छौं । कसलाई भोट जिताएर नेपाली कांग्रेसको नेतृत्व दिँदा त्यसले आजको समयलाई बुझ्न सक्छ, दृष्टिकोण र नीति दिन सक्छ, विचार दिन सक्छ र पार्टीभित्र न्याय, विवेक, मूल्याङकन गर्न सक्छ, त्यसलाई उहाँहरुले मूल्याङकन गरेर नेता बनाउनुहुन्छ ।

तर, ती कार्यकर्ताले मूल्याङकन गर्न सक्ने हैसियत बिर्सेर मोलाहिजामा परे भने त्यहाँनेर पनि गलत परिणाम आउन सक्छ । नेताहरुले जसरी मोलाहिजामा परेर तल गलत मूल्याङकन गर्दा निर्वाचनमा पार्टीले पराजय भोग्नुपर्‍यो, कार्यकर्ताले महाधिवेशनसम्म पुग्दा गलत निर्णय गरे भने गलत नेतृत्व आइपुग्छ ।

त्यसैले, आजको आवश्यकता के हो भने कार्यकर्ताले नेतामा नयाँ जागरुकता ल्याउनुपर्छ । स्वयं कार्यकर्ताहरु सचेत हुनुपर्छ । स्वयं कार्यकर्तामा नयाँ चेतना भर्न सक्नुपर्छ । कार्यकताले नेताको गुनासो मात्र गर्ने होइन, कार्यकर्ताले सही मूल्याङकन गरेर सही नेतृत्व चुन्न सक्नुपर्छ । प्रत्येक कार्यकर्तामा हामीले स्वाभिमान जगाउन सक्नुपर्छ । स्वयं आफैंले सोच्नुपर्छ ।

स्वाधीन र स्वाभिमानका साथ कार्यकर्ताले मूल्याङकन गरे भने पार्टीमा आमूल परिवर्तन हुन्छ । त्यसका लागि आवश्यक सचेतना अभियान हाम्रो हातमा नै रहेको छ । हामीले जबसम्म कार्यकर्तालाई भन्न सक्दैनौं, कार्यकर्ताहरु मूल्याङकन गर्ने अवस्थामा पुग्न सक्दैनन् र फेरि पनि गलत निर्णय हुन सक्छ ।

तपाईंले मंसिर २५ मा आफ्नो गुटको भेला गर्दै हुनुहुन्छ भन्ने सुनिएको छ, केको लागि हो यो भेला ?

पार्टीको महाधिवेशनमा हामी प्रवेश गरेका छौं । क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ बन्ने चालु छ । कोभिडको महामारीका वीचमा ठूला बैठक हुन सकेका छैनन् । हामीले पार्टीमा आमूल परिवर्तनको विषय उठाएका छौं । यो सन्देश पुर्‍याउन आवश्यक छ ।

१३ औं महाधिवेशनमा जुन हाम्रो सानो समूह बनेको थियो, त्यो अहिले विस्तारित रुपमा छ भन्ने सकारात्मक सन्देश दिनका लागि पनि हो । अन्त्यमा अहिले संघीय लोकतान्त्रिक शासन व्यवस्थामा जुन अनेका प्रश्न उठेका छन्, प्रतिक्रियास्वरुप, नेपाली कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिएको छ भन्ने सन्देश दिन चाहान्छौं ।

यहाँले अहिले संघीय लोकतान्त्रिक शासन व्यवस्थामा अनेक प्रश्न उठेका छन् भन्नुभयो, के देशमा राजतन्त्र र्फकन लागेको हो ?

नेपालमा अब राजतन्त्र आउँदैन । गणतन्त्र संस्थागत भइसकेको छ । सरकारले जनतामा डेलिभर गर्न नसक्दा धेरैमा निराशा छ र यसमा राजावादीले फाइदा उठाउन खोजेका हुन् । नेपालमा अब राजतन्त्र फिर्ता आउँदैन । राणाशासनपछि केही वर्ष नेपालमा फेरि राणातन्त्र आउँछ कि भन्ने आशंका थियो, तर आएन । त्यसैले राजतन्त्र पनि आउँदैन ।

यो पनि पढ्नुहोस्

‘ओलीजीले बालुवाटारलाई नै देश ठान्नुभयो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment