Comments Add Comment

होटेलमा आएन बिजनेस : विकल्प खोज्दै मजदुर

६ पुस, काठमाडौं । होटेल संघ नेपाल (हान) र आधिकारिक कर्मचारी यूनियनबीच २०२० डिसेम्बरसम्मका लागि भएको अल्पकालीन सम्झौताको अवधि सकिन लागेको छ । पाँचतारे होटेलका कर्मचारीले काम नभएको समयमा अधिकतम मासिक १० हजार रुपैयाँ मात्र पाउने र सो भन्दा तल्लो स्तरका होटेलको तलव अझ कम राखी सम्झौता भएको थियो ।

कोरोना महामारी छिट्टै सकिएर पर्यटक आगमन पुरानै अवस्थामा र्फकने अपेक्षासहित डिसेम्बर सम्मको सम्झौता भएको थियो । तर, सोचे जसरी ब्यापार नभएपछि होटेलहरुले स्वच्छिक अवकासको अफर ल्याएर कर्मचारीलाई बिदाई गर्न थालेका छन् । मजदुरहरु समेत अब जागिर छाडेर विकल्पको खोजी थालेका छन् ।

हानका प्रथम उपाध्यक्ष विनायक शाह होटेल संचालकहरु डिसेम्बरसम्मको सम्झौताअनुसार सबै कर्मचारीलाई तलव दिइरहेका छन् । तर, विगतमा मासिक डेढलाखसम्म बुझ्ने कर्मचारीलाई १० हजार हाराहारी तलवले घर धान्न सम्भव भएको छैन । त्यसैले पुराना कर्मचारीका लागि होटेलहरुले स्वच्छिक अवकासको अफर ल्याइरहेका छन् ।

एउटै होटेलमा लामो समय काम गरेका कर्मचारीले स्वच्छिक अवकास लिदा संचयकोष र अन्य सेवा सुविधावापत काटिएको रकम एकमुष्ट पाउँछन् । सो रकम लिएर स्वरोजगारका कुनै उपाय अपनाउन कर्मचारीहरले जागिर छाड्न थालेका छन् ।

होटेल संघ नेपाल (हान)का अनुसार अहिले सबैजसो होटेलले कर्मचारीका लागि स्वच्छिक अवकास योजना ल्याएका छन् । सोल्टी होटेलले करीव १३५ कर्मचारीलाई सोही स्कीम अनुसार बिदा गरेको छ । त्यस्तै, होटेल र्‍याडिसनले ६५ हाराहारी र होटेल हायातले एक दर्जन कर्मचारीलाई स्वच्छिक अवकास दिएको छ ।

अन्नपूर्ण होटेलले भने अनिवार्य अवकासको सूचना टाँसेकोमा कर्मचारी यूनियनले विरोध गर्यो ।

अखिल नेपाल होटेल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका केन्दि्रय महासचिव मुक्ति दाहाल धेरैजसो होटेल प्रतिष्ठानले असल नियतका साथ स्कीम ल्याएको बताउँछन् । उनी भन्छन्, ‘अन्नपूर्ण याक एण्ड यति र हायातको व्यवस्थापन भने नियतवशः खेलवाडमा लागेको देखिएको छ ।’

नयाँ सम्झौताका लागि छलफल जारी

होटेल प्रतिष्ठान र मजदुर संगठनबीच  डिसेम्बरमा सम्झौता सकिएपछि के गर्ने भन्ने सम्बन्धमा छलफल चलिरहेको छ ।

अर्को वर्ष पनि पर्यटक आगमन सामान्य अवस्थामा र्फकने नदेखिएकाले होटेलहरु पनि बन्द नहोउन् र मजदुर पनि बेरोजगार हुनु नपरोस् भनी उपायहरु खोजी भइरहेको महासचिव दाहाल बताउँछन् । ‘हाम्रो पहिलो शर्त नै होटेल बन्द हुनु हुँदैन भन्ने हो,’ उनले भने, ‘होटेल बचाउँदै कर्मचारीको रोजगारी समेत सुनिश्चित हुने उपायबारे छलफल गरिरहेका छौं ।’

होटेल व्यवसायीले भेटे अर्थमन्त्री

हानले आज सोमवार अर्थमन्त्री विण्णुप्रसाद पौडेलाई भेटेर समग्र होटेल व्यवसायमा परेको समस्याबारे ध्यानाकर्षण गराएको छ । हानका अध्यक्ष सिर्जना राणाले नेतृत्व गरेको प्रतिनिधि मण्डलले अर्थमन्त्रीसंग कोभिड १९ बाट अति प्रभावित क्षेत्र घोषणा गरिएको पर्यटन उद्योगलाई २ वर्षसम्म ब्याज स्थगन गर्न अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंकको मौदि्रक नीतिमा भएको २० करोडको दायरालाई अर्धवाषिर्क समिक्षा मार्फत परिवर्तन गर्न समेत हानले आग्रह गरेको छ । बैंकलाई तिर्नुपर्ने गत आवको लकडाउन अवधिको असार मसान्तसम्म बुझाउनुपर्ने साँवा ब्याजको अवधि एक वर्षलाई सरेको छ । हानले भने थप एक वर्ष यो अवधि बढाउन माग गरेको हो ।

होटेलहरुको चालु पूँजी कर्जाको ब्याजदर ५ प्रतिशत कायम गरी यसको सीमाको दायरा बढाउन समेत अर्थमन्त्रीसँग माग गरेको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट घोषणा भएको विशेष पुनकर्जा प्रभावकारी नभएको भन्दै हानले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

५० अर्बको व्यवसाय सूचारु कर्जाबाट कतिपय व्यवसायी बन्चित हुने अवस्था भएको भन्दै १० करोडको दायरा बढाउन समेत अर्थमन्त्रीसँग माग गरिएको होटल संघ नेपालका सदस्य युवराज श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment