Comments Add Comment

पीएम कप क्रिकेट : पुलिस र लुम्बिनी तथा एपीएफ र गण्डकी भिड्दै

८ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

समूह ‘बी’ अन्तर्गत साविक विजेता नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

बुधबार भएको खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको पुलिस त्यही लयलाई निरन्तरता दिन चाहन्छ । पहिलो खेलमै बागमती प्रदेशसँग पराजित भएकोले पुलिसलाई सेमिफाइनल पुग्न बाँकी खेलहरुमा उत्कृष्ट प्रदर्शनसहित जित आवश्यक छ ।

उता कृष्ण कार्कीको कप्तानीमा रहेको लुम्बिनीले भने पहिलो खेलमा प्रदेश २ लाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

जारी प्रतियोगितामा लुम्बिनीको यो दोस्रो खेल हुनेछ । कप्तान कार्कीले पहिलो खेल जितेपछि यस पटक आफ्नो टिम विगतमा भन्दा राम्रो रहेको बताएका थिए । उनले एक पटकमा एक खेललाई मात्र ध्यान राखेर खेल्दै जाने बताएका थिए ।

समूह ‘बी’ मा दुवैको समान २ अंक छ । पुलिसले दुई खेल खेल्दा लुम्बिनीले एक खेल खेलेको छ ।

यस्तै समूह ‘ए’ मा रहेका विभागीय टोली एपीएफ र गण्डकी प्रदेशबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । आफ्नो पहिलो खेलमा प्रदेश १ लाई पराजित गरेको एपीएफ लगातार जित हात पार्ने योजनामा छ । शरद भेषवाकरको कप्तानीमा रहेको एपीएफमा अनुभवी र युवा खेलाडीहरुको मिश्रण छ ।

उता गण्डकीले भने समूहमा तीन वटा खेल खेलिसक्दा एक खेल मात्र जितेको छ । समूह चरणमा गण्डकीको यो अन्तिम खेल हुनेछ । पहिलो खेलमा आर्मीसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा प्रदेश १ लाई हराएको थियो । तेस्रो खेलमा भने गण्डकी कर्णाली प्रदेशसँग पराजित भयो ।

एपीएफसँग पराजित भएमा गण्डकीको यात्रा समूह चरणबाटै समाप्त हुनेछ । यसअघि नै लगातार तीन खेल हार्दै प्रदेश १ एक खेल अगावै समूह चरणबाटै बाहिरिसकेको छ । गण्डकीले एपीएफलाई पराजित गरेको खण्डमा पनि ४ खेलबाट ४ अंक मात्र हुनेछ र सेमिफाइनलका लागि पर्याप्त नहुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment