Comments Add Comment

युरिया मलको ठेक्का : कृषिमन्त्री र सचिवका कारण थपियो २९ करोड भार

४ फागुन, काठमाडौं । राज्यकोषलाई २९ करोड रुपैयाँ भन्दाबढी आर्थिक भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले युरिया मल खरिदको ठेक्का लगाएको छ ।

कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिक टन मल ल्याउन प्रति मेट्रिक टन ४७३.७० डलर अर्थात एक अर्ब ३६ करोड २४ लाख ३९ हजार रुपैयाँमा नेपाली कम्पनी जोशी बीजलाई ठेक्का दिएको हो ।

जोशी बीज त्यही कम्पनी हो जसले करिब डेढ महिनाअघि ३० मेट्रिक टन मल ल्याउन एक अर्ब ७ करोड ४२ लाख हाराहारी प्रस्ताव गरेको थियो । तर लागतभन्दा बढी रकमको प्रस्ताव परेको भन्दै ठेक्का नै रद्द गरिएको थियो । कृषिमन्त्री पद्माकुमारी अर्याल र सचिव डा. योगेन्द्रकुमार कार्कीको दबावमा ठेक्का रद्द गरी त्यही कम्पनीलाई २९ करोड रुपैयाँ थप रकममा ठेक्का लगाएको स्रोतले बताएको छ ।

दोस्रो पटक बोलपत्र आह्वान गर्दा आवेदन नै परेन । तेस्रो पटक बल्ल जोशी बीजले ठेक्का पायो, तर एक मेट्रिक टनमा झण्डै १० हजार रुपैयाँ (८२.७ अमेरिकी डलर) महँगोमा । ‘एक अर्ब ७ करोड ४२ लाख रुपैयाँ बराबरको ३० हजार मेट्रिक टन युरिया मल किन्न कृषि सामग्री कम्पनीले अघि बढाएको ठेक्कामा हस्तक्षेप गरेर प्रति मेट्रिक टनमा ८२.७ डलर लागत बढ्ने स्थिति सिर्जना गरियो’, मन्त्रालय स्रोत भन्छ, ‘यसले करिब २९ करोड रुपैयाँ अतिरिक्त भार थपिने भएको छ ।’

माघ २२ मा आह्वान गरिएको बोलपत्र ३० गते खोलिएको थियो भने आइतबार ठेक्का लागेको कृषि सामग्री कम्पनीका सूचना अधिकारी विष्णु पोखरेलले पुष्टि गरे । उनका अनुसार प्रति मेट्रिकटन ४७३.७० डलरमा ३० हजार मेट्रिकटन युरिया खरिद गर्न जोशी बीजले ठेक्का पाएको छ ।

दुई महिनामा ३ ठेक्का

वर्षे धानमा हाल्न एक अर्ब ३६ करोड २४ लाख रुपैयाँ (एक करोड १७ लाख ३० हजार अमेरिकी डलर) बराबरको युरिया मल किन्न कृषि सामग्री कम्पनीले ८ मंसिरमा पहिलो अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।

२३ पुसमा आवेदन खोल्दा प्रति मेट्रिकटनमा ३९१ डलरमा मल ल्याउन जोशी बीजले प्रस्ताव गरेको पाइयो । तर कम्पनीको लागत र ठेकदारको प्रस्तावमा करिब ४ डलर फरक रहेको भन्दै मन्त्रालयले ठेक्का रद्ध गराएको थियो ।

कम्पनीले २७ पुसमा दोस्रो ठेक्का निकाल्यो । तर एउटा पनि ठेक्का प्रस्ताव आएन । मल ल्याउन नसकेपछि प्रति मेट्रिकटन लागत ४८७ डलर कायम गरेर २२ माघमा तेस्रो पटक बोलपत्र आह्वान गरिएको थियो ।

उही कम्पनीलाई तेस्रो ठेक्का

जोशी बीजले प्रति मेट्रिकटन ४७३.७० डलरमा युरिया ल्याउन ठेक्का पाएको छ । कृषि मन्त्रालयले रद्ध गराएको पहिलो ठेक्कामा पनि यही कम्पनी छानिएको थियो । पहिलो ठेक्कामा जोशी बीजले हालको भन्दा प्रति मेट्रिक टन ८२.७ कम अर्थात् ३९१ डलरमा मल ल्याउन ठेक्का कबोल गरेको थियो ।

तर कृषि सचिव कार्कीले कृषि सामग्री कम्पनीका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर ठेक्का कुनै पनि हालतमा रद्द गर्न दबाब दिएको स्रोत बताउँछ । ठेक्का रद्धको निर्देशन लिखितमा माग गर्दा सचिवले नमानेको बताउँदै स्रोत भन्छन्, ‘सस्तोमा परेको ठेक्का रद्ध गराएर उही कम्पनीलाई महँगोमा ठेक्का दिने प्रपञ्च रचियो ।’

सचिव कार्कीले ठेकदारको योग्यता संशोधन गर्न पटक–पटक दबाब दिएको कृषि कम्पनीका अधिकारीहरु बताउँछन् । नेपाली कम्पनीले मल ल्याउन नसकेपछि तत्कालिन कृषिमन्त्री घनश्याम भुसालले सच्याएको ठेकदारको योग्यता संशोधन गरेर मुक्तिनाथ कृषि कम्पनीलाई मिल्ने बनाउन सचिवले दबाब दिएको उनीहरुको भनाइ छ । तर अन्तर्राष्ट्रिय मूल्यमा भारी वृद्धि भएपछि ठेक्का लगाउँदा भने उनी चुप बसेका छन् ।

नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री पदमा कुमारी अर्यालले मन्त्रालय सम्हालेपछि यसअघिका मन्त्रीले कारबाही गरेका शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीका प्रतिनिधिहरुले मन्त्रालयमा अड्डा जमाएको स्रोत बताउँछ । ‘पहिलेको कारबाही फिर्ता गर्न र नयाँ मल ल्याउने ठेक्कामा सहभागी गराउन उनीहरुले मन्त्रीमार्फत सचिव र कृषि सामग्री कम्पनीलाई दबाब दिइरहेको स्रोतको दाबी छ ।

तर, कृषि मन्त्रालयका सचिव कार्कीले ठेक्काका लागि आफूले कसैलाई दबाव नदिएको बताउँदै ठेक्का लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताए । सचिव कार्कीले अनलाइनखबरसँग भने, ‘ठेक्का लागेको विषयमा मलाई कुनै जानकारी नै छैन, मेरो नाम मुछेर लाञ्छित गर्ने काम भयो, यसमा मलाई दुःख लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment