Comments Add Comment

पार्श्व ध्वनि : हरिबिजोग नेपाली सिनेमा

सिनेमाबाट सर्लक्कै ‘पार्श्व ध्वनि’ हटाइदिए के होला ?

यो प्रश्नको जवाफ तपाईं स्वयंले खोज्न सक्नुहुन्छ । कुनै पनि सिनेमाको ‘साउन्ड म्युट’ गरेर हेर्नुहोस् । चलयमान दृश्यहरुबाट कथानक संवेग हराउन सक्छ । अर्थात ती दृश्यहरु निर्जीव बन्न पुग्छन् ।

यसले के पुष्टि गर्छ भने सिनेमाको दृश्य भाषालाई अझ प्रभावकारी ढंगमा व्यक्त गर्नका लागि जरुरी छ, पार्श्व ध्वनि । सिनेमाका लागि यो यति अनिवार्य तत्व हो, जसको अभावमा दृश्यहरु अर्थहीन र फिक्का बन्न पुग्छन् । फ्रेमभित्र देखिने दृश्यले मात्र सबै कुरा भन्दैन । त्यो दृश्यको भाव, स्थिति, परिवेशदेखि पात्रको मनोदशा अभिव्यक्त गर्नका लागि समेत पार्श्व ध्वनिको प्रयोग हुन्छ ।

मानौं एउटा यस्तो दृश्य छ–

सानो कोठा । एक महिला हतारिएर कोठामा प्रवेश गर्छिन् । ढोका बन्द गर्छिन् । घोप्टो परेर रुन थाल्छिन् । फ्रेमभित्र केवल यति मात्र देखिन्छ । त्यहाँ के भइरहेको छ ? उनी किन रोइन् ? हामीलाई केही थाहापत्तो हुँदैन ।

अब यो दृश्यमा पार्श्व ध्वनि पनि राखौं–

जसै ती महिला ढोकाभित्र पसेर रुन थाल्छिन्, बाहिर कोही हिँडेको पदचाप सुनिन्छ । ढोका ढक्ढक गरेको आवाज आउँछ । त्यसपछि ती महिलालाई फकाएको भावमा केही संवाद सुनिन्छ ।

यसबाट हामीले सहजै भेउ पाउन सक्छौं कि, ती महिला र श्रीमानबीच मनमुटाव भएको छ । पार्श्व ध्वनिमार्फत यो कुरा व्यक्त हुन्छ ।

दृश्यमा एकाएक सन्नाटा छाउँछ । गाडी गुडिरहेको छ, मान्छे हिँडिरहेका छन् । जब कि कुनै आवाज छैन । यसरी दृश्यलाई साइलेन्स गराइदिएपछि दर्शकमा त्रास र कौतुहल पैदा हुन्छ, अब के होला… ? अचानक ठूलो आवाजसहित कुनै विष्फोट हुन्छ । यसले दर्शकका मनमा अर्को कम्पन पैदा गर्छ

यही दृश्यको पार्श्व ध्वनिमा भयंकर आवाजसहित केही पड्किएको राखौं । बाहिर हो–हल्ला गरेको, रोएको, साइरन बजेको ध्वनि राखौं । अब यो दृश्यबाट के बुझ्न सकिन्छ ? बाहिर कुनै डरलाग्दो दुर्घटना भएपछि ती महिला कोठाभित्र पसिन् र डराएर रुन थालिन् ।

दृश्य उही, तर कथा फरक । यसरी कथालाई फरक बनाउने काम गरेको छ, पार्श्व ध्वनिले ।

यो कुरालाई मैले किन यति मिहीन गरेर बताउन खोजें भने हाम्रा धेरै फिल्म मेकरसँग ‘पार्श्व ध्वनि’को न्यूनतम ज्ञान छैन । नेपाली सिनेमाले कुनै पनि कथालाई किन प्रभावकारी ढंगले प्रक्षेपण गर्न सकिरहेको छैन ? किनभने निर्देशकसँग पार्श्व ध्वनिमार्फत अभिव्यक्त गर्ने खास कला वा सीप छैन । पार्श्व ध्वनिको हिसाबले हाम्रो चलचित्रको हरिबिजोग छ ।

संवाद र दृश्यहरुमा पार्श्व ध्वनि समायोजन गर्ने ज्ञान नभएकै कारण नेपाली सिनेमाहरु ‘रेडियो नाटक’ जस्तै लागेको हो ।

धेरै फिल्ममेकर के ठान्छन् भने पार्श्व ध्वनि भनेको पृष्ठभूमिमा एकनास बज्ने धुन हो । त्यही कारण उनीहरु सिनेमा बनाउँछन् र साउन्ड डिजाइनरलाई आफूखुसी ‘ब्याकग्राउन्ड स्कोर’ राख्न लगाउँछन् । त्यसमा न उनले कुनै नियन्त्रण गर्छन्, न क्रिएसन ।

यसको अर्थ यो पनि होइन कि, सिनेमाको दृश्यहरुमा ध्वनि एवं धुन हुनैपर्छ । कतिपय दृश्यबाट पूर्णतः ध्वनि हटाउन सकिन्छ । दृश्यहरु गतिशील छन् । तर, सन्नाटा । चुपचाप । एकदमै शून्य ।

र, यसरी ध्वनि नराख्नुको कारण पनि पार्श्व ध्वनिलाई अरु बलशाली बनाउनु नै हो । पार्श्व ध्वनिका केही यस्ता व्याकरण छन् ।

चकमन्न–सन्नाटा

साविकरुपमा दृश्यहरु चलयमान छन् । तर, त्यहाँ कुनै ध्वनि छैन । चकमन्न । सन्नाटा । सिनेमाका दृश्यमा यसले कुनै संकटको पूर्वाभाष गर्छ । मानौं कुनै व्यस्त शहर । गाडी, रिक्सा चल्दैछ । मान्छेहरु आउजाउ गर्दैछन् । हतारो छ । कोलाहल छ । अब यो दृश्यमा एकाएक सन्नाटा छाउँछ । गाडी कुदिरहेको छ, मान्छे हिँडिरहेका छन् । जबकि कुनै आवाज छैन । यसरी यो दृश्यलाई साइलेन्स गराइदिएपछि दर्शकमा त्रास र कौतुहल पैदा हुन्छ । अब के होला ?

अचानक ठूलो आवाजसहित कुनै विष्फोट हुन्छ । यसले दर्शकको मनमा अर्को कम्पन पैदा गर्छ । यसरी कुनै पनि दृश्यलाई अझ बेजोड बनाउनका लागि पार्श्व ध्वनिमा यस्तो प्रयोग गरिन्छ ।

माहौल–परिवेश

सिनेमाको दृश्यहरु कुन परिवेशका हुन् ? पृष्ठभूमिमा के भइरहेको छ भनेर बुझाउनका लागि प्रयोग गरिने ध्वनि–सूत्र हो यो । जस्तो एउटा पात्र कोठाभित्र छ । पृष्ठभूमिमा भने चराचुरुंगी कराउँछन् । बेलाबखत कतै टाढा कुकुर भुक्छ । कतै खोला सुसाइरहेको छ । यो पार्श्व ध्वनिले के बुझाउँछ भने उक्त पात्र गाउँको कुनै घरभित्र छ । दृश्यमा गाउँ देखिँदैन । तर, दर्शकले ध्वनिको माध्यमबाट बुझ्न त्यो गाउँको घर हो ।

दृश्य त्यही । तर, पार्श्व ध्वनिमा एम्बुलेन्सको साइरन बज्छ । हो–हल्ला सुनिन्छ । रोएको जस्तो सुनिन्छ । यसले के बुझाउँछ भने उक्त व्यक्ति अस्पताल आसपासको कोठामा छ । यसरी ध्वनिमार्फत त्यहाँको परिवेश बुझाउन सकिन्छ । फेरि, रत्नपार्कको एम्बिएन्स र दरबारमार्गको एम्बिएन्स फरक हुन्छ । बैतडीको र पाँचथरको एम्बिएन्स फरक हुन्छ । दृश्यमा यी कुराहरु देखिँदैनन् । तर, उक्त दृश्य कहाँको हो भन्ने कुरा पार्श्व ध्वनिबाटै व्यक्त गर्न सकिन्छ ।

विदेशमा यसका लागि कतिसम्म मिहीन ढंगले काम हुन्छ भने, लोकेसन हन्टिङका बेला प्रोडक्सन टिमले साउन्ड डिजाइनरलाई पनि सामेल गर्छन् । जुन लोकेसनमा छायांकन हुँदैछ, त्यहाँको परिवेश कस्तो हो ? त्यहाँ आसपासमा खोला छ कि ? बाटो छ कि ? गाईवस्तु छ कि ? स्कुल छ कि ? कारखाना छ कि ? कान थापेर सुन्दा त्यहाँ के कस्ता आवाजहरु आउँछन् ? यी सबै कुरा बुझेर पछि सोहीअनुसार पार्श्व ध्वनि राख्ने काम हुन्छ ।

पात्रले सुन्ने र दर्शकले सुन्ने ध्वनि

ध्वनिका जति पनि लेयर छन् भ्वाइस, एम्बियन्स, फोली, साउन्ड इफेक्ट, ब्याकग्राउन्ड म्युजिक सबै ध्वनिलाई दुई भागमा वर्गीकरण गरिएको छ । डाइजेटिक र नन डाइडेजिटक साउन्ड । सिनेमा भित्रको पात्रले आफ्नो दुनियामा जे–जति आवाज सुन्छन्, त्यसलाई डाइजेटिक भनिन्छ । नन डाइजेटिक साउन्डचाहिँ पात्रले महसुस गर्दैन, किनभने त्यो दर्शकका लागि हो । भ्वाइस ओभर, न्यारेसन जस्ता कुरा त्यहाँभित्रका पात्रले सुनेका हुँदैनन्, दर्शकले सुन्ने हो । यसैगरी पार्श्व धुन पनि पात्रले सुन्दैन । त्यो कथाको बहकाव अनुसार दर्शकलाई एउटा मुड दिनका लागि प्रयोग गरिएको हुन्छ ।

जस्तो सिनेमामा लाइभ म्युजिक चलिरहेको छ । यो म्युजिक त्यहाँका पात्रहरुले अनुभव गर्ने कुरा हो । उनीहरुले गीत सुनिरहेका छन् । यसलाई बिस्तारै–बिस्तारै ननडाइजेटिकमा वा पार्श्व धुनमा पनि लैजान सकिन्छ ।तर, कतिपय फिल्ममेकरले नन डाइजेटिकलाई डाइजेटिक र डाइजेटिकलाई नन डाइजेटिकमा लाने कलात्मक अभ्यास गरे ।

नेपाली सिनेमाले नबुझेको सिंक साउन्ड

अहिले विश्वका सिनेमामा सिंक साउन्ड लिने ट्रेन्ड बढेको छ । छायांकनस्थलमा अर्थात अन द स्पट रेकर्ड गरिने साउन्ड हो यो । यसले पात्रको भाव र संवादबीच ठ्याक्कै तालमेल मिलाउँछ । साथै त्यहाँको परिवेशलाई पनि चित्रण गर्छ ।

हाम्रा धेरैजसो फिल्ममेकरले ध्वनिको कुरालाई नजरअन्दाज गरिरहेका छन् । सिनेमा खिचेर ल्याइसकेपछि पेन ड्राइभ वा हार्ड डिक्समा ल्याउँछन् । अनि ‘यसमा साउन्ड राखिदेउ है’ भन्छन् । कहाँ कस्तो साउन्ड राख्ने ? कसरी राख्ने ? किन राख्ने ? उनीहरुलाई थाहा हुन्न

हामीकहाँ भने सिंक साउन्ड लिने प्रवृत्ति कम छ । छायांकन गरिएका दृश्यलाई स्टुडियोमा ल्याएर संवाद डबिङ गराउने, पार्श्व ध्वनि राख्ने काम हुन्छ । तर, छायांकन गरिरहेको बेला पात्रमा जुन मुड हुन्छ, पछि डबिङको बखत उनीहरु त्यही मुडमा नआउन सक्छन् । उनीहरुले जुन भावमा संवाद बोलेका हुन्छन्, पछि दुरुस्तै बोल्न गाह्रो हुन्छ । यसैले छायांकन गरिरहेकै स्थानमा साउन्ड डिजाइनर, टेक्निसियनहरु बसेर संवादहरु रेकर्ड गरिन्छ । यो निकै प्रभावकारी र सर्वोत्तम तरिका भएर पनि हाम्रा फिल्ममेकरलाई यसबारे हेक्का छैन ।

फर्किएको फोली

साउन्ड इफेक्ट आर्टिस्ट ज्याक फोलीको नामबाट यो नाम राखिएको हो ।

मान्छे हिँडेको, पानी परेको, गाडी कुदेको, ढोका खोलेको, कपडा च्यातेको, भाँडावर्तन बजेको जस्ता ध्वनिहरु अहिले इन्टेनटबाट डाउनलोड गरेर राखिन्छ । सरसर्ती हेर्दा काम सजिलो भएको छ । जतिबेला यस्तो सुविधा थिएन, त्यसबेला फोली स्टुडियोबाट साउन्ड क्रिएट गरिन्थ्यो ।

यसका लागि विशेष किसिमको स्टुडियो नै हुन्छ, जहाँ बालुवा, माटो, सिमेन्ट, काठ, फलाम, औजारहरु सबै सामान राखिन्छ । अनि स्क्रिनको दृश्य हेर्दै सोही सामानबाट ध्वनि पैदा गरिन्छ ।  पात्र माटोमा हिँड्दैछ भने सोही पदचाप अनुसार हिँडेको जस्तो साउन्ड रेकर्ड गरिन्छ । ढोका खोलेको सुनाउनका लागि कस्तो ढोका, कसरी खोलिएको छ, सोही अनुसार ध्वनि सिर्जना गरिन्छ । विदेशतिर अहिले यही शैली बढी प्रयोगमा छ ।

किनभने, यसरी रेकर्ड गर्दा बढी प्राकृतिक र जीवन्त हुन्छ । भारतको चर्चित फोली स्टुडियो नेपालीले नै चलाएको छ । तर, हामी भने सजिलो खोज्ने चक्करमा इन्टरनेटबाटै यस्तो ध्वनि डाउनलोड गरिरहेका छौं । फोलीमा काम गर्ने एकजना अब्बल दाइ हुनुहुन्छ । जबकी उहाँलाई वैकल्पिक कामबाट गुजारा गर्नुपर्ने बाध्यता छ ।

पार्श्व ध्वनिलाई खेलाउने सीप भएका निर्देशक

खगेन्द्र लामिछाने, छिरिङ रितार सेर्पा, दीपक रौनियार जस्ता मेकरले पार्श्व ध्वनिको शक्ति बुझेका छन् । नवीन सुब्बा त सिनेमाको एउटा विश्वविद्यालय नै हो भन्छु म । उहाँसँग काम गर्नु भनेको हाम्रो लागि चुनौती र सिक्ने अवसर दुबै हो ।

‘गुडबाई काठमाडौं’को काम गरिरहँदा उहाँले भन्नुभयो, ‘यसमा तीन वटा चरित्र छन् र उनीहरुको वर्ग पनि भिन्नाभिन्नै छ । त्यो वर्ग–भिन्नतालाई पार्श्व ध्वनिको माध्यमबाट पनि कसरी अभिव्यक्त गर्न सकिएला ?’

एउटा लाहुरेको छोरो छ, १८ वर्षको । ऊ विन्दास र निस्फिक्री छ । अर्को सफ्टवेयर इन्जिनियर छ ३५ वर्षको । ऊ विदेशमा गर्लफ्रेन्डसँग झगडा परेर  नेपाल फर्किएको छ र यहाँ केही गरौं भन्छ । ऊ उच्च मध्यमवर्गीय हो । तेस्रो पात्र पाटनको मंगलबजारभित्र बस्ने र मूर्ति बनाउने काम गर्छ । रकस्टार बन्न चाहने ऊ त्यही समाजभित्र गुम्सिएर बसेको छ ।

फ्रेममा लाहुरेको छोरा देखिदा पार्श्वमा बाइक, नाइट क्लब, रक म्युजिक, भिडियो गेम आदिको ध्वनि बज्छ । अब सफ्टवेयर इन्जिनियर संभ्रान्तका परिवारका छोरा हुन् । उनीहरु फराकिलो ठाउँमा, घरमा, पूर्णत ऐश–आरामसाथ बस्छन् । उनीहरु अरुको भन्दा आफ्नै बढी पर्वाह गर्छन् र आफैंलाई सर्वोपरी ठान्छन् । यही अनुसार पार्श्व ध्वनिको व्यवस्था गरिएको छ ।

तेस्रो पात्र भिडभाड र कोलाहालबीच छ । उसको मनोदसा पनि ठीक छैन । ऊ गञ्जागोलभित्र गुम्सिएको छ । त्यसैले जब उक्त पात्र देखाइन्छ, बाहिरको कोलाहाल, गरिबी, अव्यवस्था दर्शाउने पार्श्व ध्वनिको प्रयोग गरिएको छ ।

कुनै पनि सर्जकले यति गहन र मिहीनरुपमा काम गर्नु भनेको हाम्रा लागि पनि राम्रो कुरा हो । हामीले यसबाट धेरै कुरा आर्जन गर्न सक्छौं । तर, हाम्रा धेरैजसो फिल्ममेकरले ध्वनिको कुरालाई नजरअन्दाज गरिरहेका छन् । सिनेमा खिचेर ल्याइसकेपछि पेन ड्राइभ वा हार्ड डिक्समा ल्याउँछन् । अनि ‘यसमा साउन्ड राखिदेउ है’ भन्छन् । कहाँ कस्तो साउन्ड राख्ने ? कसरी राख्ने ? किन राख्ने ? उनीहरुलाई थाहा हुन्न । साउन्ड रेकर्डिस्टले जसरी राखे पनि ‘ओके’ भन्छन् । त्यही कारण ध्वनिको हिसाबले हाम्रो सिनेमा हरिबिजोग छ ।

साउन्ड इफेक्ट डिजाइनर आचार्यसँग शिव मुखियाले गरेको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment