Comments Add Comment

नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणको काम धमाधम

२५ माघ, चितवन । फराकिलो सडक तर साँघुरा र जीर्ण पुलका कारण दुर्घटनाको खतरा बढेपछि नारायणगणगढ-मुग्लिन सडकखण्डमा पुल निर्माणका काम धमाधम सुरु भएको छ ।

३६ किलोमिटर लामो यस सडकखण्डमा १९ वटा पुल छन् । ती मध्ये तीनवटा नयाँ पुल बनिसकेका छन् भने, जलबीरेको पुल निर्माणको अन्तिम चरणमा छ । पहिलो चरणमा चार र पछिल्लो चरणमा १५ पुल बनाउने प्रक्रिया अन्तर्गत बाँकी १५ पुलको ठेक्का भई धमाधम पुल बन्ने क्रम सुरु भएको छ । दोस्रो चरणका १५ मध्ये ४ पुल निर्माणले गति लिएको छ । बाँकी ११ वटा पुलको डिजाइन स्वीकृती अन्तिम चरणमा छ ।

गत चैतमा ३३ महिनाभित्र १५ पुल निर्माण सक्ने गरी अनक कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भए लगत्तै कोभिडका कारणले काम अघि बढ्न सकेको थिएन ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर सविना रानाभाटका अनुसार सेती दोभान, खहरे, जुगेडी र डुम्रे भन्ने ठाँउमा पुलको काम धमाधम भइरहेको छ । सेती दोभान फाउन्डेसनको काम सकिएको छ ।

१५ वटा पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, किसिन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी आठ पुल छन् ।
प्याकेज १ को कुल ठेक्का रकम ६७ करोड ९९ लाख रुपैयाँ छ । पुलका लागि मात्र ५८ करोड ४० लाख रुपैयाँ छ भने बाँकी रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुनेछ ।

दोस्रो प्याकेजको कुल ठेक्का रकम ५९ करोड पाँच लाख रुपैयाँमध्ये पुलका लागि ४९ करोड ६० लाख रुपैयाँ हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो ।

रानाभाटका अनुसार सबै पुल २५ मिटरभन्दा लामो छन् । यो खण्डमा २५ देखि ७५ मिटरसम्म लामो पुलहरु बन्नेछन् । पुलको चौडाइ सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटरसम्म हुनेछन् । त्यस बाहेक दुवैपट्टी डेढ मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । हाल ती पुलहरू छ मिटर हाराहारी फराकिला छन । पुल सानो हुँदा दुर्घटना नहोस् भनेर पुलको दुवैं तर्फ ‘रम्बल स्ट्रीप’ राखिएको छ । विस्तार गरिएको सडक भने नौदेखि ११ मिटर फराकिलो छ ।

प्याकेज १ अन्तर्गत मुग्लिनबाट यता बन्ने केही पुलहरु कठिन भूगोल भएका कारण बनाउन समय लाग्ने देखिएको छ । कतिपय ठाँउमा डाइभर्सन दिने ठाँउसमेत छैन । मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो खहरे पुल, दुई नम्बर किसिन्जी पुल, तीन नम्बरको तुइनखोला पुल सबैभन्दा कठिन ठाँउमा छन् । यी पुल विश्व बैंकबाट पछि ऋण प्रवाह हुने गरी नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण थालिएको हो । विश्व बैंककै ऋणमा तीनवटा प्याकेज बनाएर नारायणगढ मुग्लिन सडकखण्ड विस्तार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment