
५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम भएको बताएका छन् । क्षणिक रूपमा यो अलोकप्रिय भए पनि मुलुकको हितमै रहेको उनको दाबी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरी वैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने घोषणा गरेकी छन् ।
प्रधानमन्त्री निकट नेता बस्नेतले राष्ट्रपतिलाई महाभियोग लगाउने र प्रधानमन्त्रीलाई हटाउने लगायतका षड्यन्त्र भएकाले संसद विघटन गर्नु परेको दाबी गरे ।
चितवनमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले भने, ‘आफ्नै पार्टीका नेताहरूले देशीविदेशी शक्तिसँग मिलेर प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने र राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने षड्यन्त्रको सुईँको पाएपछि प्रधानमन्त्रीले मेरो पार्टीलाई मिलाउन सकिन र नकारात्मक भूमिका भएका शक्तिहरू संलग्न भएकाले प्रधानमन्त्रीले जनतामै जान्छु भनेर निर्णय गर्नु भएको हो । यो उहाँको बाध्यात्मक कदम हो ।’
उनले पार्टी एकता भंग भएको जस्तो देखिएको बताए । अब साविकको एमाले र साविकको माओवादीतिर जानसक्ने बताए । त्यसो भए प्रधानमन्त्रीले साविकको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनु हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘खुमलटारको बैठकले के निर्णय गर्छ भन्नेमा भर पर्छ ।’
प्रतिक्रिया 4