+
+
अन्तर्वार्ता :

‘निफ्राले सेयर बजारलाई उत्साहित बनायो’

पुँजी बजारप्रति नकारात्मक धारणा बन्छ कि भन्ने चिन्ता छः अध्यक्ष थापा

रोयल आचार्य रोयल आचार्य
२०७७ माघ २१ गते १८:१०

२१ माघ, काठमाडौं । अघिल्लो साता नेपाली सेयर बजारको अहिलेसम्मकै ठूलो साधारण सेयर (आईपीओ) बाँडफाँट भयो ।

पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जारी गरेको ८ अर्बको आईपीओका लागि १५ लाख ३० हजारभन्दा धेरै सर्वसाधारणले आवेदन दिएका थिए । तीमध्ये ६ हजारभन्दा धेरैको रितपूर्वक आवेदन नदिएका कारण सेयर पाउन सकेनन् भने बाँकी सबैले धेरैथोरै सेयर पाए ।

५० कित्तासम्म आवेदन दिने सबैलाई ५० कित्ता सेयर परेको छ भने त्यो भन्दा धेरै आवेदन दिने ४ लाख भन्दा बढीले थप ६० कित्ता सेयर पारे ।

निफ्राले नेपाली सेयर बजारमा एउटा नयाँ रेकर्ड नै बनायो । यसको आईपीओ निष्काशनको जिम्मा पाएको एनआईबीएल एस क्यापिटल पनि दंग छ । क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा अहिले सेयर बजारमा रौनक छाएको बताउँछन् ।

प्रस्तुत छ, मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्षसमेत रहेका थापासँग पुँजी बजारको पछिल्लो अवस्थाबारे गरिएको कुराकानीको सम्पादित अंश :

नेपाली पुँजी बजारको पछिल्लो अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

नेपालको पुँजी बजारको अवस्थालाई विश्लेषण गर्नु भन्दा पहिला यसको सुरुवाती चरणबारे थोरै चर्चा गर्नु उचित हुन्छ । पुँजी बजारलाई कुनै पनि अर्थतन्त्रको ऐनाको रुपमा लिइन्छ । विश्वको अन्य मुलुकमा यसको सुरुवात धैरै पहिला भएको भएपनि नेपालमा वि.सं. १९९४ ताका नेपाल बैंकको सार्वजनिक सेयर निष्काशन भएसँगै भएको पाइन्छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड स्थापना भने धेरै पछि मात्र भयो । धितोपत्र सम्बन्धी ऐन २०६३ जारी भए पश्चात मात्र नेपाली पुँजी बजारको विकास हुने आधार तयार भयो । अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली पुँजी बजार अलि अपरिपक्व देखिनु र सोचेअनुरुप विस्तार नहुनुमा चाहिँ हाम्रो मुलुकको राजनीतिक अस्थिरतालाई बाधकको रुपमा देख्छु ।

पछिल्लो ४–५ बर्ष यताको गतिविधि नियाल्दा भने उत्कृष्ट त नभनौ सन्तोषजनक विस्तार भइरहेको देखिन्छ । यो सन्तोषजनक अवस्थाको आधार भनेको बजार विकास–विस्तारको लागि चालिएका कदमहरु हुन् । विभिन्न भौतिक तथा प्राविधिक पूर्वाधारहरुको निर्माण, बजारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउनका लागि विभिन्न ऐन, नीति–नियम र कानुनहरुको व्यवस्था, आधुनिक प्रणाली र प्रविधि प्रयोग र परिचालनले बजारमा देशैभरिबाट सहभागीमूलक उपस्थिति बढ्दै गयो ।

अन्तर्राष्ट्रिय बजारमा भएका अभ्यास र प्रणाली अनुशरणले पनि नेपाली सेयर बजारको विकास–विस्तारलाई सन्तोषजनक अवस्थामा पुर्‍यायो । पछिल्ला केही बर्षको प्रगति हेर्दा एकदमै आशावादी र उत्साही बन्न सकिने अवस्था छ । नेपाली पुँजी बजार अब आधुनिक युगमा प्रवेश गरिसकेको छ । चुनौतीहरु पनि धेरै नै छन् ।

पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । यसको प्रमुख कारण के–के देख्नुहुन्छ ?

पुँजी बजारतर्फ आम लगानीकर्ताको आकर्षण बढेको सत्य हो । जसले गर्दा बजारमा एक किसिमको रौनक छाएको छ । यसले नेपाली पुँजी बजारलाई चलायमान बनाइरहेको छ ।

जहाँसम्म के ले गर्दा यस्तो भयो भन्ने प्रश्न छ, मलाई एक दुई कारण वा केही समयको परिवर्तन मात्र हो भन्ने लाग्दैन । नेपाली पुँजी बजारका ४–५ बर्ष यताका गतिविधिहरुलाई नियाल्यौँ भने यसमा आएका आधुनिक प्रणाली र प्रविधि प्रयोग–परिचालन तथा ऐन, नीति–नियम र कानुनमा गरिएका परिवर्तनले पारदर्शीता र विश्वसनीयता अभिवृद्धि भयो । यसले गर्दा लगानीकर्ता आकर्षित भए ।

साथै, बजारमा निरन्तर आइरहेका विभिन्न कम्पनीका प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ), ऋणपत्र निष्काशन, नयाँ वैकल्पिक उपकरणहरुले पनि लगानीकर्ताको सहभागिता बढाइरहेको देखिन्छ ।

यसमा पनि बलियो कारण भनेको नेपाली पुँजी बजारमा आएको लगानीमैत्री प्रविधिहरुको प्रयोग नै हो । तथापि, यसमा रहेका प्राविधिक त्रुटीहरु सच्याउँदै अघि बढ्नुपर्ने अवस्था छ । पुँजीबजारमा देखिएको आकर्षणले छरिएर रहेको पुँजीलाई एकीकृत गरी अर्थतन्त्रमा ल्याउन सकिन्छ भन्ने कुरामा विश्वस्त हुने आधार दिएको छ ।

पछिल्लो समय डिम्याट खाता खोल्नेहरुको भीड देखिन थालेको छ । हालसम्म २६ लाख ८८ हजार भन्दा धेरै डिम्याट खाता पुगिसकेका छन् । यो संख्याको आधारमा नागरिकमा पुँजी बजारको पहुँच पुगिसकेको मान्न सकिन्छ ?

पछिल्लो समय विमा कम्पनी, साना–ठूला कम्पनीहरुका आईपीओ आइरहँदा डिम्याट खोल्नेहरुको संख्या ह्वात्तै बढेको छ । यो दिन प्रति दिन बढ्दै गइरहेको छ । यसले हामीलाई थप उत्साहित पनि बनाएको छ । यसमा धितोपत्र बोर्डको ‘एक नेपाली एक डिम्याट खाता’ अभियानले पनि काम गरेको मेरो बुझाइ छ ।

तर पुँजी बजारमा नागरिक पहुँच पुगिसकेको भन्न चाहिँ अलि हतार हुन्छ । किनभने, अहिले खुलेका जुन डिम्याट खाताहरु छन् वा जो लगानीकर्ता छन् ती उपत्यका वा आसपासका क्षेत्रका छन् । कि त देशका प्रमुख शहरका छन् ।

पुँजी बजारमा मुलुकको सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व भएको अवस्था छैन । यसो हुनुको प्रमुख कारण पुँजी बजारसम्बन्धी जनचेतनाको कमी हो । वैदेशिक रोजगारीको सिलसिलामा होस् या अन्य कारणले देश बाहिर रहेका नेपालीहरुले अझै पनि सहज तरिकाले डिम्याट खोल्ने वा पुँजी बजारमा सहभागी हुने अवस्था छैन ।

पुँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै मुलुकको दूरदराज क्षेत्र र विदेशमा रहेका नेपालीहरुको समेत विश्वसनीय तथा सहज पहुँच नबनेसम्म पुँजीबजारमा आम नागरिकको पहुँच पुगेको मान्न सकिँदैन ।

पुँजी बजार प्रति सर्वसाधारणको बुझाइ कस्तो पाउनु हुन्छ ?

नेपालको इतिहासकै सबैभन्दा ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ भर्खरै हामीले सम्पन्न गरेका छौँ । यसमा अहिलेसम्मकै बढी आवेदन परेको छ । यो आईपीओले गर्दा पनि एक हिसाबले जागरण आएको मान्न सकिन्छ ।

यसमा लगानीकर्ताको हात खाली नहुने भएर पनि उलेख्य सहभागिता भएको हुन सक्छ । साथै अहिले नेपालको दोस्रो बजार पनि निरन्तर बढ्ने क्रममा रहेकाले लगानीकर्ताको पुँजी बजारतर्फ ध्यान आकृष्ट भएको हुन सक्छ ।

मेरो बुझाइमा अझै पनि पुँजी बजारप्रति सर्वसाधारणको बुझाइ कमजोर नै छ, आधारभूत ज्ञानको कमी देख्छु । यसले गर्दा अनावश्यक हैरानी साथै उच्च जोखिम बढ्न गई पुँजी बजारप्रति सर्वसाधारणको धारणा नै नकारात्मक बन्न जाने हो कि भन्ने चिन्ता छ ।
यसमा पुँजी बजारका सबै सम्बद्ध पक्ष मिलेर प्रभावकारी ढंगले सकारात्मक कदम चालेर सर्वसाधारणलाई जागृत गराउँदै जानु पर्छ ।

कोरोना भाइरस महामारीका कारण देशका सबै क्षेत्र प्रभावित बनिरहँदा मर्चेन्ट बैंकहरुको व्यवसाय कस्तो रह्यो ?

विश्वमा अप्रत्यासित रुपमा देखा परेको कोभिड–१९ संक्रमणको प्रभाव नेपालमा देखिना साथ स्वाभाविक रुपमा मर्चेन्ट बैंकहरुको व्यवसाय पनि प्रभावित भयो नै ।

लामो समय लकडाउन रह्यो । भइरहेको सबै व्यवसायमा प्रत्यक्ष असर पर्‍यो । व्यवसाय खुम्चिदा सोचे अनुरुपको प्रगति भएन । व्यवसायको नयाँ आयाम वा नयाँ सम्भावना खोजी गरी अगाडि बढ्न बाधा सिर्जना भएको महसुस गरेका छौं ।

तथापी, संक्रमणकाबीच पनि हामीले सेवामा निरन्तरता दियौं । यस्तो विषम परिस्थितिमा केही कमजोरी अवश्य रहे होलान्, र पनि हामी सेवालाई पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ ।

हामीले सामाजिक दूरी कायम गरी कोरोना संक्रमण न्यूनिकरण गर्ने उद्देश्यले अनलाइन, फेसबुक, भाइबर जस्ता भर्चुअल सम्पर्कमार्फत सेवालाई निरन्तर बनायौं । कार्यालयमै सेवा लिन चाहने ग्राहकलाई स्वास्थ्य सुरक्षाको लागि सतर्कता अपनाई सेवा दिँदै आइरहेका छौं ।

मर्चेण्ट बैंकरहरूको कामको दायरा नेपालको धितोपत्र बजारका लागि पर्याप्त छ ?

केही वर्षयता मर्चेण्ट बैंकहरुको नीतिगत तथा कार्यगत दायरा क्रमिक रुपमा विस्तार भइरहेको छ । यसमा नीतिगत र कार्यान्वयन तत्परता दुवै महत्वपूर्ण हुन्छ ।

बजारले माग गरे अनुसार वा बजार तयार गरेर नीतिगत व्यवस्था भयो भने कार्यान्वयन पक्ष प्रभावकारी हुन्छ । कतिपय अवस्थामा बजारलाई अलिकति अगाडि जान दिएर विस्तारै नीति नियमहरु तर्जुमा गर्न पनि सकिन्छ । यसको लागि नियमनकारी निकायले पनि सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

यसरी हेर्दा शुद्ध धितोपत्रको निष्काशनबाट सुरु भएको मर्चेण्ट बैंक हाल आएर लगानी ब्यवस्थापन, म्युचल फण्ड हुँदै कर्पोरेट एडभाइजरी र विशिष्टिकृत लगानी ब्यस्थापनसम्म आइपुगेर विस्तारै अन्तर्राष्ट्रिय स्तरको इन्भेष्टमेण्ट बैंकतर्फ बढेको देखिन्छ । हालसालै लागु भएको बुक विल्डिङ प्रक्रियामा समेत हाम्रो भूमिका बढेर गएको छ ।

तसर्थ दायराका हिसाबले मर्चेण्ट बैंकहरुलाई अब गाह्रो देख्दिन । यी सबै क्षेत्रहरुलाई स्थापित गराउन हामीले गुणस्तर तथा उपस्थितिका हिसाबमा धेरै स्तरोन्नति गर्नुपर्नेछ । नियमनकारी निकायहरुले पनि केही समय सहजकर्ताको भूमिका निर्वाह गर्नु आवश्यक छ ।

मर्चेन्ट बैंकहरुले झेलिरहेका चुनौती चाहिँ के–के हुन् ?

नेपालमा सञ्चालित अधिकांश मर्चेन्ट बैंक ‘क’ वर्गको मान्यता प्राप्त बैंकहरुका सहायक कम्पनीको रुपमा छन् । पछिल्लो समय यस्ता निकै कम्पनी दर्ता भएर संचालनमा छन् ।

यस्ता कम्पनी अलि अध्ययन–अनुसन्धान गरेर आफ्नो प्रतिस्पर्धी क्षमता यकिन गरेर खोल्नुपर्नेमा त्यसो नहुँदा कसरी व्यवसाय विस्तार गरेर जान्छन् भन्ने चुनौती देख्छु । एकातर्फ व्यवसाय खुम्चिँदै जानु र अर्कोतर्फ प्रतिस्पर्धा बढ्दै जानु अहिलेको प्रमुख चुनौती छ ।

मर्चेन्ट बैंक संख्या ज्यादा भए चुनौती थपिन्छ भन्ने मेरो भनाइ होइन । प्रतिस्पर्धा हुनु बजारका लागि राम्रो कुरा हो, तर अहिले जुन प्रकारको नयाँ ब्यवसायिक आयामहरु देखिएका छन्, त्यसमा जोड दिने हिसाबले, त्यसखालको नयाँ ब्यवसाय निर्माण गर्ने किसिमले मर्चेण्ट बैंकले आफूलाई तयार पार्नुपर्ने ठूलो चुनौती देख्छु ।

नेपाली पुँजी बजारको विकासका लागि अझ नीतिगत सुधार आवश्यक देख्नुभएको छ कि ?

बजारको अवस्था अनुसार क्रमिक नीतिगत सुधार भइरहनुपर्छ, जुन भइरहेकै पनि छ । सबभन्दा महत्वपूर्ण कुरा नीतिगत सुधारसँगै यसको कार्यान्वयन हो । कार्यान्वयनमा जाँदा मात्र परिमार्जन वा थप नीति आवश्यक परेको थाहा हुन्छ । सम्बद्ध सबै पक्षले नीति कार्यान्वयनमा ध्यान दिँदा धेरै कुरा सहज हुँदै जानेछ ।

बजारमा प्रयोग भएका प्रविधिहरुको विश्वसनीयता तथा सुरक्षा, विभिन्न कर्पोरेट बण्डलगायतका नयाँ धितोपत्र उपकरणहरुको प्रयोग, धितोपत्र बजारबारे जनचेतना अभिवृद्धि, म्युचल लगायत फण्डहरुका सम्बन्धमा, करहरुको ब्यवस्थामा, विदेशी लगानी तथा सेयर बजारमा एनआरएनहरुको लगानी आदिलाई प्राथमिकतामा राखेर कार्यहरुमा भने सुधार गर्नुपर्ने देखिन्छ ।

अब तपाईकै कम्पनीको कुरा गरौँ । एनआईबीएल एसले इतिहासकै ठूलो आईपीओ निष्काशन गरेको छ । कम्पनीको बारेमा पनि थोरै बताइदिनोस् न ।

यसमा हामीले खुसी र गौरव महसुस गरेका छौं । एनआईबीएल एस क्यापिटलले स्थापना कालदेखि नै आफूलाई अग्रणी मर्चेन्ट बैंकको रुपमा स्थापित गर्दै निरन्तर गुणस्तरीय सेवा दिँदै आइरहेको छ । भविष्यमा पनि नविनतम तथा गुणस्तरीय सेवा दिनेछौं ।
हामीले अहिले म्युचल फण्ड व्यवस्थापन, निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापक, संस्थागत परामर्शदाता, डीपी सेवाजस्ता सेवाहरु प्रदान गर्दै आइरहेका छौँ ।

म्युचल फण्ड अन्तर्गत दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरेर जम्मा तीन योजना सञ्चालनमा छन् भने कम्पनीको स्थापना कालदेखि नै निफ्रा जस्ता दर्जनौं आईपीओहरु व्यवस्थापन गरिसकेका छौं । अन्य सेवामा पनि बजारमा अग्रणी भएर अघि बढिरहेका छौं ।

सधैँ केही न केही नयाँ अभ्यास तथा सोचका साथ सेवा दिने उदेश्यले हामी अगाडि बढिरहेका हुन्छौँ । निकट भविष्यमा हामी बुक बिल्डिङको माध्यमबाट बजारमा उत्पादनमुखी तथा अन्य संस्थाहरुलाई सेयर निष्कासनका लागि पहल गर्ने, खुला योजनालाई अझ विस्तारित गराउने, संस्थागत परामर्शदाता सेवालाई समेत आकार दिने तथा प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल वा यस्तै प्रकारका अन्य विशिष्टीकृत लगानी कोषहरु सम्बन्धी सेवा दिने योजनामा छौं ।

नेपाल मर्चेन्ट बैंकर संघ लगायत संघ–संस्थासँग मिलेर सर्वसाधारणमा जनचेतना जगाउने खालका कार्यक्रमहरु चलाउने योजना पनि छ ।

नेपाली पुँजी बजारमा सामूहिक लगानी कोषको संख्या पनि बढीरहेको छ । एनआईबीएल एस क्यापिटलले नै निजी क्षेत्रबाट पहिलो खुलामुखी योजना पनि ल्यायो । यसलाई कसरी अगाडि बढाउदै हुनुहुन्छ ?

पुँजी बजारको विकास र विस्तारको बाटोमा सामूहिक लगानी कोषको एकदमै महत्वपूर्ण भूमिका छ भन्ने कुरा हामीले बिर्सनु हुन्न । हाल विद्यमान सामूहिक लगानी कोषको आकार अझै पनि सानै रहेको र यसलाई नयाँ–नयाँ योजनाहरुको साथमा बढाउँदै लिएर जानुपर्छ भन्ने हाम्रो धारणा छ ।

नेपाली पुँजी बजारमा सामुहिक लगानी कोष नियमावली २०६७ बमोजिम हामीले नै पहिलो पटक एनआईविएल सहभागिता फण्ड नामक खुलामुखी योजना ल्याएर सफलतापूर्वक सञ्चालन गरिरहेका छौं ।

हालसम्मको अवस्थामा यसको आकार वृद्धि तथा कार्य सम्पादन सन्तोषजनक छ । अन्य कम्पनीहरु पनि सोही किसिमको योजना ल्याउन उत्साहित देखिएका छन् ।

विश्वभर सफल भएको यस किसिमको योजना नेपालमा पनि सफल हुनेमा हामी विश्वस्त छौं । तथापी, यससम्बन्धी जनचेतना र सुरुवाती समयमा नियमनकारी निकायबाट आशा गरिएको सहयोग नहुँदा अपेक्षित वृद्धि हुन सकेको छैन ।

अब यस्ता नयाँ योजनाहरु पनि आएपछि हामी यस्ता खुलामुखी योजनाहरुबारे आक्रामक रुपमा जनचेतना बढाउने खालका कार्यक्रम चलाउँछौं ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?