Comments Add Comment

होसियार ! सस्तोमा आईफोन पाउने विज्ञापनको भर पर्दा लाखौं गुम्ला

२ माघ, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा सस्तोमा आइफोन, मोबाइल, घडी र अन्य ग्याजेट बिक्रीमा रहेको सूचना कत्तिको देख्नु हुन्छ ? १ लाख ६२ हजार पर्ने आइफोन–११ प्रो म्याक्स ७० हजारमा दिने भनेपछि कसको नजर नपर्ला र !

तर, यस्तो सूचनाको विश्वासमा पर्दा थुप्रै नेपालीको लाखौं रुपैयाँ विदेशी गिरोहको हातमा पुगेको पाइएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले कम्तीमा एक करोड रुपैयाँ ठगी सकेको यही गिरोहको नेपाली नाइकेलाई समातेको छ ।

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–४ का २८ वर्षीय अजय भन्ने प्रमोद साह छन् । उनी सामाजिक सञ्जालमार्फत नेपालमा ठगी धन्दा चलाउने एउटा गिरोहको मुख्य व्यक्ति भएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य बताउँछिन् ।

‘विदेशी समूहसँग मिलेर नेपालीबाट लाखौं रुपैयाँ पठाउने कामको मुख्य नाइके नै अजय हुन्’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बज्राचार्यले भनिन्, ‘उनले रकम लिन भने पर्साकै मेवालाल शाह तेलीको बैंक खाता प्रयोग गर्ने गरेका थिए ।’ अजयसँग सम्बन्ध देखिएपछि तेली पनि पक्राउ परेका छन् ।

दुवै जनाविरुद्ध ठगीसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बज्राचार्य बताउँछन् ।

नक्कली कुरियर वेवसाइट

ललितपुरका प्रवीण शाहले ४ पुसमा फेसबुकमा स्काई मोबाइल नामक फेसबुक पेजमार्फत बुस्ट गरिएको एउटा विज्ञापन देखे । जसमा भनिएको थियो, ‘ब्राण्ड न्यु एप्पल आइफोन–११ म्याक्स ।’

तल केही तस्वीर पनि थिए भने ७५ हजार तिर्दा दुईदेखि तीन दिनमा घरमै सामान आइपुग्ने भनिएको थियो । यो देखेर लोभिएका उनले विज्ञापनमै दिइएको ह्वाट्स एप सेल्स म्यानेजरको नम्बरमा म्यासेज गरे ।

‘म्यासेज गर्नेवित्तिकै फोन किन्ने भए एउटा फारम भर्न भनियो’, साहले अनलाइनखबरसँग सुनाए, ‘फाराम भर्न ५ हजार भनिएको थियो, त्यो ई–सेवामार्फत तिर्नेवित्तिकै मैले ट्याकिङ कोड पाएँ ।’ ह्वाट्स एपमा एउटा वेवसाइटको लिङ्क दिइएको थियो, जसमा आइफोन आउने प्रक्रिया सुरु भएको सूचना आयो ।

‘अर्को दिन मैले एड्भान्स १० हजार रुपैयाँ दिएँ, पछि इन्सुरेन्सको भन्दै ४० हजार मागियो, त्यो पनि दिएँ’, उनले सुनाए, ‘त्यसपछि सामान अमेरिका–ग्रिस–लेबनान–इराक हुँदै पाकिस्तान आएको देखियो ।’

नक्कली वेवसाइटमा देखाएको ट्याकिङ विवरण

यहीवेला ललितपुर प्रहरीको अनुसन्धान अधिकृतको टोलीले उनलाई फोन गरे । ‘तपाईं ठगिएको हुनसक्नु हुन्छ’ भन्दै फोन गर्दा उनले सुरुमा विश्वासै नगरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

साहले जावलाखेलमा रहेको प्रहरी कार्यालयमा गएर सामान पठाउने एजेन्टसँग कुरा भइरहेको च्याट मात्र देखाएनन्, फोनमै समेत कुरा गरेर सुनाए । तर, प्रहरी भने उनी ठगको जालमा परेकोमा पहिल्यै ढुक्क थियो ।

त्यहीबीच जब पाकिस्तानमा भन्सारको शुल्क तिर्नुपर्ने भन्दै भन्दै उनलाई फेरि २० हजार रुपैयाँ मागियो, त्यसपछि उनले प्रहरीले भनेको कुरा सम्झिए । पटकपटक रकम पठाउँदा पनि उस्तै माग दोहोरिरहेपछि उनलाई पनि शंका लागेको थियो ।

त्यसपछि ट्याकिङ आईडी लिएर डीएचएल र अन्य कुरियर सर्भिससम्म पुगे, हरेकले आईडी गलत भएको सुनाए । त्यस्तो आईडी हुँदै नभएको बताएपछि उनी झस्किँदै प्रहरीसमक्ष पुगे र अनुसन्धान अधिकृतहरुलाई सघाउन थाले ।

प्रहरी कसरी पुग्यो शाहसम्म ?

सामान्यतयाः अनलाइन ठगी सम्बन्धी घटनाबारे प्रहरीमा उजुरी परेपछि पीडितमार्फत अनुसन्धान गर्ने गरिन्छ । रकम लिने व्यक्ति मात्रै समातिने गरेको देखिन्छ । तर, यसपटक ललितपुर प्रहरीको विशेष टोलीले फरक पाटोबाट अनुसन्धान अघि बढाएको पाइएको छ ।

एसएसपी बज्राचार्यले यो शैलीबाट ठगी भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्न इन्टलिजेन्स टोलीलाई निर्देशन दिएकी थिइन् । टोलीले अनलाइन ठगीको एउटा सामान्य केशबाट भित्र छिरेर रकम पठाइएको ईसेवा खाताको विश्लेषण गरेको थियो ।

‘रकम पठाउनेवित्तिकै ईसेवा एकाउन्ट खोलिएको नम्बर डिएक्टिभ हुने गरेको देखिएकाले हामीले त्यस्तै एउटा नम्बरको ट्रान्जेक्सनको पूर्ण विवरण झिकाएका थियौं’, अनुसन्धानमा संलग्न एक अधिकृतले सुनाए, ‘त्यही विवरणमा भएको नम्बरमध्ये एउटा साहको थियो ।’

विभिन्न ईसेवा आईडी पन्छाउँदै जाँदा आठौं लेयरमा प्रहरी मेवालाल शाहको खातासम्म पुगेको थियो । उनलाई पक्राउ गरेर सोधपुछ गर्दा शाहको एटीएम कार्ड अजयले प्रयोग गर्ने गरेको देखिएको प्रहरी बताउँछ ।

‘अजयले प्रहरीबाट जोगिन हरेक लेयर काट्ने प्रयास गरेको देखिन्छ’, अधिकृतहरु भन्छन्, ‘तर, हरेक लेयर पन्छाउँदै हामी मुख्य एजेन्ट अजयसम्म पुग्यौं ।’

आइतबार पर्सा प्रहरीले अजयको आईएमई सेन्टरमा छापा हानेर कागजपत्रहरु बरामद गरेको छ । ती कागजपत्रमार्फत ठगिएका अन्य व्यक्तिसमक्ष पुग्न सहज हुने प्रहरीको अपेक्षा छ ।

उनले आईएमईमा आउने विभिन्न व्यक्तिको नागरिकता प्रयोग गरेर सीम कार्ड निकालेर ईसेवा खाता खोल्दै त्यसमार्फत रकमको कारोबार गर्ने गरेको समेत पाइएको छ ।

यो पनि पढ्नुहोस ठगीका १० शैलीः ओहोदाको कमाउ धन्दादेखि रियालिटी शोसम्म

विदेशी कनेक्सन केलाउँदै प्रहरी

प्रविणले प्रहरी कार्यालयमा आउँदा एक जना अफ्रिकी मुलका व्यक्तिले फोनमा कुराकानी गरेका थिए । आइतबार पक्राउ परेका व्यक्ति प्रहरीले सार्वजनिक गर्दैगर्दा पनि उनले ह्वाट्स एपमा जवाफ फर्काइरहेका थिए ।

उनको प्रकरणमा भूमिका केके हो भन्ने विषयमा प्रहरीले अहिले खोजी गरिरहेको छ । साथै, विदेशसम्म शाहले कसरी रकम पठाउँथे भन्ने खुलिसकेको छैन ।

ठगीका लागि नक्कली कुरियरको वेवसाइटसमेत बनाइएकाले प्रकरणमा विदेशी गिरोहको संगठित संलग्नता हुनसक्ने आशंका गरिएको छ । ‘ठगी गर्न राम्रै लगानी गरेको देखिन्छ, त्यसैले यसमा विदेशी गिरोहको संगठित संलग्नता हुनसक्छ’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment