Comments Add Comment

बेरोजगार युवासम्म पुग्नै बाँकी स्वरोजगार कोष !

२१ पुस, काठमाडौं । ‘हाम्रा केहि दुर्बल पक्ष र चुनौतीहरु छन् । बेरोजगार युवासम्म पुग्न संरचनागत कठिनाइ छ’ युवा स्वरोजगार कोषको कानुन तथा कर्जा असुली शाखा प्रमुख लोकबहादुर खड्काले सोमबार काम चलाउ सरकारका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बिफ्रिङ गरे ।

खड्काले पावर प्वाइन्ट प्रेजिन्टिसन (पीपीपी) गर्दै दुर्बल पक्षलाई तीन बुँदामा प्रस्तुत गरे भने चार बुँदामा चुनौती औंल्याए ।

युवालाई स्वरोजगार बनाउने उद्देश्यले २०६५ सालमा तत्कालीन अर्थमन्त्रीको अध्यक्षतामा स्थापित कोषले अझै काम गर्न सकेको छैन । बरु, तत्कालीन एमाले र माओवादीका केही नेताले अपचलन गरेको रकम फर्काउन कोषलाई कठिन भइरहेको छ ।

कोषका कानुन अधिकृत खड्का अनुसार निकै लामो कसरत पछि एक नेताले ८ करोड रुपैयाँ चुक्ता गरेका छन् । अर्का एक मजदुर नेताले ४ करोड रुपैयाँको सावाँ न व्याज बनाएका छन् । कोषले भाका नाघेको रु.१७ करोड ८ लाख ६० हजार ४९९ यस्तो कर्जा उठाउन सकेको छैन ।

कानुन अधिकृतले कोषका अध्यक्ष रहने मन्त्रीलाई गरेको बिफ्रिङमा खुलाएको अर्को प्रमुख समस्या भने बेरोजगार युवासम्म पुग्न नसक्नु हो । माग अनुसार लगानी कम हुनुको साथै लगानी रकम असुल गर्न जिल्लागत संरचना पनि नहुँदा कोष समस्यामा छ ।

अर्थात्, एक त कोष बेरोजगार युवासम्म पुग्नै सकेको छैन, त्यसमाथि गरेको लगानी उठाउन पनि संरचना अभावको कारण उठाउन समस्या परेको छ ।

चारबुँदे चुनौतीमा व्याजदर प्रमुख छ । कोषले बैंक तथा वित्तीय संस्थाहरु (सहकारी समेत)लाई ४ प्रतिशत व्याजमा ऋण दिन्छ । त्यो ऋण लगेर उनीहरुले ८ प्रतिशतमा लगानी गर्न पाउँछन् ।

नियमित कर्जाको साँवा–व्याज भुक्तानी गर्ने व्यक्तिगत ऋणीलाई कोषले ८ प्रतिशतलाई सय मानेर त्यसको ६० प्रतिशत व्याज अनुदान दिन्छ । अर्थात्, अन्तिममा व्याजदर ४.८ प्रतिशत मात्र हुन आउछ । यो ४.८ प्रतिशत व्याजदरलाई कोषले ठूलो चुनौतीको रुपमा लिएको छ । जबकी, बैंकमा ९–१० प्रतिशतमा ऋण लिन्छु भन्दा पनि पाउन कठिन छ ।

कोषले असुल उपरको विषयलाई पनि चुनौतीमा समावेश गरेको छ । बिना धितो लगानी गर्नुपरेकाले असुलीमा समस्या आएको कोष बताउँछ । भौगोलिक विकटता र समान उद्देश्यका निकायहरुबीच समन्वय नहुँदा पनि चुनौती खेप्नु परेको कोषले बताएको छ ।

मुख्य उद्देश्य प्राप्तिमै चुक्यो कोष

रिक्सा मजदुरलाई रिक्सा मालिक बनाउने होस् या गाउँघर तथा सहरमा सस्तो–सुलभ पसल खोल्ने योजना, कोषले निकै लोकप्रीय कार्यक्रम बनाएको छ । यस्ता कार्यक्रममा कोषले हालसम्म रु.९ अर्ब ५४ करोड ९६ लाख लगानी गरेको छ ।

यति ठूलो रकम लगानी गरेर ७३ हजार ६३८ जनालाई स्वरोजगार बनाएको बताएको छ । ७३ हजारलाई स्वरोजगार बनाएको तथ्यांक पेस गरेको कोष आफैं लक्षित समूहसम्म अझै पुग्न नसकेको बताइरहेको छ ।

स्वरोजगार दाबी गरिएको ७३ हजारमा प्रमुख दलका नेताहरु पनि छन् । अरुको तुलनामा नेताहरुले ठूलै रकम हातलागी गरेका छन् । कोषका अनुसार, कर्जा नतिर्नेमा १५ वटा सहकारी संस्थाका सयौं पदाधिकारी र सदस्यहरु पनि छन् । उनीहरुको घरजग्गा कोषको नाममा रोक्का राखिएको छ ।

यस्ता १८५ जना रिणीले कर्जा चुक्त गरेर घरजग्गा रोक्का फुकुवा गरेका छन् । कोषको कानुन तथा कर्जा असुली शाखा प्रमुख खड्का ७३ वटा सहकारी संस्थाका १०८६ सञ्चालकलाई कर्जा चुक्ता गर्न अन्तिम ताकेता पत्र पठाएको बताउछन् । अब पनि असुली नभए उनीहरुलाई कालोसूचीमा राखिने उनले बताए ।

बेरोजगार युवालाई स्वरोजगार बनाउने मूख्य उद्देश्यमा सुरुमै चुकेर प्रभावको आधारमा रकम वितरण गर्दा कोष अहिलेको समस्यामा परेको हो ।

लक्षित समूह गाउँमा, कोष काठमाडौंमा

कोषको कार्यालय संघीय राजधानी काठमाडौंमा मात्र छ । मुलुक संघीय प्रणालीमा गएको पाँचवर्षमा कोषले काठमाडौं बाहिर एउटा पनि शाखा कार्यालय खोल्न सकेको छैन ।

कोषको कानुन शाखाका प्रमुख खड्का जिल्लाहरुमा कार्यालय नहुँदा समस्या भएको बताउँछन् । ‘सरकारले सुरुमा जिल्लाहरुमा खोल्न दिएन’, उनी भन्छन्, ‘पछि आवश्यकता अनुसार शाखा खोल भनिए पनि बजेट अभाव भयो ।’

देशभर छरिएको कर्जा काठमाडौंबाटै उठाउन पर्छ । कोषले फोन र पत्रबाट ताकेता गर्ने गरेको छ । ‘झापामा हाम्रो ६८ करोड लगानी छ, तर एउटा शाखा छैन’, खड्का भन्छन्, ‘त्यही झापामा ३ करोड लगानी गरेको कृषि विकास बैंकको ठाउँठाउँमा शाखाहरु छन् ।’

शाखा कार्यालयहरु भए कोषलाई पनि कर्जा असुलीमा धेरै सहज हुने उनी बताउछन् ।

नयाँ छु, बुझ्दै छु : मन्त्री तामाङ

प्रदेश सभा सदस्यको निर्वाचनमा पराजित भएका पूर्व माओवादी नेता दावा तामाङ गुट परिवर्तन गरेर अहिले मन्त्री बनेका छन् । युवा तथा खेलकुद मन्त्री युवा स्वरोजगार कोषको अध्यक्ष बन्ने व्यवस्थाका कारण उनी स्वतः कोषका अध्यक्ष हुन् ।

पहिले अर्थमन्त्रालय अन्तर्गत रहेको कोषलाई सहकारी मन्त्रालय हुँदै अहिले युवा तथा खेलकुद मन्त्रालय माताहत ल्याइएको छ । विभागीय मन्त्रीका हैसियतमा कोषका अध्यक्ष बनेका तामाङले बजेट व्यवस्थापन र नीतिगत सुधारका कामहरु गर्ने बताएका छन् ।

‘नयाँ परेँ, धेरै कुरा जानकारी छैन, जेहोस् युवाहरुलाई उद्यमी बनाउने कोषमा के गर्नुपर्छ म गर्छु’ मन्त्रीले भने । कोषको दैनिक कामकारबाहीका लागि कार्यकारी उपाध्यक्ष डा. कल्याण रोका छन् । कार्यकारी निर्देशकको कुर्सी खाली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment