Comments Add Comment

त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि भएको हातपातको विरोध

७ माघ, वीरगञ्ज । सोसाईटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालले त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टर सविन भण्डारी माथि गरिएको हातपातप्रति विरोध जनाएको छ ।

संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर जेजु नाथ पोखरेल र महासचिव नविन्द्रराज विष्टले विज्ञप्ती जारी गर्दै डाक्टर भण्डारीप्रति गरिएको दुव्र्यवहार र हातपातप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनीहरुले विज्ञप्तीमा नेपाल चिकित्सक संघले अस्वाभाविक गतिविधिमा संलग्न अपराधिक मनोवृत्तिका व्यक्तिहरुलाई ‘जेल विदवाउट बेल’ (विनाधरौटी जेल चलान) को प्रावधानलाई कानुनमै व्यवस्था गरी कार्यान्वयन गर्न पटक-पटक गर्दै आएको माग ज्यादै सान्दर्भिक देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोभिड-१९को अत्यन्तै जोखिमपूर्ण अवस्थामा आफ्नो ज्यानको प्रवाह नगरी देशभर स्वास्थ्य सेवा प्रवाहमा अहोरात्र खटिएका चिकित्सकहरुमाथि नै बारम्बार अमानवीय घटना गराउनुले कानुनी राज्यको प्रत्याभूतिमा समेत प्रश्न चिह्न खडा गरेको विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत जिम्मेवार चिकित्सकमाथि शारीरिक हमला, गाली गलौज तथा अस्पताल तोडफोडमा संलग्न हुनु अत्यन्तै निन्दनीय घटना भएको उनीहरुको ठहर छ । विज्ञप्तीमा यस्ता घटनाको जति निन्दा गरे पनि कम हुने उल्लेख गरिएको छ ।

सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका आजीवन सदस्य समेत रहेका डाक्टर भण्डारी माथि मंगलबार शिक्षण अस्पतालको कोभिड आईसीयूमै हातपात भएको थियो ।

डाक्टर भण्डारी माथि हातपात गर्ने ३६ वर्षीय कृष्ण प्रसाद गौतमलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

दुई दिन अघि शिक्षण अस्पतालको कोभिड आईसीयूमै कार्यरत डाक्टर दिलीप बरालमाथि पनि विरामीका आफन्तले दुर्व्यववहार गरेका थिए । क्रिटिकल केयरमा कार्यरत चिकित्सकमाथि निरन्तर आक्रमण हुनुले अस्पतालमा सुरक्षित वातवरण नभएको पुष्टि गर्ने नेसनल रेजिडेन्स डाक्टर एशोसियसनका महासचिव डाक्टर सुमन दाहालले बताए ।

‘लकडाउनका बेला सबै घरमा बस्दा पनि डाक्टरहरु निरन्तर कोभिडका विरामीको सेवामा खटिए, चिकित्सकको अभाव हुँदा आफू संक्रमित भएर अरुको सेवा गरे ।

घरपरिवार छोडेर सेवामा खटिए, सरकारले दिन्छु भनेको भत्ता समेत पाएका छैनन्,’ उनले भने, ‘अहिले चिकित्सकलाई लात्तीले हान्ने, छातीमा समातेर धकेल्ने जस्ता दुष्कार्य भइरहेको छ । यसले काम गर्ने वातावरण नभएको पुष्टि हुन्छ ।’

दोषीलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग चिकित्सकहरुले राखेका छन् । काम गर्नका लागि सुरक्षित वातावरण हुनुपर्ने, चिकित्सकमाथि दुव्र्यवहारको अन्त्य हुनुपर्ने र जेल विदआउट बेलको प्रावधान ल्याउनुपर्ने माग उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment