
राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्च पुग्दा केही स्कुले विद्यार्थीहरु कोही चउरमा, कोही थिएटर प्रवेश गर्ने खुड्किलामा, कोही नजिकैको खेतमा त कोही थिएटर भित्र आ्आफ्नो समूहमा थिए ।
उनीहरुमध्ये केहीले अभिनय गरिरहेका रहेका थिए भने समूहका एकले मोबाइल क्यामेराले साथीको अभिनयको दृश्यलाई खिचिरहेका थिए । अर्को साथी भने भने हातमा उनलाई कापीमा कोरेका चित्रहरु (स्टोरी बोर्ड) देखाइरहेका थिए । त्यस्तै अर्को एक विद्यार्थी भने एक्सन–कट भनिरहेका थिए । वास्तवमा उनीहरु त्यहाँ फिल्म बनाउने अभ्यास गरिरहेका थिए ।
उनीहरु थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा लियो क्लव अफ काठमाडौं विशालबजारले आयोजना गरेको ‘फिल्म मेकिङ वर्कसप’मा जुटेका हुन् । बालबालिकाका लागि आयोजना गरिएका सो कार्यशालामा ग्रिन पिस एकेडेमीका विद्यार्थीहरु सहभागी थिए ।
दुई दिने कार्यशालामा फिल्मका अत्यन्त आधारभूत कुराहरु सिक्दै, बुझ्दै उनीहरु त्यसलाई अभ्यास गर्दा रमाइरहेका देखिन्थे । पहिलो प्रशिक्षकहरुले निश्चित गरिदिएका निकै थोरै सटमा ३० देखि ४५ सेकेण्डमा कथात्मक भिडियो बनाएका उनीहरुले दोस्रो दिन भने त्यसमा आएको प्रतिक्रियालाई लिएर परिमार्जन गर्ने प्रयत्नमा थिए ।
दोस्रो दिन उनीहरुले अघिल्लो दिनकोभन्दा दोब्बर सटमा कथा भन्न पाउने थिए । अनि प्रशिक्षकहरुले उनीहरुलाई कथात्मक तवरमा २ मिनेटसम्मको छोटा फिल्म बनाउन भनेका थिए, त्यो पनि तीन घण्टाभित्रमा । सोही अनुरुप उनीहरुको दौडधुप राम्रै देखिन्थ्यो ।
पहिला उनीहरुले कथा बुने अनि त्यस कथालाई दृश्यमा भन्नका लागि के के खिच्ने, कुन कुन सटमा खिच्ने भनेर तय गरे । त्यसलाई स्टोरीबोर्ड बनाएर स्केचमा पनि उतारे । त्यसपछि सुटिङ गर्ने ठाउँ निश्चित गरेर सुटिङमा एक्सन–कट गरे । त्यसरी खिचिएको फुटेजलाई समूहले नै सम्पादन गरे, केही समूहले त ब्याकग्राउण्ड म्यूजिक समेत राख्न भ्याए ।
प्रतिक्रिया 4