Comments Add Comment
कर्णाली उत्सव :

बुलबुले तालको किनारबाट कर्णाली कोट्याउने प्रयास

२० फागुन, सुर्खेत । ‘कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन्, बैरागीका बाजमन् डुली अगाउँदैन्’ जुम्लास्थित सिँजामा पर्छ बैरागी डाँडा । त्यही डाँडामा बसेर जुम्लीले यही गीत गाउँछन् । र, पोख्छन्, कर्णालीको बैराग अर्थात विरह ।

कर्णाली नेपालभित्र बग्ने सबैभन्दा लामो नदी । कर्णाली घुमाउरो छ, घुमेर बगेको छ । कर्णाली नदी झै केन्द्रबाट कर्णालीमा आउने हरेक चिज घुमेरै आउँछ । कर्णालीवासीको तर्क छ, ‘विकास, योजना, प्रशासनदेखि पुस्तक पनि कर्णालीसम्म आइपुग्न धेरै घुम्नुपर्छ । ढिलो आइपुग्छ ।’

फागुन तेस्रो सातादेखि सुरु हुने कर्णाली उत्सवको दोस्रो संस्करणमा ‘ कर्णाली घुमाउटो पड्यो’ भन्ने एउटा सत्र पनि समेटिनेछ । सत्रमा घुमाउटोे कर्णालीबारे विशेष चर्चा गरिने छ । सुर्खेतको बुलबुले किनारमा हुँने उत्सवमा समग्र कर्णाली को भाषा, साहित्य, कला, संस्कृति र सभ्यतामाथि साङ्गोपाङ्गो बहस गरिनेछ ।

कर्णालीका विविध क्षेत्रको बहस र सवाल उठानका लागि तीन दिनसम्म सञ्चालन हुने ‘ कर्णाली उत्सव’मा केन्द्रित’कुडा कर्णालीका’ को मूल आयोजक ऋति फाउन्डेशन हुनेछ ।

उत्सवमा सामाज, अर्थ र नेतृत्व तीनवटा मूल शीर्षक समेटिनेछन् । पहिलो दिन ‘हाम्मो मान्नवी’, दोस्रो दिन ‘सुर्के थैली’ र तेस्रो दिन ‘कैथा नेता, कैथो नेतृत्व’ । यी तीनै मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस थालिनेछ ।

उत्सवका संयोजक कमल लम्सालका अनुसार उत्सवमा यहाँको आर्थिक अवसरहरुको खोजी गर्नु, कर्णालीको जनजीवन, इलम र सीपको चर्चा गर्नु, कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नु नै उत्सवको उद्देश्य हरेको छ ।

कर्णाली उत्सवले कला, साहित्यको प्रवर्धन गर्ने मात्र नभइ विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई उचाइ दिने आयोजक फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले बताए । ‘साहित्य र संवादलाई एकैसाथ प्रवर्धन गरिरहेको उत्सवले कर्णालीमा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिनेछ’, उनले भने ।

गौतमका अनुसार कर्णालीको स्वास्थ्य, शिक्षा, राजनीति, कला संस्कृति, खस आर्य, प्रशासन, भाषा, रहनसहनलगायतका विषयमा वक्ता र दर्शक स्रोताबीच विचारविमर्श चल्नेछ । ‘ कर्णाली बुझ्ने र बुझ्न चाहनेका लागि उत्सव सन्दर्भ सामग्री जस्तै हो, जसले बौद्धिक मन्थन र वाक स्वतन्त्रतालाई प्रवर्धन गर्नेछ,’ उनले भने ।

उत्सवको पहिलो दिन ‘आम्नै कथा, आम्नै बान्की’ अर्थात कर्णाली कसरी अभिव्यक्त हुन्छ ? कर्णालीले आफ्ना कुरा अरुलाई कसरी सुनाउँछ ? भन्नेबारे बहस हुने छ । त्यस्तै अर्को सत्र छ, ‘बाडो, थाडो र ओटालो’ कर्णाली हिमाली जिल्लामा एउटाको घर अर्कोको छानो हुन्छ । बस्ती मिलेर बसेका छन् । तर, ती बस्तीमा बस्नेहरुको मन मिले कि मिलेनन् ? यही विषयमा चर्चा गरिने छ ।

त्यस्तै ‘छाउ र भाउ’, ‘हाट जान्या, भोट जान्या’, ‘कहरी शुकाला होला, कैले जाला कैठ ?’ र अच्युत घिमिरे बुलबुलको साथमा गजल सन्ध्या सञ्चालन हुनेछ । दोस्रो दिनको सत्र अझै टुङ्गो लागेको छैन् ।

त्यसैगरी उत्सवको तेस्रो दिन ‘मुख्य मान्ठा, मुल कुडा’, ‘लोकतन्त्रको लय’, ‘पश्चिममा प्रशासक, पश्चिमका प्रशासक’, र ‘सरकारी, गैह्र-सरकारी’ जस्ता शीर्षकमा बृहत्तर बहस हुने आयोजक फाउन्डेसनले जनाएको छ ।

आयोजक संस्थाका अनुसार कार्यक्रमका लागि विभिन्न सङ्घसंस्था, विभिन्न तहका सरकारसँग समन्वय भइरहेको छ । उत्सवमा देशविदेशमा रहेका कर्णाली प्रेमी चर्चित साहित्यकार, राजनीतिज्ञ, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवी एवं विशिष्ट व्यक्तिलाई वक्ताका रूपमा आमन्त्रित गरिनेछ ।

कर्णालीको मौलिक इतिहासलाई उत्सवले कोट्याउने र कर्णालीकोे यथार्थ चित्र प्रस्तुत गर्ने आयोजक माधव चौलागाईंले जिकिर गरे । उनका अनुसार यसले कर्णाली सरकारको नीति निर्माणमा सहयोग पुग्नुका साथै पर्यटन प्रवर्धन र समृद्धिमा समेत टेवा पुग्नेछ ।

‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा दुई मुख्यमन्त्री

उत्सवको तेस्रो दिन एउटा सत्र रहने छ, ‘मुख्य माण्ठ, मूल कुडा’ जस्मा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छलफल गर्नेछन् ।

पत्रकार दिलभुषण पाठकले सञ्चालन गर्ने उक्त सत्रमा अभाव र गरीबीले थिचिएका दुई प्रदेशका मुख्यमन्त्रीले एउटै मञ्चबाट आफ्ना भोगाई र अनुभव साटासाट गर्ने भएका छन् ।

मुख्यमन्त्री राउत र शाहीबीच प्रदेश सरकार गठन, सञ्चालन, व्यवस्थापन, औचित्य र चुनौतीका विषयमा घनीभूत छलफल हुनेछ । संघीय सरकारसँग अधिकार बाँडफाटका विषयमा चर्को असन्तुष्टि राखेका दुवै प्रदेशका मुख्यमन्त्रीले आफूले गरेका काम र देखेका चुनौती पनि प्रस्तुत गर्नेछन् ।

विकासका दृष्टिले पछाडि परेका दुवै प्रदेश संघीय सरकारबाट सधै उपेक्षामा परेको गुनासो गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment