Comments Add Comment

महामारीमा सर्वाधिक कमाउने अर्बपतिहरुः अमेजनदेखि टेस्लाका मालिकसम्म

विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अधिकांश उद्योग व्यवसायहरु कतिपय ठप्प छन् भने कहीँ घाटामा चलिरहेका छन् । करोडौँ मानिसहरुका लागि महामारीले संकट सिर्जना गरेको छ, रोजगारी तथा व्यवसाय गुमेको छ । महामारीबाटै १६ लाख भन्दा धेरैको मृत्यु भैसकेको छ भने कैयन् मुलुकहरु आर्थिक संकटमा धकेलिएका छन् ।

तर दुनियाँका केही अर्बपति यस्ता छन्, जसलाई महामारी फलिफाप बनेको छ । महामारीको समयमा उनीहरुको सम्पत्ति झनै थपिएको छ ।

एक तथ्यांक अनुसार महामारीको चालू वर्ष सन् २०२० मा विश्वका ६० प्रतिशतभन्दा धेरै अर्बपतिहरु झनै धनी बनेका छन् । संसारका सर्वाधिक धनीको सूचीमा शीर्ष पाँच स्थानमा रहेका अर्बपतिहरुको सम्पत्तिमा त उछाल नै आएको छ र उनीहरुको कूल सम्पत्ति ३ खर्ब १० अर्ब डलर पुगेको छ । महामारीमा अर्बौँ सम्पत्ति थुपार्न सफल ती पाँच अर्बपति यी हुन्ः

१. एलन मस्कः अन्तरीक्षमा पर्यटक पुर्याउने लक्ष्यका साथ स्थापित कम्पनी एलन मस्क तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्कको सम्पत्ति सन २०२० मा १ खर्ब ४० अर्ब डलरले वृद्धि भएको छ । ब्लुम्बर्गका अनुसार गत सोमबार उनको कूल सम्पत्ति १ खर्ब ६७ अर्ब डलर पुगेको छ ।

अहिले एलन मस्क अर्बपतिहरुको सूचिमा छलाङ मार्दै बिल गेट्स लगायतलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिसकेका छन् । अब उनीभन्दा अगाडि केवल अमेजनका संस्थापक जेफ बेजोस मात्र छन् ।

एलन मस्कले एक वर्षको अवधिमा सबैभन्दा धेरै कमाउन सफल व्यक्तिको रुपमा नयाँ इतिहास पनि कायम गरेको फोब्सले जनाएको छ । मस्कको कम्पनी टेस्लाले उत्पादन गरेका कारहरुको बिक्रिमा यो वर्ष रेकर्ड कायम भयो । त्यस्तै उनको अर्को कम्पनी स्पेस एक्सले पनि अन्तरीक्षमा मानिसलाई पठाउँदै पहिलो निजी कम्पनी बन्न सफल भयो ।

२. जेफ बेजोसः जेफ बेजोसले संसारकै सबैभन्दा धनी व्यक्तिको रुपमा सन् २०२० को सुरुवात गरेका थिए र त्यसमै कायम रहँदै वर्ष समाप्त गर्दैछन् । अमेजनका साथै अमेरिकी पत्रिका द वाशिङटन पोष्टका मालिक समेत रहेका बेजोसले २०२० मा आफ्नो सम्पत्तिमा ७२ अर्ब डलर थप गरेका छन् ।

महामारीका बेला विश्वभर नै अनलाइन कारोबारले रेकर्ड कायम गर्दा अमेजनलाई मालामाल भएको हो । केही महिना अघि अमेजनको कूल सम्पत्ति २ खर्ब डलर नाघेको थियो । अहिले उनको सम्पत्ति १ खर्ब ८७ अर्ब डलर छ ।

जेफ बेजोसले विभिन्न सामाजिक कार्यहरुमा पनि योगदान गरिरहेका छन् । गत फेब्रुअरीमा उनले जलवायु परिवर्तनसँग जुध्ने परियोजनका लागि १० अर्ब डलर दान गरेका थिए भने नोभेम्बरमा वातावरणवादी संस्थाहरुलाई ८० करोड डलर प्रदान गरेका थिए ।

उनकी पूर्वपत्नी म्याकेन्जीले पनि यो वर्ष ५ अर्ब ८० करोड डलर दान गरेकी छिन् ।

३. जोङ्ग शनशनः बोतलबन्द पानी बिक्रेता चिनियाँ कम्पनी नोङ फू स्प्रिङ्गका संस्थापक रहेका जोङ्गले सन् २०२० मा आफ्नो सम्पत्तिमा ६२ अर्ब ६० करोड डलरले वृद्धि गरे । उनी गत सेप्टेम्बरमा चीनका सबैभन्दा धनी व्यक्ति समेत बनेका थिए ।

नोङ फू कम्पनी सन् १९९६ मा स्थापना भएको थियो र यसले एसियामा बोतलबन्द पानीको बजारमा २० प्रतिशत हिस्सा ओगटेको छ । उनको कम्पनीको मूल्य ७० अर्ब डलर रहेको छ । कम्पनी शेयर बजारमा प्रवेश गरेसँगै जोङ्गको सम्पत्तिमा उछाल आएको हो ।

कम्पनीको शेयर मध्ये ८४ प्रतिशत उनकै नाममा रहेको छ । जसको मूल्य ६० अर्ब डलर छ । साथै भ्याक्सिन निर्माता कम्पनी बेइजिङ बायोलोजिकल फार्मेसीको स्वामित्व पनि जोङ्गकै नाममा छ ।

यो कम्पनीले कोरोना भाइरसविरुद्ध नाकबाट दिइने स्प्रेको उत्पादन गरिरहेको छ र नोभेम्बरमै दोश्रो चरणको परीक्षण सम्पन्न गरेको थियो । जोङ्गको सम्पत्ति अलिबाबाका संस्थापक ज्याक मा तथा टेनसेन्टका संस्थापक पोनी मा को भन्दा पनि धेरै छ ।

४. बर्नार्ड आर्नल्टः लग्जरी सामान उत्पादक कम्पनी एलभिएमएचका मालिक आरनल्ट फ्रान्सका सबैभन्दा धनी व्यक्ति पनि हुन् । ब्लुम्बर्गको सूचिमा उनी विश्वका सर्वाधिक धनाढ्यको चौथो स्थानमा छन् ।

यो वर्ष आर्नल्टको कूल सम्पत्ति१ खर्ब ४६ अर्ब डलर पुगेको छ । यो वर्ष उनको सम्पत्तिमा ३० प्रतिशतले वृद्धि भएको छ ।

महामारीका कारण विश्वमा लग्जरी सामानको बिक्रिमा लगातार कमी आइरहेको भएतापनि एलभिएमएचले भने यो वर्ष चमत्कार नै गरेको छ । दक्षिण कोरिया र चीनमा कम्पनीका उत्पादनको ठूलो परिमाणमा बिक्री भएको छ ।

५. डेन गिलबर्टः एनबिए क्लेभल्याण्ड क्याभेलियर्स कम्पनीका मालिक तथा अनलाइन मार्टेज कम्पनी क्विकन लोन्सका सहसंस्थापक हुन् गिलबर्ट । ब्लुम्बर्गको आँकडा अनुसार सन् २०२० मा उनको सम्पत्ति २८ अर्ब १० करोड डलरले वृद्धि भएको छ ।

अहिले उनको सम्पत्ति ३५ अर्ब ३० करोड डलर पुगेको छ । यसको मूख्य कारण चाहीँ क्विकन लोन्सको मूल कम्पनीको रुपमा रहेको रकेट कम्पनीले गत अगष्ट महिनामा शेयर तथा वित्तिय शाधनको सार्वजनिक बिक्रि सुरु गर्नु ।

गिलबर्टसँग रकेट कम्पनीको ८० प्रतिशत शेयर हिस्सा रहेको छ जसको मूल्य ३१ अर्ब डलर भन्दा धेरै छ । गिलबर्टको कूल सम्पत्ति एक वर्षमै ६ गुणाले बढेको छ र यसको कारण चाहीँ कम्पनीको आइपिओ नै हो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment