Comments Add Comment

कृषि मन्त्रालयमा घनश्याम भुसालको १३ महिना : के गरे, के गर्न सकेनन् ?

८ मंसिर, काठमाडौं । घनश्याम भुसालले १३ महिना ५ दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालेर गत आइतबार पदबाट राजीनामा दिए । कृषि विकासको जग बसाउँदै गर्दा भएका अप्रत्यासित राजनीतिक घटनाक्रमका कारण उनले मन्त्री पद छाडेपनि राजीनामा स्वीकृत हुन बाँकी छ ।

कृषिमन्त्री भएपछि भुसालले ‘संरक्षित कृषि सुरक्षित बचत’ भन्ने अवधारणा कार्यान्वनयनमा ल्याए । मन्त्रालयका अधिकारीहरु उक्त अवधारणालाई नेपालको आधुनिक कृषि विकासको रोडम्याप भन्छन् । कृषि सचिव डा.योगेन्द्रकुमार कार्की मन्त्री भुसालले नीतिगत सुधारबाट कार्यगत सुधारतर्फ पाइला बढाएको बताउँछन् ।

धानको सर्मथन मूल्य किटान, मल अभावको समस्या हटाउन दीर्घकालीन कामको सुरुवात, प्राङ्गारिक मल प्रवर्द्धन, कृषि नीतिको सामयिक ब्याख्या, प्रशासन संरचनाअनुसारकै बजार संरचना जस्ता महत्वपूर्ण र दीर्घकालीन काम उनको पालामा थालिएको सचिव कार्की बताउँछन् । उनी भन्छन्, ‘उहाँको पालामा कृषि विकासमा नयाँ बाटो पहिल्याउने काम भएको छ ।’

कृषि विश्लेषक डा. कृष्ण पौडेल भने केही आफ्नै र केही प्रधानमन्त्रीको थिचोमिचोका कारण घनश्याम भुसालले कृषि मन्त्रालयमा उलेख्य काम गर्न नसकेको ठान्छन् । भुसाल सिद्धान्तनिष्ट भएपनि कार्यकारी भूमिकामा अब्बल नभएको उनी बताउँछन् ।

भुसालको सकारात्मक सोच र निष्पक्ष नेतृत्वका कारण मन्त्रालयले एक ढिक्का भएर काम गर्न सकेको सचिव कार्की बताउँछन् ।
भुसालको काम गर्नुपर्छ भन्ने भावना र सरल स्वभावका कारण कर्मचारीतन्त्रसंगको सम्बन्ध पारिवारिक जस्तै बनेको मन्त्रालयका अर्का एक सहसचिव बताउँछन् ।

‘भुसाल भिजनमा स्पष्ट र ठाँट नदेखाउने मन्त्री थिए’, उनी भन्छन्, ‘विषयगत सूचना–आदान प्रदानका लागि उनी जुनसुकै कर्मचारीलाई भेट दिन्थे, कुरा सुन्थे ।’

अन्तर मन्त्रालय तथा लाइन एजेन्सी समन्वय अभाव, असहयोग लगायतका कारण हुनपर्ने जति काम नभएपनि मन्त्री भुसालको पालामा सुधारको गज्जब प्रयास भएको ती सहसचिव बताउँछन् ।

एक वर्षमा भुसालले गरेका काम

१३ महिना अवधिमा कृषि मन्त्रालयमा झण्डै डेढ दर्जन मुख्य सुधारको काम गरेको मन्त्री भुसालको सचिवलयको दाबी छ । मन्त्रालय र अन्तर्गतका कर्मचारी सरुवा/वढुवा, पदस्थापन तथा वोर्ड र संस्थानमा गरिने नियुक्तिमा हुने आर्थिक चलखेल र प्रभाव भुसालले अन्त्य गरेको सचिवालय स्रोत बताउँछ ।

‘उहाँ भ्रष्ट र खराब आचरणका कर्मचारीप्रति निर्मम रहनु भयो । उहाँकै आनीबानी र शैलीका कारण सचिवालयको खर्च धेरै घट्यो’, स्रोत भन्छ, ‘नेपाली कृषि व्यवस्थाको जग बसाल्नुका साथै नीति नै ‘सिफ्ट’ गराएर अनुदानका नाममा हुने भ्रष्टाचार सुकाएको जस पनि मन्त्री भुसालले लिनुभएको छ ।’

कृषिमन्त्री भुसालले वास्तविक कृषकको पहुँच नहुने, बिचौलिया सक्रिय हुने टाठाबाठाले मात्र पाउने नगद कृषि अनुदानको खेल बन्द गरिदिएको उनको सचिवलयको दाबी छ । त्यस्तै, उनले कृषिलाई सरकारले संरक्षण गर्नुपर्ने, किसानलाई निश्चित बचत (नाफा) को ग्यारेन्टी हुनुपर्ने मान्यताका साथ ‘संरक्षित कृषि, सुनिश्चित बचत’ अवधारणामा केन्द्रित कार्यक्रम गर्ने पाँचवटा नीतिगत आधार तय गरे ।

मल, वीउ, सिञ्चाइ, विजुलीमा सबै कृषकले अनुदान पाउने नीतिगत व्यवस्था मन्त्री भुसालको कार्यकालमा भएको छ । ५ प्रतिशत व्याजदरमा सुलभ कृषि ऋणको प्रबन्ध र सबै किसानलाई प्राविधिक सेवा–टेवाको प्रत्याभूति उनको कार्यकालमा भएको अर्को नीतिगत व्यवस्था हो ।

त्यसैगरी, सबै बाली–वस्तुको बिमा र प्रमुख बालीको न्यूनतम समर्थन मूल्य तथा खरिदको व्यवस्था पनि भुसाल कृषिमन्त्री रहेको बेला भएको नीतिगत व्यवस्था हो । उनले किसानका उत्पादन न्यूनतम समर्थन मुल्य तोकेर सहकारीहरुमार्फत सरकारले किनिदिने योजना लागू गरे ।

मन्त्री भुसालले मलको ठेक्का लिएर समयमा आपूर्ति नगर्ने ठेकेदारहरुलाई धरौटी जफत गर्ने, कालो सूचीमा राख्ने जस्ता कारबाही गरे । त्यस्तै, सरकारी अनुदानको ठेक्का सम्झौता गरेर काम नगरेका ६ वटा शीत भण्डारको सम्झौता रद्द गरी ठेकेदारले अग्रिम रुपमा लिएका १० करोड रुपैयाँ मोबिलाइजेसन रकम फिर्ता गराए ।

मन्त्री भुसालले स्थानीय तहलाई कृषि विकासको गतिशील सेलका रुपमा विकास गर्ने अवधारणा लागु गरे । मल वितरण प्रणाली पारदर्शी र भरपर्दो बनाउन स्थानीय तहको मुख्य भूमिकासहित अनुदानको मल वितरणसम्बन्धी नयाँ निर्देशिका लागू भएको छ ।

मन्त्री भुसालको पालामा संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य–समन्वय सुरु हुनको साथै संघ–प्रदेशबीच मन्त्री र सचिवस्तरीय समन्वय संरचना बनेको छ । छुट्टै कृषि ऐन नभएको अवस्थामा मन्त्री भुसालले नेपाल कृषि ऐन निर्माणका लागि मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति लिएर मस्यौदाको काम अगाडि बढाएका थिए ।

भुसालमाथिका आरोपहरु

कृषि मन्त्रालयका कतिपय कर्मचारी मन्त्री भुसालले सचिवालयको साँघुरो घेरामा बसेर काम गरेको बताउँछन् । मन्त्रालयका एक अधिकारी मन्त्री भुसालले दलीय आस्था हेरेर सचिवालयले गर्ने ब्रिफिङको आधारमा कर्मचारीमाथि डण्डा चलाएको आरोप लगाउँछन् ।

‘उहाँले मिडियामा आफ्नो पहुँचको दुरुपयोग गर्नुभयो । कर्मचारीको कार्यसम्पादनदेखि प्रधानमन्त्री विरुद्धसम्म मिडिया ट्रायल गर्नुभयो’, ती अधिकारी भन्छन्, ‘अन्य कुरामा मन्त्री भुसाललाई दोष दिने ठाउँ छैन ।’

कृषि विश्लेषक डा. कृष्ण पौडेल भने केही आफ्नै र केही प्रधानमन्त्रीको थिचोमिचोका कारण घनश्याम भुसालले कृषि मन्त्रालयमा उलेख्य काम गर्न नसकेको ठान्छन् । भुसाल सिद्धान्तनिष्ट भएपनि कार्यकारी भूमिकामा अब्बल नभएको उनी बताउँछन् ।

‘परिस्थितिको लेखाजोखा गरेर कृषिको प्राथमिकता र सीमा पहिचानमा भुसाल चक्नुभयो’, डा. पौडेल भन्छन्, ‘उहाँहरु आन्दोलनका लागि अब्बल र कार्यकारी भूमिकामा कमसल हुनुहुन्छ भन्ने पुष्टि भयो ।’

मन्त्री भसालले ल्याएको कृषि सुधारका पाँच आधार ठीक भएपनि दीर्घकालीन दृष्टिकोण नपुग्दा लागू हुने आधार नदेखिएको उनी बताउँछन् । उनी भन्छन्, ‘फेरि भुसालको कार्यकाल त मल अभावमै रुमल्लिएको होइन र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment