Comments Add Comment

लक्ष्मण मल्लले जिते लिगलिगे साइकल दौडको उपाधि

७ माघ, गोरखा । प्रजातन्त्र दिवसको अवसरमा भएको लिगलिगे साइकल दौडको उपाधि लक्ष्मण मल्लले हात पारेका छन् । एपीएफका मल्लले ५२.९ किलोमिटरको दुरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् ।

नेपाली सेनाका हिमाल टमाटा उपबिजेता बनेका छन् । उनले निर्धारित दुरी २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा पार गरेका छन् । निर्धारित दुरी २ घण्टा ३६ मिनेट ५६ सेकेण्डमा पार गर्दै ओकेशराज बज्राचार्य तेस्रो भएका छन् ।

एपीएफकी सोनी गुरुले जितिन् महिलातर्फको उपाधि 

महिलातर्फको उपाधि एपीएफकी सोनी गुरुङले हात पारिन् । उनले २ घण्टा ५६ मिनेट ७ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन् । प्रतियोगितामा लक्ष्मी मगर दोस्रो र उषा खनाल तेस्रो भएका छन् । उनीहरुले निर्धारित दुरी क्रमश ३ घण्टा २ मिनेट ९ सेकेण्ड र ३ घण्टा ९ मिनेट ३० सेकेण्डमा पार गरेका थिए ।

प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टसले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ ६२ र महिलातर्फ १६ जना सहभागी थिए ।

लिगलिगकोटबाट सुरु भएको साइकल दौड हर्मी भञ्ज्याङ–मुकुन डाँडा–आँपपिपल अस्पताल–बनटार–भण्डारथोक–चेपेपुल–चेपेघाट दोभान–हवाइग्राउन्ड–तालपोखरी–नगरपालिकाको कार्यालय–बाह्रपिर्के–लुइँटेल–वटडाडाँ–बिजुली डाँडा हुँदै पुन लिगलिगकोटमा आएर टुंगिएको स्पेर्टसका अध्यक्ष संजिव रानाले बताए । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गराउने उदेश्यले दौड प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।

प्रतियोगिताका लागि पालुङटार नगरपालिकाले ५ लाख, नेपाल पर्यटन बोर्डले १० लाख सहयोग गरेको छ । सिरानचोक गाउँपालिकाबाट एक लाख र लम्जुङ्गको राइनास नगरपालिकाबाट ५० हजार सहयोग गर्ने प्रतिवद्धता भएको रानाले बताए ।

प्रत्येक वर्ष प्रजातन्त्र दिवसको दिन साइलक दौड प्रतियोगीता गर्ने नगरपालिकाले जनाएको छ । सिरानचोक कोट तत्कालीन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने लमजुङको राइनास कोटबाट द्रव्य शाह लिगलिग कोट आएर त्यो क्षेत्र जितेर त्यहीँ राज्य गर्न थालेको भन्ने इतिहास पाइन्छ । सोही क्षेत्रलाई समेटेर साइकल दौडसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेत कायम राखेर नेपाल साइक्लिङ संघको नियम अनुसार प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment