Comments Add Comment

पुस्तक जतन गर्ने संस्कारको विकास गरौं न

२०४३ साल माघ महिनाको २ गते थियो । कक्षा ६ को पहिलो दिन । चिसो मौसममा नयाँ कमिज स्विटर र कट्टु लगाएर स्कुल जाँदा धेरै खुसी थिएँ । गाउँको प्राथमिक शिक्षा सकेर बेसीको माध्यमिक स्कुलमा जाँदै थिएँ । यो मेरा लागि अझ खुसीको क्षण थियो । त्यसैले खुट्टामा चप्पल पनि लाउन पाइएको थियो । घरबाट करिब एक घण्टाको बाटोमा रहेको कास्की पोखराको हेमजामा गौंरीशंकर मा.वि. स्कुल पढ्नको लागि गाउँका दिदी दाइ अंकलहरूसँग जान पाउँदा धेरै नै रमाइलो हुन्थ्यो । त्यहीमाथि गाडी हेर्न पाइने र कहिलेकाहीँ ट्रक र पिटपिटे ट्याक्टरमा झुण्डिनु पाउँदा संसारै जिते जस्तो लाग्थ्यो ।

म र मेरा दाजु एउटै कक्षामा पढ्ने हुँदा हामीले पढ्ने पुस्तक एक सेट मात्र थियो । झोला भने उही पुरानो अघिल्लो सालको थियो । ६ कक्षा पढिसक्नु भएका दाइको पुस्तक ६ रुपैयाँमा किनेका थियौं । त्यति बेला लगभग सबैले अघिल्लो वर्षको विद्यार्थीहरूको किताब उतीर्ण हुनेले किन्ने चलन थियो । यो संस्कार अहिलेको पुस्तालाई अचम्म लाग्न सक्छ । एक-दुईबाहेक सबैले पुरानै किताब र पुरानै झोला लिएर आउँथे । झोलाहरू प्राय हातले बुनिएका पाइन्थ्यो भने केही जुटका बलिया पाइन्थे । बिहान ८ बजे खाना खाएर पहाडको बाटो स्कुल झर्ने हामी साँझ ६ बजेमात्र घरमा पुग्थ्यौं । खाजा ? अहँ थाहा थिएन । भोकलाई पेटैमा दबाएर बस्थ्यौं ।

यो कुरा किन जोड्न खोजेको हुँ भने समय धेरै परिवर्तन भइसकेको छ । त्यो गाउँ, पोखरा, काठमाडौं त्रिभुवन विश्वविद्यालयबाट २०६० सालमा वनस्पति शास्त्रमा स्नातकोत्तर सकेर केही वर्ष काठमाडौंमा निजी विद्यालय र कलेजमा अध्यापनमा व्यस्त भएँ । मैले अध्यापन गराउने विद्यार्थीहरू धेरै आधुनिकतातर्फ बढी सकेका थिए । पढाउने पद्धति र शैली पनि विल्कुल फरक भएको थियो । त्यो समयमा म अझै आफ्नो बालापनको याद र अतितसँग तुलना गर्थे । अहो ! संसार यस्तो पनि देख्न पाइँदो रहेछ । नयाँ किताब कापी, झोला, खाजा विद्यार्थीहरूलाई कुनै कुराको कमी थिएन । तथापि हाम्रो बालापनमा हुने शिक्षामा रूचि केही न्यून विद्यार्थीबाहेक धेरैमा देख्न सकिएन ।

डा. यज्ञ अधिकारी

४ वर्षको अध्यापनपछि म जमिर्नीको टेक्निकल विश्वविद्यालय म्युनिखमा सस्टेनेबल रिसोर्स म्यानेज्मेन्टमा दोस्रो स्नातकोत्तर पढ्नको लागि पुगे । दुई वर्षको अध्ययनपछि विद्यावारिधि र पोस्ट विद्यावारिधिसम्मको अध्ययन सकिसकेको पनि १४ वर्ष भएछ । भगवान् श्रीरामको वनवास जस्तै । कति समय बस्ने हो थाहा छैन तर पनि मेरो अध्ययन र अनुसन्धान नेपालकै जैविक विविधतामा केन्द्रित छ । विज्ञान र प्राविधिले विश्व साँघुरिँदै गएको छ । जुन क्षेत्र, भूगोल, राष्ट्रमा बसेर पनि आफूले चाहेको ठाउँको अध्ययन र अनुसन्धान गर्न पाइएको छ । अहिलेसम्म नेपालको हिमाली जैविक विविधतासम्बन्धी २० भन्दा बढी अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित भइसकेको छ । यसमा मलाई धेरै गर्व छ । अहिले यही जर्मनीको बाईरुथ विश्वविद्यालयमा वैज्ञानिकको रूपमा आबद्ध छु । तथापि, मेरो मन जीवनका तीन महत्वपूर्ण क्षणलाई सधैं तुलनात्मक रूपमा लिन विवश छ । पहिलो, त्यो अतीत स्कुले दिन, दोस्रो काठमाडौंको स्नातकोत्तर पढाइ र अध्यापन, त्यस्तै तेस्रो जर्मनी जस्तो विकसित देशको यो प्राविधिक युक्त अध्ययन र अध्यापन र अनुसन्धान । यो समय कालसम्ममा नेपाल र जर्मनीले शिक्षामा गरेको लगानी र त्यसमा भएको समर्पण र नतिजामा धेरै कुरा सिक्ने मौका मिलेको छ । तथापि जर्मनीको स्कुलमा हुने विधि र प्रणाली साथै अविभावकको भूमिका कस्तो होला भन्ने कौतुहलता थियो त्यो पनि छोरीहरूले पूरा गरिदिएका छन् । यही चिजलाई यो लेखमा जोड्ने प्रयास पनि गरेको छु ।

पुस्तक छाप्न लकडाउनले छेकेन जेष्ठ १९, २०७७ भन्ने शीर्षकमा कान्तिपुर समाचार ढिलै भएपनि पढ्ने अवसर पाएँ । यस्तो महामारीको बेलामा पनि विद्यार्थीहरूको लागि पुस्तक समयमा उपलब्ध गराउनको लागि रातदिन सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रमा दैनिक १२५ कामदारहरू खटिएका रहेछन् । त्यस्तै, कति निजी छापाहरूमा पनि यस्तो काम भइरहेको होला । यस्ता खालका समाचारहरू लगभग शून्य हुन्छन् । करोडौं बालबालिकाहरूलाई चाहिने पुस्तक हरेक वर्ष कसरी राज्य वा निजी क्षेत्रले पु¥याएको छन् भन्ने कुरा विस्तृत रूपमा तथ्याङ्कमा प्रष्ट भेटिँदैन । साँच्चै भन्नुपर्दा नेपाल जस्तो अविकसित मुलुकमा शिक्षामा गरेको यो योगदान प्रशंसनीय छ ।

हाम्रो जस्तो भौगोलिक र धरातलीय विविधता रहेको देशमा दुर्गम जिल्लाहरूमा शैक्षिक सत्र सुरु भएको चार÷पाँच महिनाको समयमा पनि विद्यार्थीहरूले पुस्तक नपाएको खबर प्रायः हरेक वर्षका समाचार हुने गर्छन् । हामीले केही दशक अगाडि सुनेका यस्ता समाचार यति लामो समय अन्तरालमा पनि उही समस्याबाट गुर्जिनु अस्वभनीय हो । तथापि सहरी क्षेत्रमा वा विकसित मुलकमा बसेर विकासन्मुख देशको बारेमा यस्तो गरे हुन्छ, हामी बस्ने देशमा यहाँ यस्तो छ भन्ने अर्ती उपदेश वा सल्लाह सामाजिक सञ्जालमा दिन जस्तो सजिलो पक्कै पनि नहोला । एकापट्टि देशको धरातलीय र भौगोलिक विकटताले पक्कै पनि प्रमुख समस्या पारेको हुन सक्छ । अर्कोतिर हामीले गरेका कामहरू समयअनुसार परिमार्जित गर्न नसकिनु र उही पुरानै पद्धति अर्को कारण हुन सक्छ ।

तर कतिपय कुराहरू यस्ता सरल छन् जुन हामीले व्यवहारमा उतार्न सहज छ । दशकौंदेखि राज्यको तर्फबाट निजीतर्फबाट लागिरहेका शिक्षाविद् वा सम्बन्धित संस्थाहरूले पुस्तक व्यवस्थापनमा नयाँ आयाम थप्ने खालको अभियान ल्याउन जरुरी देखिन्छ । पछिल्लो समयमा शिक्षा क्षेत्रमा पुस्तक व्यावसायिक बनेको छ । देशमा पाठ्यक्रम परिवर्तन भइराख्नाले पुस्तकमा धेरै लगानी भएको छ । हरेक विद्यार्थीका लागि हरेक वर्ष नयाँ पुस्तक । अमूल्य ज्ञान दिने त्यही पुस्तक पुरानो भनेर किलोको भागमा कवाडीमा दिइन्छ । यो ठूलो विकृतिको रूपमा बढेको छ ।

यसको लागि प्रत्येक विद्यार्थीलाई पाठ्यक्रमा तोकिएका पुस्तकहरू राज्यले नै उपलब्ध गराउन सक्छ । सरस्वतीको प्रतीकको रूपमा रहेको पुस्तकलाई जतन गर्न विद्यार्थीलाई पे्ररित गरिन्छ । यसको लागि विद्यालयमा शिक्षकले नियमित रूपमा निगरानी र कक्षा शिक्षकलाई अनुगमन पनि गरिरहने निर्देशन दिन सकिन्छ । यति धेरै पुस्तकमा लगानी गर्ने राज्यले स्कुलमा डेस्कको तल पुस्तक राख्ने ठाउँ बनाउन सकिन्छ । किनकि यो लगानी हरेक वर्ष गर्नुपर्दैन । विद्यार्थीले आफूलाई चाहिने वा पढ्न मनलागेको पुस्तक मात्र शिक्षकको निगरानीमा केही दिनको लागि मात्र घरमा लैजान सक्छन् । हरेक महिनामा निगरानी हुने पुस्तक शैक्षिक सत्रको अन्त्यमा विद्यार्थीले पुस्तक फिर्ता गर्ने सक्छन् । एवंरीतले हरेक वर्ष अर्को विद्यार्थीले त्यही पुस्तक पढ्न सक्नेछ । पुस्तकलाई पैसा जस्तै जतन र संरक्षण गर्ने विद्यार्थीको बानी बन्न सक्छ यो पनि साना बालबालिकाहरूको लागि ठूलो सिकाइ हो । हामीले नेपालमा पनि पूर्ण रूपमा व्यवहारमा उतार्न सक्छौं । यस्तो मितव्ययिता अपनाउन सकियो भने अभिभावक र राज्यले शिक्षामा गर्ने लगानी हरेक वर्ष अरबौं रुपैयाँ जोगिन सक्छ ।

यदि कुनै विद्यार्थीले पुस्तक बुझाउन नसकेको खण्डमा वा च्यातिएमा जरिवाना स्वरुप तोकिएको पैसा तिर्नुपर्ने एउटा जर्मनीको उदाहरण दिन चाहन्छु । जर्मनीमा कम्तीमा ७ वर्ष अनि बढीमा १० वर्षसम्म विद्यार्थीहरूले एउटा किताब पढ्ने रहेछन् । त्यसैले मेरो छोरीले स्कुलबाट ल्याएको किताब बहिनीले च्यातिदिन्छिन् भनेर उनले नपुग्ने ठाउँमा राखिहाल्छिन् । कस्तो गजब हामीले किताब समाउँदा अलि राम्रोसँग पाना पल्टाउनुपर्छ भन्ने सुझाव दिन्छिन् । कक्षा ४ मा पढ्ने छोरीको किताब मात्र होइन झोला कलम आदि उनका सामानहरू पनि जतन गर्ने बानीले हामी धेरै खुसी छौं । यदि कदम कदाचित पुस्तक च्यातिन पुगेमा शिक्षकको सिफारिसमा स्कुल प्रशासनले साट्ने काम पनि गर्छ । नेपाल सरकारले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजनमार्फत पैसाको जतन गरौं भन्ने सन्देशमूलक विज्ञापन प्रसारण गरेको हुन्छ । तर यसरी पुस्तक जतन गर्ने बानीको विकास गराएमा स्वतः विद्यार्थीहरूले जिम्मेवारीबोध भई निजी तथा सामाजिक वस्तुहरूको पनि जतन गर्ने बानीको विकास हुनेछ ।

अहिले शिक्षामा भएको व्यवसायिकता बढेको छ । हजारौं मूल्य पर्ने पुस्तक हरेक वर्ष किनिरहँदा अभिभावकहरू पनि ठूलो आर्थिक संकटमा परेका छन् । यदि हामीले यसरी नै व्यवस्थापन गर्नको लागि प्रयास ग¥यौं भने अवश्य समय लाग्न सक्छ तर यसबाट धेरैभन्दा धेरै सकारात्मक पक्षहरू उजागरण गर्न सकिन्छ । साथै, अभिवाकहरूले पनि पूर्ण समर्थन र ऐक्यबद्धता जनाउन सक्छन् ।

यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा निर्देशनालयबाट प्रत्येक स्थानीय निकायका शिक्षा अधिकृतहरूलाई प्रादेशिक रूपमा गोष्ठी अथवा सम्मेलन गर्नुपर्छ । उहाँहरूको अनुभव र सुझाव लिई पुस्तकलाई जतन र व्यवस्थापन गर्नको लागि सरल उपाय खोज्ने । गोष्ठीमा एउटा मात्र उद्देश्य छलफल गर्ने र जसमा उद्देश्य कसरी पुस्तक जतनगरी कम्तीमा पाँच वर्ष अथवा अझ बढी प्रयोग हुन सक्ने वातावरणको सिर्जना गर्न प्रेरित गर्न सकिन्छ । फेरि उहाँहरूको निर्देशनमा देशका ७५३ वटै पालिकाका सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापकहरूलाई गोष्ठी वा सम्मेलन गर्न सकिन्छ । यसरी केन्द्रीय, प्रदेश र स्थानीय निकायको बृहत् छलफलपछि निचोड अथवा नियम बनाउन सहज हुनेछ । यसरी समन्वय गर्दा पहिलो वर्षमा पुस्तक जतन हुने खालका विद्यालयमा फर्निचर तथा व्यवस्थापन गर्न हरेक विद्यालयलाई प्रोत्साहन गरिन्छ । यदि ५ वर्षसम्म मात्र पुस्तक जतन भएमात्र अर्बौंं रुपैयाँ राज्यको र अभिभावकको बचत हुने निश्चित देखिन्छन् । हरेक वर्ष विनियोजित रकमले विद्यालयमा बालउद्यान तथा शिक्षाको गुणस्तर सुधारको लागि योजना तर्जुमा गर्न सकिन्छ ।

यसलाई प्रभावकारी बनाउन पुस्तकमा केही नलेख्ने सफा राख्ने र उत्कृष्ट अनुशासित विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रमले थप हौसला प्रधान गर्छ । त्यस्तै, प्रधानाध्यापक र शिक्षकहरूलाई पनि पुरस्कृत गर्नसके विद्यालयमा पुस्तक व्यवस्थापनमा चुस्त बनाउन सकिन्छ । अभिभावकहरूलाई भेला गराइ यो उद्देश्यमा सामेल गराउँदा अभिभावक र शिक्षण संस्थाको आत्मीयता बढाउँदै विद्यार्थीको सफलताको लागि एउटा उत्पे्ररक कारण हुन सक्छ ।

घण्टौं लगाएर विद्यालय आउनेहरूका लागि यो अझै प्रभावकारी बन्न सक्छ । साथै, विद्यार्थीहरू घरमा पुस्तक लैजान नपाउने भएपछि स्कुलमा त्यही प्रणाली अन्तर्गत् प्रभावकारी शिक्षण विधि सुरु गर्न सकिन्छ । यति धेरै भौगोलिक र विविधता भएको देशमा अझैपनि हाम्रो घरवरि पाइने जीवजन्तु, बोटबिरुवा, धार्मिक तथा सांस्कृतिक ठाउँहरूको महत्व दिने खालका पाठ्यक्रम समावेश गर्न सके अझ यो अभियानलाई थप सफलतातिर अगाडि बढाउन मद्धत पुग्छ । यो अभियानको लागि पहिलो वर्ष केही डेस्क बेञ्चबाहेक अतिरिक्त साधन स्रोत केही पनि चाहिँदैन केवल दृढइच्छा शक्ति भएमात्र सफल बनाउन सकिन्छ ।

शिक्षा हामी मानव प्राणीको लागि अतिआवश्यक चिज हो । आज वैज्ञानिक युगमा रमाइरहेका हाम्रा मानव समाजहरू बुद्धि विवेक र ज्ञानको प्रभावबाट निरन्तरता भएको छ । शिक्षा क्षेत्र व्यवसायी हुनुहुँदैन । के गरिब के धनी हरेक समाजका कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुनुहुँदैन । शिक्षा यस्तै गहना हो यो विनासमाजको भविष्य अन्धकार छ । त्यसैले हामी मानवले शिक्षा जस्तो आधारभूत कुरालाई व्यावसायिकभन्दा पनि कर्तव्यबोध र दायित्वबोध हिसाबले अनुशरण गर्नुपर्छ । भावी पुस्ताहरूका लागि यदि हामीले यो समयमा उचित संस्कारको विकास गर्न सक्यौं भने हाम्रो समाज र हाम्रा सन्ततिको लागि भविष्य उज्जल छ । यस्ता सकारात्मक सोचहरूलाई प्राथमिकता दिई व्यवहारमा उतार्न हामी सबैले आ–आफ्नो ठाउँबाट सुरु गर्नु अहिलेको टड्कारै आवश्यकता हो । हरेक वर्ष श्रीपञ्चमीको दिन साना नानीबाबुहरूलाई स्कुल भर्ना गर्ने र अक्षर चिनाउने प्रचलन छ । योसँगै किताब जतन गर्ने बानीको पनि विकास गर्न सके अझ प्रभावकारिता हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment