Comments Add Comment

जाडो मौसममा हुने पिनासमा आयुर्वेद उपचार

आयुर्वेद अनुसार जाडो मौसममा वातादि तीनै दोष र रगत पृथक पृथक वा एकै पटक शिरमा एकत्रित भएर स्वप्रकोपका कारण प्रकुपित भएर प्रतिशयाय उत्पन्न हुन्छ र प्रतिशयायको चिकित्सा नगर्नाले दुष्ट पिनास हुन्छ। नाकको नजिकै अनुहारका हड्डीहरूको भित्र हावा रहने रिक्त स्थानलाई साइनस भनिन्छ । यी साइनसहरूले मुख्यतस् टाउकोलाई हलुका बनाउने र बोलेको ध्वनिलाई गुणस्तरीय बनाउने काम गर्छन् । यिनै साइनसहरूमा अनेकौं तहहरु हुन्छन् जो विशेष द्वारमार्फत नाकसँग जोडिएका हुन्छन् । त्यसै तहमा हुने झिल्लीहरूले अनेकौं तरल पदार्थ अर्थात् म्युकसहरू उत्पादन गर्छन् र रौं जस्ता बनावट भएका सिलियाहरूको निरन्तर गतिले म्युकसलाई द्वारबाट बाहिर निकासा गर्छन् । सामान्य भाषामा भन्नुपर्दा त्यही साइनसहरूमा रहेको झिल्लीको संक्रमणलाई नै साइनुसाइटिस अर्थात् पिनास भनिन्छ।

पिनास रोगका मुख्य कारणहरू

-ब्याक्टेरिया,भाइरस आदिको संक्रमण हुनु र साइनसका द्वारहरु बन्द हुनु

-प्रतिशयाय (एलर्जिक राइनाइटिस)

-नाकको हड्डी बाङ्गो भएको अवस्था

-नाकको भित्री भागमा मासु पलाउनु

-वायु प्रदूषण,चुरोटको धुवाँ आदि

-अनुचित जीवनशैली र खानपान

-शारीरिक एवं मानसिक कारण

-शरीरमा सञ्चित विषाक्त पदार्थ

पिनासको लक्षण

-टाउकोको आधा भाग वा पूरा दुख्नु

-गन्ध थाहा नपाउनु

-नाकको भागहरु सुन्निनु

-श्वासमा दुर्गन्ध हुनु

-निरन्तर रुघा लाग्नु

-नाकबाट वाफ र पिप निस्कनु

-नाक सुख्खा हुनु

आयुर्वेद उपचार

पिनास रोगमा नस्यकर्म अति नै उपयोगी छ। आयुर्वेदको पञ्चकर्म चिकित्साअन्तर्गत पर्ने नस्यकर्म एक प्रधान संशोधन विधि हो । शिरप्रदेशको नेत्र, कर्ण, कण्ठ आदि अवयवहरूमा फिजिएर रहेका विकृत दोषहरूलाई बाहिर निकाल्न नासारन्ध्रद्वारा औषधिको प्रयोग गराउनु नै नस्य कर्म हो । द्वारं हि शिरसो नासा तेन तद् व्याप्य हन्ति तान्  अर्थात शिरको द्वार नासा९नाक० लाई मानिएको छ।त्यसैले नस्यले नाकमा व्याप्त भएर शिरका रोगहरुलाई नाश गर्छ।

विधि

प्रात : अथवा मध्याह्नमा रोगीलाई सिरानी तल पारेर सुत्न लगाउने । त्यसपश्चात नाकबाट कफका साथ स्नेह पनि निकाल्नका लागि पहिले शिरमा स्वेदन गर्ने, नस्य दिने र फेरि स्वेदन गर्ने । नस्य राखेपछि तातो पानी खाने, पथ्य भोजन गर्ने र हावा बढी नलाग्ने ठाउँमा बस्ने। जानी राखौं ज्वर, शोक र मदात्यय भएको अवस्थामा चै नस्य दिनुहुँदैन ।

उपयोगिता :

नस्य कर्म अवबाहुक, ग्रिवास्तम्भ आदि वातव्याधि ,उर्ध्वजत्रुगत रोग र कफज रोगमा विशेष उपयोगी रहन्छ। पिनास,मान्यस्तम्भ, शिरस्शुल, प्रतिश्याय आदि रोगहरुमा नस्यकर्म लाभकर रहन्छ। शिरस्थ कफ नासाबाट स्राव गराई शिरको रक्तसंवहन बढाएर प्राणवह स्रोतको अवरुद्ध हटाउन नस्यकर्म फलदायी रहन्छ । नस्यकर्मद्वारा स्नेहन, शोधन, विरेचन, तर्पण, शमन, बृंहण, प्रज्ञाप्रोबधन हुनुको साथै यसले यौवन समेत बढाउन मद्दत पुर्या,उँछ। नस्यकर्मले शरीरमा हल्का पन ल्याउनुको साथै इन्द्रिय तथा मन प्रसन्न तुल्याउँदछ । श्वासावरोध हटाउन उल्लेखनीय भूमिका खेल्ने नस्यकर्मले स्रोतो शुद्धी गर्दै शरीरमा हल्कापन समेत ल्याउँछ।

पिनासका लागिअन्य घरेलु उपचार:

-बेसार, अदुवा, धनिया, पिप्पली बराबर भुट्ने र मसालाको रूपमा तरकारी वा सुपको रूपमा प्रयोग गर्ने

-सधैं तातो चीज मात्र पिउने वा खाने र श्वास संक्रमणबाट बच्ने

-नुनपानीले दिनको २-३ पटक कुल्ला गर्ने

-अदुवा, हरिद्रा आदि तातो पानीसँग पिउने

-स्नेहनअन्तर्गत उपयोगी तेललाई तताएर साइनस क्षेत्र र नाकको वरिपरि मालिस गर्ने

-भाडोमा बेसार,अदुवा मिसाएको  तातोपानी राखी टाउकोमा कपडाले ढाकेर दिनमा पटक पटक वाफ लिने

पिनासबाट बच्ने उपाय :

आयुर्वेदमा वर्णन भए अनुसारको ऋतुचर्या अपनाउन सकिन्छ। यस जाडो मौसममा मधुर, अम्ल, लवण रसको प्रयोग र नयाँ बसा, तेल र नयाँ चामलको आहार प्रयोग गर्नुपर्ने हुन्छ। व्यायाम,उद्धर्तन,अभ्यङ्ग, स्वेदन, अञ्जन, आतपको सेवन तथा उष्ण गृहमा निवास गर्ने लगायतका विहारहरू गर्नुपर्ने हुन्छ। तर शीतल अन्नपान, वातल र लघु आहार, अल्प आहार र कटु, तिक्त, कषाय रसका आहारहरू यो हेमन्त र शिशिर ऋतुमा सेवन गर्नुहुँदैन।

अन्य बच्ने उपायहरु :

-नाक, शिर र अनुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने

-नाक, मुखलाई धुवाँ, धुलोबाट बचाउन माक्स प्रयोग गर्ने

-तातो झोल पदार्थ प्रशस्त पिउने

-तातो र न्यानो खाना खाने

-चिसो मौसमबाट बच्ने

-भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने

-अत्तर तथा सुगन्धित वस्तुको ज्यादा प्रयोग नगर्ने र धुम्रपान त्याग्ने

-केरा, सुन्तला, भुइँकटहर जस्ता फलफूलहरु र दुग्ध पदार्थ अत्यन्त कम खाने

 प्राणायाम

श्वास-प्रश्वास क्रिया व्यवस्थित हुने गरी प्राणवायुको क्रियालाई नियन्त्रण गर्नु प्राणायाम हो । तसर्थ पिनासका लागि प्राणायाम अत्यन्त लाभदायक हुन्छ । बिहान खाली पेटमा प्राणायाम, व्यायाम गर्नाले सम्पूर्ण नासागत रोगहरु नष्ट हुन्छ ।

उपयोगी प्राणयामहरु

कपालभाती, भस्त्रिका,अनुलोम विलोम,भ्रामरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment