Comments Add Comment

छोराछोरीले पढ्न नपाएपछि गाउँलेले मागे विद्यालय

२५ फागुन, डोटी । सायल गाउँपालिका वडा नं. ६ को कार्यालय प्राङ्गणमा बाक्लो उपस्थिति छ । गाउँपालिकाका जनप्रतिनिधि र सेवाग्राही आमने सामने छन् ।  सेवाग्राहीले जनप्रतिनिधिसँग खानेपानी, सिञ्चाइ, सडक, मन्दिर आदि निर्माणका लागि बजेट माग गरेका छन् ।

सेवाग्राहीको भीडमा सिर्जना पार्कीको अनुहार भने मलिन छ । उनलाई कुलो, पाइप, पोखरी, मन्दिरको भन्दा आफ्नै चिन्ताले सताइरहेको छ । आफ्नो ६ बर्षका छोरा र गाउँका अरु बालबालिकाहरु विद्यालय जान नसकेको पीडा उनले जनप्रतिनिधिसमक्ष राखिन् ।

‘हाम्रो टोलमा ६/७ वर्षसम्मका बालबालिका पनि विद्यालय गइरहेका छैनन् । बिद्यालय खोल्न सकिन्छ कि !’ उनले थपिन् ‘विद्यालय टाढा छ, बाटो पनि अप्ठेरो छ । त्यसैले मेरो ६ बर्षको छोरा सुमित अहिलेसम्म पनि विद्यालय जान सकेको छैन ।’ उनले आफूले पढ्न नपाए पनि छोराछोरीलाई त पढाउन पाए हुन्थ्यो भन्ने सोचाइ रहेको जनप्रतिनिधिलाई सुनाइन् ।

सिर्जनाको कुरामा काली पार्कीले पनि सही थापिन् । ‘अन्त त बालविकास केन्द्र पनि खुलेका छन्, हाम्रो गाउँमा अहिलेसम्म त्यो पनि छैन’ उनले भनिन् । गाउँबाट विद्यालय पुग्न एक घण्टा लाग्ने उनले बताइन् ।

सायल गाउँपालिका–६, रोकाया नारामा विद्यालय जाने उमेर भएका ३०/३२ बालबालिका विद्यालय टाढा भएकै कारण घरमै बसेका छन् । गाउँपालिकाका प्रवक्ता गोरखबहादुर सार्कीले यो विषयमा आफूलाई अहिलेसम्म जानकारी नै नभएको बताए ।

‘हामीले गाउँपालिकाबाट बर्षेनी झण्डै डेढ करोड शिक्षाको क्षेत्रमा छुट्याइरहेका छौं, तर यस्तो समस्या आएको भए दुई/चार लाख थप गर्न के गाह्रो थियो र ?’ उनले भने ।

अब उक्त गाउँमा बालविकास केन्द्र स्थापनाका लागि गाउँ कार्यपालिकाको बैठकमा कुरा राख्ने गोरखबहादुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment